सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु

सोमबार, ०८ असार २०८३, ११ : ४१
सोमबार, ०८ असार २०८३

सारांश

  • बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’को सेटमा काम गर्ने क्रममा सर्ट सर्किटले बिजुलीको झट्का लाग्दा ४२ वर्षीय सिकर्मी चन्द्रधारीसिंह यादवको मृत्यु भएको छ ।
  • मृतक यादवको परिवारलाई भन्साली प्रोडक्सनले ४० लाख भारु सहयोगको घोषणा गरेको छ भने, युनियनले क्षतिपूर्ति रकम ५० लाख पुर्‍याउन र छोराछोरीको शिक्षा खर्च बेहोर्न माग गरेको छ ।
  • यस दुर्घटनाले फिल्म सेटमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको सुरक्षाबारे प्रश्न उठाएको छ र महासङ्घले कडा सुरक्षा व्यवस्था गर्न अपिल गरेको छ ।

नयाँ दिल्ली । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना भएको छ । मुम्बईको गोरेगाउँस्थित रोयल पम्प स्टुडियोमा भएको घटनामा ४२ वर्षीय एक कामदारको ज्यान गएको छ ।

दुर्घटना १७ जुन २०२६ को बिहान मुम्बईको गोरेगाउँस्थित रोयल पम्प स्टुडियोमा भएको बताइएको छ । मृतक पीडित ४२ वर्षीय चन्द्रधारीसिंह यादव थिए, जो पेसाले सिकर्मी थिए । उनी फिल्म स्टुडियो सेट्स एन्ड अलाइड मजदुर युनियन (एफएसएसएएमयू) का सदस्य थिए ।

फिल्मको सेट निर्माणको काम  भइरहेको बेला सर्ट सर्किट भएर चन्द्रधारीलाई बिजुलीका गम्भीर झट्का लाग्यो । यस क्रममा उनको शरीर गम्भीर रूपमा जल्यो । अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

भन्साली प्रोडक्सनले शोक सन्तप्त परिवारलाई ४० लाख भारुको आर्थिक सहयोगको घोषणा गरेको छ । एनडीटीभीको रिपोर्ट अनुसार, एफएसएसएएमयूका अध्यक्ष बी.एन.तिवारीले मृतकका छोराछोरी निकै सानो भएकोले क्षतिपूर्ति रकम ५० लाख रुपैयाँ पुर्‍याउन माग गरेका छन् । 

यसबाहेक, महासङ्घले निर्देशक सञ्जय लीला भन्सालीलाई चन्द्रधारीका दुई छोराछोरीको सम्पूर्ण शिक्षा खर्च बेहोर्न र उनकी श्रीमतीलाई निर्माण गृहमा जागिर उपलब्ध गराउन अनुरोध गरेको छ ।

याे दुर्घटनाले फेरि एकपटक फिल्म सेटहरूमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । असुरक्षित काम गर्ने वातावरणका कारण यस्ता घटना बेला बेलामा सुन्नमा आइरहेका छन् । महासङ्घले अब सबै निर्माण गृहहरूलाई सेटहरूमा कडा सुरक्षा व्यवस्था गर्न र काम गर्ने समय नियमित गर्न कडा अपिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप