सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा शरण नलिई थप तीन इरानी महिला फुटबलरहरू स्वदेश फर्कने

आइतबार, ०१ चैत २०८२, ०९ : १४
आइतबार, ०१ चैत २०८२

सारांश

  • अस्ट्रेलियामा शरण खोजेका इरानी महिला फुटबल टोलीका तीन सदस्य स्वदेश फर्कने निर्णयमा पुगेका छन्।
  • खेलाडीहरूले इरानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएपछि उनीहरूलाई स्वदेशमा गद्दारको संज्ञा दिइएको थियो।
  • अस्ट्रेलिया सरकारले सुरक्षाको ग्यारेन्टी दिए पनि खेलाडीहरूले पारिवारिक कारण देखाउँदै इरान फर्कने निर्णय गरे।

सिड्नी । अस्ट्रेलियामा मानवीय भिसा पाएका इरानी महिला फुटबल टोलीका थप तीन सदस्यले आफ्नो निर्णय परिवर्तन गर्दै स्वदेश फर्कने निर्णय गरेका छन्। अस्ट्रेलिया सरकारले सुरक्षाको पूर्ण ग्यारेन्टीसहित बस्ने अनुमति दिए पनि उनीहरूले अन्तिम समयमा इरान नै फर्कने बाटो रोजेका हुन्।

इरानी समुदायका मानवअधिकारवादीहरूका अनुसार स्वदेश फर्कने निर्णय गर्नेहरूमा खेलाडीहरू मोहरा हमुदी, जाहरा सरबाली र टोलीकी प्राविधिक सदस्य जाहरा सोल्तान मेस्केकार रहेका छन्। यसअघि अस्ट्रेलियामा शरण खोज्ने सात सदस्यमध्ये अब तीन जना मात्र त्यहाँ बसेका छन् भने बाँकी चार जनाले आफ्नो आवेदन फिर्ता लिइसकेका छन्।

यो विवादको सुरुवात गत मार्च २ मा दक्षिण कोरियाविरुद्धको एसिया कप खेलबाट भएको थियो। उक्त खेलको सुरुमा इरानी खेलाडीहरूले राष्ट्रगान गाउन अस्वीकार गर्दै मौन बसेका थिए। इरानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बुझिएको उक्त कदमपछि उनीहरूलाई स्वदेशमा युद्धकालीन गद्दारको संज्ञा दिइएको थियो। यही कारण खेलाडीहरूको सुरक्षालाई लिएर अस्ट्रेलियामा चिन्ता बढेको थियो।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्केले एक विज्ञप्ति जारी गर्दै आफ्नो सरकारले ती महिलाहरूलाई सुरक्षित भविष्यका लागि हरसम्भव प्रयास गरेको बताएका छन्। उनले अस्ट्रेलियाले विकल्प र सहयोग प्रदान गरे पनि खेलाडीहरूले पारिवारिक र अन्य कठिन परिस्थितिबिच यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।

यता इरानको खेलकुद मन्त्रालय र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग आबद्ध तस्निम न्युज एजेन्सीले भने यसलाई शत्रुको योजनामाथि इरानी देशभक्तिको जित भनेर टिप्पणी गरेका छन्। इरानले अस्ट्रेलिया सरकारलाई अमेरिकी राजनीतिक एजेन्डामा चलेको आरोपसमेत लगाएको छ। तस्निम न्युजका अनुसार ती तीनै जना अहिले मलेसियाको क्वालालम्पुर पुगेर बाँकी टोलीसँग जोडिएका छन् र त्यहाँबाट इरान फर्कने तयारीमा छन्।

सुरुमा पाँच खेलाडीले गोल्ड कोस्टस्थित होटलबाट भागेर अस्ट्रेलियाली प्रहरीको शरण लिएका थिए। त्यसको भोलिपल्ट मेस्केकार र मोहद्देसे जोल्फीले पनि शरण मागेका थिए। तर, जोल्फीले केही घण्टामै आफ्नो निर्णय बदलेर टोलीमा फर्किएकी थिइन्। राष्ट्रगान नगाएपछि सिर्जना भएको दबाबका कारण बाँकी खेलहरूमा भने इरानी टोलीले राष्ट्रगान गाएको थियो, जसलाई सरकारी अधिकारीहरूको दबाबका रूपमा हेरिएको छ।

अस्ट्रेलियामा रहेका मानवअधिकारवादीहरूले स्वदेश फर्किएका खेलाडी र उनीहरूका परिवारमाथि इरानमा कस्तो व्यवहार गरिन्छ भन्नेबारे चिन्ता व्यक्त गरेका छन्। एसिया कपबाट बाहिरिएपछि इरानी टोलीका अन्य सदस्यहरू यसअघि नै स्वदेश फर्किसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप