सुनौली भन्सारबाट ग्यास आयात नियमित, तर उपभोक्ताले सहजै पाउँदैनन्
सारांश
- पश्चिम एसियामा द्वन्द्वका कारण ग्यास अभाव हुने डरले उपभोक्ताले सिलिन्डर जम्मा गर्न थालेका छन्।
- बुटवल क्षेत्रमा ग्यासको अभाव नभए पनि उपभोक्ताले सहजै पाउन सकेका छैनन्, र केही व्यापारीले चलखेल गरेको आशंका छ।
- जिल्ला प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ भने निगमले ग्यास वितरणलाई पारदर्शी बनाउन नयाँ रणनीति ल्याएको छ।
बुटवल । पश्चिम एसियामा जारी द्वन्द्वका कारण आयातमा असर पर्न सक्ने चिन्ता बढेसँगै रुपन्देहीका उपभोक्ताहरूमा खाना पकाउने एलपी ग्यास अभाव हुने डर बढेको छ ।
बजारमा ग्यास अभाव हुने हल्लाका कारण धेरै उपभोक्ताले घर तथा होटलमा सिलिन्डरको सञ्चिति बढाउन थालेका छन्, जसले गर्दा बुटवल आसपास ग्यास पाउन सकस भइरहेको छ ।
मिलनचोक, बुटवलका गौरव खनालले आफ्नो कोठामा ग्यास सकिएको दुई दिनपछि मात्रै भर्न पाएकोमा खुसी व्यक्त गरे । उनीसँग अर्को भरिएको सिलिन्डर भएकाले केही दिन समस्या नभएको तर त्यो पनि सकिएपछि होटलमा खानुपरेको उनले बताए ।
त्यस्तै होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष लेखनाथ न्यौपाने पनि होटलहरूले ग्यास माग्दा व्यापारीहरूले झुलाउने गरेको बताउँछन् । ‘सधैँ दुई दिनपछि आउनु भन्छन्,’ उनले गुनासो गरे ।
बजारमा ग्यासको पूर्ण अभाव नभए पनि विगतजस्तो सहज नभएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका संयोजक समुद्र जिसी बताउँछन् । ‘हामीले दैनिकजसो अनुगमन गरिरहेका छौँ । उपभोक्ताले ग्यास पाउन नसक्ने अवस्था भने छैन, तर पहिलेजस्तो सहज पनि छैन,’ उनले भने ।
पछिल्ला दिनमा युद्धको चर्चा र काठमाडौँलगायत स्थानमा ग्यास अभावको खबर फैलिँदा रुपन्देहीमा पनि उपभोक्ताहरूले आवश्यकभन्दा बढी ग्यास खरिद गर्न थालेका छन् ।
यसैबिच केही ग्यास डिलरहरूले बदमासी गरी सीमावर्ती क्षेत्रबाट भारततर्फ ग्यास लैजान सक्ने आशंका पनि देखिएको छ ।
रुपन्देहीको सुनौली भन्सार नाकाबाट खाना पकाउने एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ । भन्सार कार्यालयबाट आएको ग्यास नेपाल आयल निगमको भलवारीस्थित प्रदेश कार्यालयमार्फत यस क्षेत्रका ग्यास उद्योगलाई उपलब्ध गराइँदै आएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले बजारमा दैनिक अनुगमन भइरहेको र केही व्यापारीले चलखेल गरी सीमावर्ती क्षेत्रबाट खेत हुँदै भारततर्फ ग्यास लैजान सक्ने सम्भावनालाई मध्यनजर गर्दै निगरानी बढाइएको बताए ।
उनले सैनामैना र बुटवलका केही व्यापारीलाई सचेत गराउनुका साथै जरिवानासमेत गरिएको जानकारी दिए । उपभोक्ताहरू आत्तिएर धेरै ग्यास राख्न खोज्दा पनि समस्या देखिएको उनको भनाइ छ । केही दिनमा अवस्था सहज हुने अपेक्षा गरिएको छ ।
सुनौली भन्सारबाट नियमित आयात
रुपन्देहीको सुनौली भन्सार नाकाबाट खाना पकाउने एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ । भन्सार कार्यालयबाट आएको ग्यास नेपाल आयल निगमको भलवारीस्थित प्रदेश कार्यालयमार्फत यस क्षेत्रका ग्यास उद्योगलाई उपलब्ध गराइँदै आएको छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत उद्धव ढुङ्गानाले अघिल्लो वर्षको फागुनको तुलनामा अहिले पनि उस्तै परिमाणमा ग्यास आयात भइरहेको जानकारी दिए ।
उनका अनुसार पुसमा ६ हजार ७५८ मेट्रिक टन, माघमा ६ हजार ५७५ मेट्रिक टन र फागुनमा ७ हजार ४८८ मेट्रिक टन ग्यास आयात भएको छ । उनले भने, ‘दैनिक औसत अनुसार नै आयात भइरहेको छ । आपूर्ति अनुपात हेर्दा अभाव हुनुपर्ने अवस्था छैन ।’

नेपाल आयल निगम भलवारीस्थित लुम्बिनी प्रदेश कार्यालयका प्रमुख शैलेन्द्र भुसालले अन्य महिनाको तुलनामा फागुनमा करिब १० प्रतिशत ग्यास आयात बढेको बताए । उनका अनुसार भारतबाट आउने ग्यासमा कमी नभएकाले वास्तविक अभाव नहुनुपर्ने हो । ‘उपभोक्ता आत्तिएर धेरै स्टक राख्न थालेका छन् । केही व्यापारीहरूले नयाँ सिलिन्डर बिक्री गर्ने उद्देश्यले ग्यास छैन भन्ने गरेको हुन सक्छ,’ उनले भने ।
ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीप पन्तले घर–घरमा खाली रहेका सिलिन्डर उपभोक्ताहरूले एक्कासि साट्न खोज्दा अभावजस्तो देखिएको बताए । नेपाल ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य समेत रहेका पन्तले बुटवलमा ग्यास अभाव नभएको तर केही ग्यास डिलरहरूले बदमासी गरेको हुन सक्ने बताए । उनले आफूले ग्यास बिक्री गर्ने ठाउँमा उपभोक्ताहरूलाई सहज रूपमा उपलब्ध गराउने उल्लेख गर्दै ग्यास नपाएकाहरूलाई सम्पर्क गर्न सामाजिक सञ्जालमा सम्पर्क नम्बरसमेत राखेका छन् । कसैले सिलिन्डरमा कालाबजारी गर्न खोजे कारबाही गर्न उनले प्रशासनको ध्यानाकर्षण गराए ।
रुपन्देहीमा ग्यासको कालाबजारी र कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । रुपन्देहीमा त्रिसुल, सिद्धार्थ, पञ्चमहालक्ष्मी, नवलपरासी पश्चिमका आरती र चण्डी उद्योग छन् । जिल्ला बाहिरका जानकी, सिद्धनाथ र गण्डकी उद्योगका सिलिन्डर पनि रुपन्देहीको बजारमा आउने गरेका छन् ।
अनावश्यक सिलिन्डर थुपार्न नदिन आयल निगमको नयाँ रणनीति
एलपी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले नयाँ रणनीति लागु गरेको छ । ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्ताले अनावश्यक रूपमा धेरै सिलिन्डर मौज्दात नराखून् भन्ने उद्देश्यले सीमित परिमाणमा ग्यास बिक्री गर्ने तथा ग्यास कारोबारको दैनिक विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने नियम लागु गरिएको हो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारी, रुपन्देहीका प्रमुख शैलेन्द्र भुसालले ग्यासको आपूर्ति तथा वितरणलाई पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए ।
उनका अनुसार लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लामा रहेका सबै आधिकारिक ग्यास डिलरहरूले उद्योगबाट प्राप्त गरेको ग्यास र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय तथा निगमको प्रादेशिक कार्यालयमा पेस गर्नुपर्नेछ ।
कृत्रिम अभाव सिर्जना हुन नदिन र वितरण व्यवस्थालाई व्यवस्थित बनाउन निगमले कडाइ गरेको हो ।

भुसालका अनुसार यो व्यवस्थाबाट डिलरहरूले उद्योगबाट प्राप्त गरेको ग्यास र बिक्रीको वास्तविक अवस्था स्पष्ट रूपमा थाहा हुनेछ । साथै उपभोक्तालाई ग्यास बिक्री गर्दा नागरिकता वा परिचयपत्र नम्बर सहितको विवरण राख्नुपर्नेछ । यस व्यवस्थाबाट एउटै उपभोक्ताले पटक–पटक ग्यास किनेर अनावश्यक मौज्दात राख्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्न सकिने निगमको विश्वास छ ।
उनले युद्धग्रस्त क्षेत्रबाट पेट्रोलियम पदार्थ आयातमा हालसम्म कुनै समस्या नरहेकाले यहाँबाट बिक्री हुने १३ जिल्लाका कुनै पनि पेट्रोल पम्पमा अभाव नभएको दाबी गरे ।
भलवारिस्थित निगमको लुम्बिनी प्रादेशिक कार्यालयले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, पूर्वीरुकुम, रोल्पा, बागलुङ जिल्लामा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति गर्ने गर्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण