शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा कांग्रेस पदाधिकारी

शुक्रबार, ०६ चैत २०८२, १४ : ४१
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन्।
  • उपसभापति, महामन्त्री र सहमहामन्त्रीले थापाको राजीनामा बैठकबाट अस्वीकृत गर्नुपर्ने बताए।
  • पदाधिकारीहरूले सभापतिको कार्यभार नसकिएको र आगामी महाधिवेशनको कार्यभार बाँकी रहेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा पदाधिकारीहरूले सभापति थापाको कार्यभार नसकिएको भन्दै राजीनामा बैठकबाट अस्वीकृत गर्नुपर्ने बताएका हुन् ।

बैठकस्थलमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री उदय शमशेर राणाले राजीनामा अस्वीकृत गर्ने तयारी रहेको बताएका हुन् । 

उपसभापति शर्माले बैठकस्थलमा सञ्चारकर्मीको सभापति थापाको राजीनामा के हुन्छ भन्ने प्रश्नमा बैठकले आवश्यक निर्णय लिने बताए । ‘राजीनामाबारे बैठकले आवश्यक निर्णय लिनेछ,’ शर्माले सञ्चारकर्मीहरूसँग भने । 

शर्माले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समा थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने लेखेका थिए । 

महामन्त्री गुरुराज घिमिरेले पनि सभापति गगन थापाको कार्यभार नसकिएकोले राजीनामा स्वीकृत नगर्ने पक्षमा आफूहरू रहेको सञ्चारकर्मीहरूलाई बताए ।

‘निर्वाचन परिणामलाई दृष्टिगत गरी सभापतिले नैतिकताको आधारमा राजीनामा दिनुभएको हो । सभापतिको राजीनामाको विषयमा छलफल हुन्छ,’ महामन्त्री घिमिरेले भने, ‘हामी १५औँ महाधिवेशन गर्ने कार्यभार लिएर आएका थियौँ । सभापति र हामीले पाएको दायित्व अझै बाँकी छ । सभापतिलाई तपाईंको आवश्यकता छ भनेर आग्रह गर्छौं ।’ 

घिमिरेले देशैभरबाट सभापतिको विकल्प नखोजिएको भन्दै फिर्ता लिन आग्रह गर्ने र अस्वीकृत गर्ने बताए । 
सहमहामन्त्री उदयशमशेर राणाले देशभरका कांग्रेस कार्यकर्ता, शुभचिन्तक कसैले पनि सभापति थापाको राजीनामा नचाहेको बताए ।

 ‘स्थानीय तहका जनप्रतिनिधि, मेयर उपमेयर, शुभचिन्तक, कार्यकर्ता कसैले पनि सभापतिले ५० दिनलाई हेरेर राजीनामा दिनु हुँदैन भन्दै आउनुभएको छ,’ राणाले भने ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप