शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालिका कप : बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

बुधबार, ११ चैत २०८२, १८ : ४२
बुधबार, ११ चैत २०८२

बागलुङ । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । 

बुधबार भएको पहिलो खेलमा आदित्य होल्डिङ तित्याङलाई संघर्षपूर्ण खेलमा पछि पार्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले जित निकालेको हो । बागलुङ भलिबलले आदित्य होल्डिङ सेन्टरलाई ३–२ सेटले पछि पारेको हो । पहिलो सेट नै गुमाएर दबाबमा परेको बागलुङ भलिबल दोस्रो सेटमा पुनरागमन गर्दै जित निकाल्यो । 

तेस्रो सेट गुमाउँदा बागलुङ भलिबलले चौथो र पाँचौ सेट आफ्नो पक्षमा पार्दै खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खेलको पहिलो सेट २५–२३ ले  गुमाएको बागलुङ भलिबलले दोस्रो सेट २५–२० ले जितेको थियो । तेस्रो सेट २५–२० ले गुमाएपछि चौथो सेटमा पुनरागमन गर्दै बागलुङ भलिबलले ३१–२९ को संघर्षपूर्ण जित हात पार्‍यो । चौथो सेटमा कठिन जित हात पारेको बागलुङ भलिबलका लागि पाँचौ सेट भने सहज हुन पुग्यो । पाँचौं सेट १५–१० ले आफ्ना पक्षमा पार्दै खेल जित्यो । 

बुधबार नै भएको दोस्रो खेलमा घले हार्भेष्टिङ अस्टे«लियाले धौलागिरि मोबाईल पसल बेनी म्याग्दी माथि सहज जित हात पार्‍यो । अधिकांस नेपाल पुलिस क्लबबाट राष्ट्रिय अन्तर्राष्ट्रि प्रतियोगिता खेलिरहेका खेलाडी सम्मिलित घले हार्भेस्टिङको अगाडि धौलागिरि मोबाईल पसल बेनी म्याग्दी निरीह देखियो । रेशम छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएको घले हार्भेष्टिङले धौलागिरि मोबाईल पसललाई पहिलो सेट २५–१२ दोस्रो सेट २५–४ र तेस्रो सेट २५–११ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । 

बिहीबार पहिलो खेल बिहान ८ बजे सिद्धार्थ चस्मा घर बागलुङ र भिमापोखरा खेलकुद विकास समिति तथा दोस्रो खेल गौंडाकोट विरुद्ध रायडाँडा खेलकुद विकास समिति बानपा–११ को बीचमा हुनेछ । त्यसपछि क्वाटरफाईनल चरणको खेल सञ्चालन हुने भलिबल प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले बताए । पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिए ।

महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए ।  

महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ । 

मेलाको अवसरमा छेलो प्रतियोगिताको पनि आयोजना गरिएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र द्वितीय हुनेले नगद २० हजार नगद पुरस्कार पाउनेछन् । परापूर्व कालदेखि नै परम्परागत रपमा स्वतःस्फुर्त लाग्दै आएको मेला अहिले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले व्यवस्थीत रुपमा आयोजना गरेर विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अध्यक्ष भुपेन्द्र खड्काले बताए । मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, रमाईलो मेला, बाल उद्यान, घरेलु तथा स्थानीय वस्तुहरुको खरिद विक्री लगायतका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप