बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

खाडी क्षेत्रमा तनाव चरममा, ट्रम्पद्वारा सहयोगी राष्ट्रहरूको आलोचना

मङ्गलबार, ०३ चैत २०८२, ०९ : ४३
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • अमेरिका र इजरायलको इरानविरुद्धको युद्ध तेस्रो सातामा प्रवेश गरेको छ, जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा संकट निम्त्याएको छ।
  • इरानले खाडीका तेल खानी र सुविधाहरूलाई निशाना बनाइरहेको छ, भने अमेरिकाले सहयोगको लागि आग्रह गर्दा जर्मनी, स्पेन र इटालीले अस्वीकार गरे।
  • युद्धका कारण पश्चिम एसियामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ, जसमा इरानका २०० बालबालिका पनि छन्, र बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ।

वासिङ्टन डिसी । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध तेस्रो सातामा प्रवेश गर्दा पनि रोकिने सङ्केत देखिएको छैन। विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज इरानले ड्रोन र नौसैनिक माइन प्रयोग गरेर ठप्प पारेपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट पैदा भएको छ।

विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसार्ने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको छ भने मुद्रास्फीतिको डरले विश्व अर्थतन्त्रलाई पिरोल्न थालेको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना केही पश्चिमा सहयोगी राष्ट्रहरूले देखाएको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन्। इरानले खाडीका तेल खानी र सुविधाहरूलाई निसाना बनाइरहेका बेला तेल ट्याङ्करहरूको सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पले गरेको आग्रहलाई जर्मनी, स्पेन र इटाली जस्ता देशले अस्वीकार गरिदिएका छन्।

ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै वर्षौंदेखि अमेरिकाले सुरक्षा दिँदै आएका देशहरूले नै संकटको बेला साथ नदिएको भन्दै आक्रोश पोखे। उनले कतिपय देशहरू उत्साहित देखिए पनि लामो समयदेखिका साथीहरूले देखाएको बेवास्ताले आफूलाई दुखी बनाएको टिप्पणी गरे।

जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार संयुक्त राष्ट्र संघ, युरोपेली संघ वा नाटोको स्पष्ट आदेश बिना कुनै पनि सैन्य सहयोग पठाउन जर्मन कानुनले अनुमति दिँदैन। मर्जले बर्लिनमा बोल्दै वासिङ्टन र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुअघि जर्मनीसँग कुनै सल्लाह नगरेको गुनासो समेत गरे। यसले पश्चिमा शक्ति राष्ट्रहरूबिचको आन्तरिक मतभेदलाई सतहमा ल्याइदिएको छ।

युद्धको मैदानमा दुवै पक्षबाट आक्रमणको सिलसिला जारी छ। इजरायली सेनाले तेहरानस्थित इरानी शासनका पूर्वाधार र बेरुतका हिजबुल्लाह ठेगानाहरूमा बमबारी गरिरहेको छ। इजरायलले यो युद्ध अझै कम्तीमा तीन सातासम्म तन्किन सक्ने योजना सार्वजनिक गरेको छ।

अर्कोतर्फ, इरानले पनि आफ्नो प्रतिरोधी क्षमता प्रदर्शन गर्दै इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) माथि मिसाइल र ड्रोन प्रहार गरिरहेको छ। यूएईको फुजैराहस्थित तेल निर्यात बन्दरगाह र अबु धाबीको शाह ग्यास क्षेत्रमा भएका ड्रोन आक्रमणका कारण त्यहाँको कामकाज प्रभावित भएको छ।

इरानले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकाले इरानको तेल निर्यात केन्द्र खार्ग टापुमा आक्रमण गर्न जुन देशको भूमि प्रयोग गर्छ, ती देशका तेल र ग्यास पूर्वाधारलाई पनि निसाना बनाइनेछ।’ इरानको यो आक्रामक कदमले अमेरिकालाई समेत झस्काइदिएको छ।

राष्ट्रपति ट्रम्पले इरानले छिमेकी देशहरू कतार, साउदी अरब, बहराइन र कुवेतमाथि पनि आक्रमण गर्ला भन्ने आफूहरूले नसोचेको स्वीकार गरेका छन्। तर अमेरिकी गुप्तचर निकायहरूले भने इरानमाथि आक्रमण गर्दा खाडीका सहयोगी राष्ट्रहरूमाथि प्रतिशोध हुन सक्ने चेतावनी पहिले नै दिएका थिए।

युद्ध सुरु भएयता पश्चिम एसियामा कम्तीमा २ हजार जना मानिसले ज्यान गुमाइसकेका छन्, जसमा इरानका २०० भन्दा बढी बालबालिका समेत सामेल छन्। मंगलबार बिहानै बगदादस्थित अमेरिकी दूतावासमा समेत दर्जनौँ रकेट र ड्रोन प्रहार भएपछि यो युद्ध क्षेत्रीय स्तरमा अझै भयानक मोडमा पुग्ने खतरा बढेको छ।

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप