सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालेन शाहलाई हिन्दु राज्य फर्काउने अभियानमा लाग्न दुर्गा प्रसाईंको आग्रह

शनिबार, १४ चैत २०८२, १६ : ४५
शनिबार, १४ चैत २०८२

सारांश

  • दुर्गा प्रसाईंले केपी ओली र रमेश लेखक जस्ता नेता पक्राउ पर्नु ठुलो कुरा नभएको बताए।
  • उनले देश संकटमा पर्नुको कारण पुराना राजनीतिक दलहरूको अहंकार भएको बताए, जसलाई रावणको अहंकारसँग तुलना गरे।
  • प्रसाईंले दलाई लामाको गतिविधि नेपालमा स्वीकार्य नहुने र राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको बताए।

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक जस्ता व्यक्तिहरू पक्राउ पर्नु ठुलो कुरा नभएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले व्यक्तिको पक्राउ भन्दा पनि देशको अस्तित्व रहने कि नरहने भन्ने कुरा मुख्य चुनौती बनेको जिकिर गरे । 

पुराना राजनीतिक दलहरूको अहङ्कारका कारण देश सङ्कटमा परेको भन्दै उनले उनीहरूको घमन्डलाई रावणको अहङ्कारसँग तुलना गरे जसले गर्दा लङ्का जलेको थियो । प्रसाईंले पछिल्ला दिनमा भएका विभिन्न घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने र ती घटनाका मुख्य योजनाकारहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। 

विशेष गरी डिस्कर्डजस्ता माध्यम प्रयोग गरेर मान्छे उतार्ने र विद्यालयका पोसाकमा बालबालिका प्रयोग गर्नेहरूलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ। उनले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै विगतका नेताहरू प्रचण्ड र ओली जस्तै बालेन पनि विद्रोही पृष्ठभूमिबाटै शक्तिमा आएको टिप्पणी गरे। 

अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूलाई चेतावनी दिँदै प्रसाईंले नेपालमा दलाई लामाको गतिविधि वा उपस्थिति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। उनले चीन, अमेरिका र भारत जस्ता देशहरूलाई लक्षित गर्दै यदि नेपालमा दलाई लामा जन्माउने खेल भएमा काठमाडौँले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। 

देशको समृद्धिका लागि वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनःस्थापना नै एक मात्र विकल्प भएको उनको जिकिर छ। राजसंस्था र हिन्दु राष्ट्र हटाएका कारण नै अहिले मुलुकले सजाय भोगिरहेको दाबी गर्दै उनले प्रधानमन्त्री बालेन शाहलाई हिन्दु राज्य फर्काउने अभियानमा लाग्न र भ्रष्टाचार अन्त्य गर्न आग्रह गरे। अन्ततः राजा ल्याएर मात्रै देश बचाउन सम्भव हुने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप