बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा चिन्ता

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्न सर्कुलर

शनिबार, १४ चैत २०८२, २० : ०९
शनिबार, १४ चैत २०८२

सारांश

  • केपी शर्मा ओली र रमेश लेखक पक्राउ परे पछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
  • सुरक्षा चुनौती बढेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाकर्मीलाई 'हाई अलर्ट' दिएका छन्।
  • गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरे र प्रदर्शन नियन्त्रणका लागि रणनीति बनाए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् । 

बदलिँदो परिस्थतिका कारण देशभर सुरक्षा सतर्कता अपनाउँदो सुरक्षाकर्मीलाई ‘स्ट्यान्डबाई’ राखिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षा चुक हुन नदिन संगठन प्रमुखबाट स्पष्ट निर्देशन भएको छ ।’ 

प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको डीआईजी काफ्लेले बताए । 
जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ । 

सशस्त्रले पनि आफ्ना सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राखेको छ । भिड नियन्त्रण गर्दा लगाउने चुस्तामा स्ट्यान्डबाई बस्न देशभर सर्कुलर गरिएको सशस्त्र प्रहरीका एक एच्च अधिकृतले रातोपाटीलाई बताए । 

गृहमन्त्री र सुरक्षा प्रमुखहरूको छलफल 

भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए । पक्राउपछि नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले काठमाडौँ सहितका ठाउमा विरोध प्रदर्शन गरे । प्रदर्शनपछि गृहमन्त्रीले आईजीपी दानबहादुर कार्की र सशस्त्रका आईजी राजु अर्याल सहितका उच्च अधिकारीहरुसँग सम्भावित परिस्थितिबारे छलफल गरेका हुन् । 

छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतका अनुसार पूर्वप्रधानमन्त्री ओलीको पक्राउको विरोधमा ‘अपेक्षाकृत’ प्रदर्शन नभएको निष्कर्ष निकालिएको छ । बैठकमा सहभागी ती अधिकृतले भने, ‘अपेक्षाकृत कमजोर प्रदर्शन भएको हाम्रो निष्कर्ष छ ।’ 

अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन भएपछि सुरक्षा रणनीति तयार गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको उनले बताए । आज काठमाडौँसहित २१ ठाउँमा एमाले र कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् । काठमाडौंको बबरमहलमा प्रदर्शनमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप