मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एक करोड श्रमदाता जुटाएर देश बदल्ने हर्क साम्पाङको उद्घोष

शुक्रबार, १३ चैत २०८२, १४ : १३
शुक्रबार, १३ चैत २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले व्यावहारिक काम र श्रम संस्कृतिको आवश्यकता औंल्याए।
  • उनले विकासका लागि श्रमदानलाई अनिवार्य सर्तका रूपमा अघि सार्दै देशभरबाट एक करोड श्रमदाता जोड्ने योजना सुनाए।
  • साम्पाङले श्रमदानबाट भौतिक निर्माण, भावनात्मक एकता र समृद्धिको दिशामा देशलाई डोर्याउन सकिने बताए।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश निर्माणका लागि खोक्रा भाषणभन्दा व्यावहारिक काम र श्रम संस्कृतिको आवश्यकता रहेको बताएका छन्। काठमाडौँमा आयोजित पार्टी सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्व अब नारामा मात्र सीमित नभई परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। 

नागरिकको सक्रिय सहभागिता र पसिना बिना मुलुकको विकास सम्भव नहुने भन्दै उनले विकासका लागि श्रमदानलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। पार्टीको लक्ष्य सुनाउँदै साम्पाङले देशभरबाट कम्तीमा एक करोड श्रमदातालाई आफ्नो संगठनमा जोड्ने योजना रहेको खुलासा गरे। 

ठुलो संख्यामा नागरिकको श्रम परिचालन गर्न सके मात्र विकासले गति लिने विश्वास व्यक्त गर्दै उनले एक करोड मानिसका दुई करोड हात एकैसाथ चल्दा मुलुकमा ठूलो परिवर्तन आउने दाबी गरे। श्रमदानले केवल भौतिक निर्माण मात्र नभई व्यक्तिको शरीर बलियो बनाउने, समाजलाई भावनात्मक रूपमा जोड्ने र समग्र मुलुकलाई समृद्धिको दिशामा लैजाने उनको तर्क छ।

सरकारले स्रोत र साधन भएर पनि गर्न नसकेका कतिपय कामहरू नागरिकको स्वस्फूर्त श्रमदानबाट सम्भव हुने उदाहरण दिँदै उनले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको जानकारी समेत दिए। राज्य संयन्त्र सुस्त रहेको अवस्थामा श्रम शक्तिले नै विकासको नेतृत्व गर्नुपर्ने भन्दै उनले कुरा गरेर मात्र देश नबन्ने र काममा जुट्न सबैलाई आह्वान गरे। 

श्रम र पसिनाको सम्मान गर्ने संस्कृतिले मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप