मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नयाँ सरकार गठन

सुदूरपश्चिमले पायो दुई मन्त्री

शुक्रबार, १३ चैत २०८२, १४ : २४
शुक्रबार, १३ चैत २०८२

सारांश

  • सुदूरपश्चिमका गीता चौधरी र प्रतिभा रावल संघीय सरकारमा मन्त्री बनेका छन्।
  • गीता चौधरी कृषि मन्त्री र प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।
  • दुवै मन्त्रीले किसानका समस्या समाधान र प्रशासनिक सुधारलाई प्राथमिकता दिने बताएका छन्।

धनगढी । सुदूरपश्चिमका दुई जना महिला सांसदले सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य बनेका गीता चौधरी र प्रतिभा रावल मन्त्री बनेका हुन् । दुवै जना ३० को दशकमा रहेका युवा हुन् भने दुवैको पृष्ठभूमि राजनीतिभन्दा पनि सामाजिक र व्यावसायिक क्षेत्रबाट सुरु भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीया गीता चौधरीले नवनियुक्त कृषि मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । थारु समुदायको एक सामान्य परिवारमा जन्मिएकी गीताको बाल्यकाल अभावमै बित्यो । साहुसँग ऋण मागेर र छात्रवृत्ति पाएर उच्च शिक्षा पूरा गरेकी उनले कानुनमा स्नातकोत्तर गरिन् र आफूलाई एक सफल अधिवक्ताका रूपमा स्थापित गरिन् ।

अधिवक्ताका रूपमा उनले कञ्चनपुर र आसपासका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेकी थिइन् । विशेष गरी घरजग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले न्यायको पक्षमा आवाज उठाउँदै आएकी थिइन् । 

२०६२/०६३ को जनआन्दोलनबाट राजनीतिक चेतना पाएकी गीता सुरुमा एमाले निकट विद्यार्थी सङ्गठन र पछि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिइन् । २०७९ को निर्वाचनमा प्रदेश सभामा पराजित भए पनि पछि उनी रास्वपामार्फत संसद्‌मा  पुगिन् ।

कृषि मन्त्रीका रूपमा गीताले किसानका लागि समयमै मल र बीउको उपलब्धता, थारु समुदायको परम्परागत न्याय प्रणाली (बडघर/भलमन्सा) लाई कानुनी मान्यता, र सिकलसेल एनेमियाको निःशुल्क उपचारलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरमा जन्मिएकी ३२ वर्षीया प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । ५ वर्षको उमेरमै बुबा गुमाएकी प्रतिभालाई उनकी आमा माया रावलले सङ्घर्ष गरेर पढाएकी थिइन् । महेन्द्रनगरबाट विद्यालय शिक्षा र भारतको चेन्नईबाट पोस्ट ग्राजुएट गरेकी प्रतिभाले झण्डै एक दशक पत्रकारितामा बिताइन् ।

’साउथ एसिया चेक’, ’रिपब्लिका’ हुँदै ’ग्यालेक्सी फोरके टेलिभिजन’मा उनले सञ्चालन गर्ने ‘लालमोहर’ कार्यक्रम निकै चर्चित थियो । 

पत्रकारिताका क्रममा नीति–निर्माताहरूलाई प्रश्न गर्दागर्दै उनले अनुभूत गरिन्— ’परिवर्तनका लागि बाहिर बसेर प्रश्न गरेर मात्र पुग्दैन, नीति निर्माणको थलोमै पुग्नुपर्छ ।’ग्यालेक्सी टिभीका प्रमुख रवि लामिछानेको प्रेरणाले राजनीतिमा होमिएकी उनी रास्वपाको स्थापनाकालदेखि नै सक्रिय भइन् ।

अहिले प्रशासन मन्त्रीको रूपमा उनले राज्यको प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने र सुशासन कायम गर्ने जिम्मेवारी पाएकी छन् । आफ्नो सफलताको श्रेय आमाको त्यागलाई दिने प्रतिभा अब काम गरेर देखाउने अठोटमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप