नयाँ जनादेशले पहिचानको आन्दोलनलाई कस्तो प्रभाव पार्ला ?
सारांश
- कोशी प्रदेशको नामकरणपछि चर्किएको पहिचानको आन्दोलन नयाँ जनादेशपछि अन्योलमा परेको छ, तर अभियान जारी छ।
- हर्क साम्पाङले पहिचानको आन्दोलनको नेतृत्व गर्न सक्ने चर्चा चलिरहेको छ, तर उनले क्षेत्रीय पार्टी नबन्ने बताए।
- निर्वाचनमा श्रम संस्कृति पार्टीको उदय र पहिचानवादी पार्टीहरूको कमजोर प्रदर्शनले नयाँ बहस सिर्जना गरेको छ।
विराटनगर । प्रदेशको नाम कोशी नामकरण गरेपछि चर्किएको पूर्वको पहिचानको आन्दोलन नयाँ जनादेशपछि अन्योलमा फसेको छ । यद्यपि पहिचानको आन्दोलन समाप्त भने नभएको अभियानकर्मी बताउँछन् ।
कोशी प्रदेशका पहिचानवादी नेताहरू अब हर्क साम्पाङले पहिचानको आन्दोलनलाई नेतृत्व गर्नसक्ने भन्दै पहल सुरु गरेका छन् । साम्पाङले भने आफ्नो नेतृत्वको श्रम संस्कृति पार्टी क्षेत्रीय पार्टी नबन्ने भन्दै देशव्यापी अभियान सुरु गरेका छन् । केही दिन अगाडि आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा साम्पाङले स्पष्ट रूपमा क्षेत्रीय पार्टी नबन्ने बताएका थिए ।
‘हामीले कोशीबाटै ३ जना प्रत्यक्षमा जित्यौँ । समानुपातिकमा पाएको ४ सिटमध्ये एक जना जनकपुरबाट र एक जना सुर्खेतबाट पठायौँ । कोशीबाट मत धेरै आयो भन्दैमा यहाँबाटै दिने हो भने त्यो पार्टी त क्षेत्रीय भइगयो नि,’ उनले भनेका थिए ।
प्रदेशको नाम कोशी नामकरण गरेपछि भएको इलामको प्रतिनिधि सभा उपनिर्वाचनमा भने साम्पाङले पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमको समर्थनमा निर्वाचन क्षेत्रमै पुगेर भाषण गरेका थिए । त्यसबेला थेगिमले झन्डै ११ हजार मत ल्याएका थिए । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशमा पहिचानवादी भनेर चिनिएका पार्टीहरूको अवस्था कमजोर देखिएको छ, तर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी एकाएक उदाएको छ ।
_CSCZsuCNoa.jpg)
कोशी प्रदेशको समानुपातिकतर्फको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाउँदा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ । नेपाली कांग्रेस २ लाख ९० हजार ५६२ मतसहित तेस्रो बन्दा नेकपा एमाले २ लाख ८८ हजार १८६ मतसहित चौथो शक्ति बनेको छ ।
अघिल्लो निर्वाचनमा पाँचौँ स्थानमै रहेको नेपाली कम्युनिस्ट पार्टी यस पटक पनि पाँचौँ नै बनेको छ । नेपाली कम्युनिस्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ भने यसअघि चौथो शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२ हजार ८२९ मतसहित छैटौँ बनेको छ ।
यस निर्वाचनमा श्रम संस्कृति पार्टीको उदय सबैका लागि चासोको विषय बनेको छ । कसैले अनुमान नगरेको यो नयाँ दल पहिलो प्रयासमै २ लाख ९२ हजार ४९ मत प्राप्त गरी कांग्रेस र एमाले जस्ता पुराना र स्थापित दललाई पछि पार्दै प्रदेशकै दोस्रो ठुलो दल बन्न सफल भएको छ ।
_c9E1w5CMJJ.jpg)
मत परिणामको अर्को पाटो पनि छ । यस पटक कोशी प्रदेशमा पहिचानवादीको नाममा खुलेका पार्टीको मत भने लज्जास्पद छ । जनता समाजवादी पार्टी नेपाल पनि आफूलाई पहिचानवादी भन्छ । उक्त दलले जम्मा समानुपातिक मत १३ हजार ८४० पाएको छ । यस्तै यसअघि झन्डै ५० हजार मत ल्याउने मंगोल नेशनल अर्गनाइजेशनले यस पटक ८ हजार ७५४ मत ल्याएको छ ।
नागरिक उन्मुक्ति पार्टीले ५ हजार ७८१ ल्याउँदा पूर्वमा लिम्बूवान आन्दोलनबाटै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने ३ हजार ५१६ मतमात्रै पाएको छ । २०७४ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधि सभातर्फ समानुपातिकमा २० हजार ६१० मत पाएको थियो भने प्रदेश सभातर्फ कोशीमा २६ हजार १२३ मत पाएको थियो ।
यस्तै २०७९ सालमा मञ्चले प्रतिनिधि सभातर्फ १७ हजार ७९५ मत पाउँदा प्रदेश सभातर्फ भने २६ हजार २४२ मत पाएको थियो ।
२०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमले कोशी प्रदेशबाट ७० हजार ४७६ मत पाएको थियो भने परिवर्तित नाम जनता समाजवादी पार्टीले २०७९ सालमा ५९ हजार ४८५ मत पाएको थियो ।
जनमतबाट पहिचानको आन्दोलन बेवास्तामा परेको हो कि नयाँ पार्टीले पहिचानको मुद्दा बोक्ने भएर हो भन्ने विषय अहिले कोशीमा बहसमा छ । पहिचानवादी नेता डकेन्द्र सिंह थेगिम चुनावको नतिजाले मात्र पहिचानको आन्दोलनलाई रोक्न नसक्ने बताउँछन् । आन्दोलनको स्वरूप र आगामी रणनीतिका विषयमा नेतृत्व तहमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

‘यो पहिचानको आन्दोलन स्थगित भएको पनि होइन, रोकिएको पनि होइन । आन्दोलनका कार्यक्रमहरू अहिले घोषणा भइसकेको छैन । अब हामी कसरी अघि बढ्ने भन्ने विषयमा नेतृत्व तहका साथीहरूसँग छलफल गरिराखेका छौँ । यो निरन्तर चलिरहन्छ,’ उनले भने ।
पछिल्लो समय जनमत रास्वपा (घण्टी) र हर्क साम्पाङतिर गएको हो कि भन्ने प्रश्नमा थेगिमले पहाडी क्षेत्रमा घण्टीको खासै प्रभाव नरहेको दाबी गरे । उनले अघिल्लो स्वतन्त्र उम्मेदवारीको समयमा हर्क साम्पाङले आफूहरूलाई सहयोग गरेको स्मरण गर्दै श्रम संस्कृति पार्टीसँग सहकार्य गर्न सकिने, तर त्यसका लागि शर्त रहेको खुलाए ।
‘हामीले के भनिराखेका छौँ भने श्रम संस्कृति पार्टीले पहिचानको मुद्दा बोक्नुपर्यो, मतदाताहरूले श्रम संस्कृति पार्टीले पहिचानको मुद्दा प्रस्ट रुपमा उठाउँछ भने हामी साथ दिन्छौँ भन्ने आशा गरेको छ । यदि प्रस्ट पहिचान र अधिकारको कुरा उठाएन भने फेरि पनि विचार गर्नुपर्ने हुन्छ भन्ने पक्षमा नै रहेको छ,’ थेगिमले भने ।
निर्वाचनपछि हर्क साम्पाङ पक्षसँग प्रत्यक्ष भेटघाट नभए पनि टेलिफोन र नजिकका मान्छेहरूमार्फत संवाद भइरहेको उनले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले निर्वाचनमा कमजोर नतिजा आएको स्वीकार गरे पनि आन्दोलन कमजोर नभएको दाबी गरे । चुनाव र आन्दोलन सँगसँगै जाने भएकाले कोर कार्यकर्ताहरूको मनोबल नखस्केको उनको भनाइ छ । ‘हामीले सुरुमै कसरी कन्भिन्स गर्दै आएको छौँ भने चुनाव र आन्दोलन सँगसँगै जान्छ है, चुनाव ५० प्रतिशत हो, आन्दोलन ५० प्रतिशत हो । त्यसले गर्दा हाम्रा कोर कार्यकर्ताहरुको मन अलिकति पनि खस्केको छैन,’ लिङ्देनले भने ।
विगतमा एमाले र कांग्रेसले आफूहरूलाई नराम्ररी पेलेको र अहिले नयाँ शक्तिहरू उदाएको सन्दर्भलाई उनले राजनीतिक विज्ञानको सिद्धान्तसँग जोडेर व्याख्या गरे । कम्युनिस्टहरूले सामन्तवादबाट पुँजीवादमा जाने बाटो छेकेर समाजवादको भ्रम छरेको उनको आरोप छ ।
‘सामन्तवाद पछि पुँजीवाद, पुँजीवाद पछिमात्रै साम्यवाद आउँछ भन्थ्यो नि त, तर एमालेले सामन्तवादपछि पुँजीवादमा जानै नदिई समाजवाद समाजवाद भन्दै बस्यो । त्यसले गर्दा विभिन्न खालको आन्दोलन अगाडि जान सकेन,’ उनले भने ।
हर्क साम्पाङ, बालेन शाह र रवि लामिछाने जस्ता नेताहरूलाई लिङ्देनले पियोर पुँजीवादीको संज्ञा दिए । नयाँ शक्तिहरूप्रति जनता आकर्षित हुनुको कारण खोतल्दै उनले पुराना पार्टीहरूभन्दा नयाँ अनुहारहरू पहिचान र संस्कृतिको सवालमा अलि ‘खुकुलो र उत्तरदायी’ देखिएको विश्लेषण गरे ।
‘पुराना शक्तिहरू भन्दा नयाँ शक्तिहरू पहिचानको सवालमा केही खुकुलो नै छन् कि भन्ने मान्छेहरूलाई लाग्यो,’ उनले भने, ‘बालेन शाहले उता आएर मुक्कुमलुङ भने, यता आएर जय खुवालुङ भने । रविले राई लिम्बूहरू समेट्न नसकेको भन्दै सरी फेरि गर्छु भने । यसले सुन्दै नसुन्ने एमालेहरू भन्दा त बोल्यो नि त । त्यो पनि एउटा रेस्पोन्स त हो नि त । नयाँ शक्तिहरूले अलिकति उठेको कुराहरूलाई रेस्पोन्सचाहिँ दिँदो रहेछ भन्ने पनि भयो ।’
उता, हर्क साम्पाङ नेतृत्वको नवगठित ‘श्रम संस्कृति पार्टी’का प्रवक्ता सत्य घलेले आफ्नो पार्टी संस्कृतिवादी भएको बताउँदै सबैको पहिचान र संस्कृतिलाई स्वीकार गर्ने स्पष्ट पारे । पहिचानको आन्दोलनलाई आफ्नो पार्टीको सपोर्ट रहने कि नरहने भन्ने प्रश्नमा उनले सबैको संस्कृतिको संरक्षण गर्ने बताए ।
‘हामी संस्कृतिवादी हो, सबैको संस्कृतिलाई हामीले सम्मान गर्ने हो । केवलकार बनाउने विषयमा होस् या कोशी नामकरणको सन्दर्भमा होस्, हामी स्थानीयहरूलाई बाइपास गरेर गर्नुहुँदैन भन्ने पक्षमा छौँ । जनता मारेरचाहिँ बनाउनु हुँदैन भन्ने हाम्रो धारणा हो,’ घलेले भने, ‘हामी क्षेत्रीय कुरामात्र गर्दैनौँ । सबै कुरा समेट्ने प्रयास गर्छौं । हामी संस्कृतिवादी हो, सबैको पहिचानलाई स्वीकार गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण