पाँच वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई
सारांश
- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रमलाई दिइएको छ।
- सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको कम्पनीले सरकारले तयार पारेको लागत अनुमानभन्दा कम रकम कबोल गरेको छ।
- सुरुङमार्ग प्रयोग गर्दा कार, भ्यान, जीप, पिकअप, माइक्रोबसलाई काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ शुल्क लाग्नेछ।
काठमाडौँ । लामो पर्खाइपछि नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीको टुंगो लागेको छ ।
आयोजनाले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट’ र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ (युसिन–एआरटी जेभी) लाई ५ वर्षका लागि सञ्चालनको जिम्मा दिएको हो ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार, उक्त कम्पनीले सरकारले तयार पारेको लागत अनुमानभन्दा ४० प्रतिशत कम अर्थात् १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो । आयोजनाले सोमबार आशयको सूचना जारी गर्दै छनोट भएको कम्पनीलाई सम्झौताका लागि एक साताको समय दिएर बोलाएको छ ।
सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक छनोट गर्ने प्रक्रियामा सुरु भएदेखि नै दातृ निकाय जापान सरकारले चिनियाँ कम्पनीलाई जिम्मेवारी दिन नहुने अडान राख्दै आएको चर्चा थियो । तर खरिद ऐनको ‘न्यूनतम कबोल गर्नेले ठेक्का पाउने’ प्रावधानका कारण अन्ततः चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम (युसिन–एआरटी जेभी) ले नै यो जिम्मेवारी पाएको छ ।
छनोट प्रक्रियामा १० कम्पनी सहभागी थिए । यसमध्ये ७ कम्पनी प्राविधिक मूल्यांकनमा सफल भएका थिए । आर्थिक प्रतिस्पर्धामा रहेका ६ चिनियाँ र १ भारतीय कम्पनी (सबै नेपाली कम्पनीसँगको जेभीमा) मध्ये युसिन–एआरटी जेभीले सञ्चालनको जिम्मा पाएको हो ।
कहिले आउला सञ्चालनमा ?
आयोजना निर्देशक नेपालका अनुसार सम्झौता भएको तीन महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने सर्त छ । ‘आगामी वैशाख अन्तिमसम्ममा सुरुङको परीक्षण सञ्चालन गर्ने तयारी छ,’ उनले भने, 'कति समय परीक्षणका रुपमा सुरुङ चलाउने भनेर सञ्चालनको जिम्मा लिने कम्पनीले नै निर्णय गर्नैछ ।’
सुरुङ सञ्चालनका लागि करिब १५० जना जनशक्ति परिचालन गरिनेछ, जसलाई २ महिनाको विशेष तालिम दिइनेछ । छनोट भएको कम्पनीले सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, र टोल शुल्क उठाउने काम गर्नेछ । सञ्चालन खर्च सरकारले बेहोर्ने छ भने उठेको टोल रकम दैनिक रूपमा सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।
सरकारले यो सुरुङ प्रयोग गरेबापत लाग्ने शुल्क यसअघि नै तोकिसकेको छ ।
कसलाई कति लाग्नेछ टोल शुल्क ?
सडक बोर्डले वैज्ञानिक अध्ययनमा आधारित रहेर शुल्क निर्धारण गरिएकाले सुरुङमार्ग प्रयोग गर्दा ७० प्रतिशतसम्म खर्च बचत हुने दाबी गरेको छ ।
जसअनुसार कार भ्यान, जीप, पिकअप, माइक्रोबस लाई काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ । यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ । बस तथा ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।
यस्तै हेभी लरी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ ।
कस्ता सवारीले प्रवेश पाउँदैनन् ?
गत २५ चैतमा जारी ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१’ अनुसार पैदलयात्री, दुईपांग्रे (मोटरसाइकल), तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई सुरुङमा प्रवेश निषेध गरिएको छ । त्यस्तै, अत्यधिक प्रज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, ग्यास) र विस्फोटक पदार्थ बोकेका सवारीले पनि सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।
२०७६ कात्तिक ६ गतेदेखि सुरु भएको यो सुरुङमार्गको भौतिक प्रगति हाल ९८ प्रतिशत पुगिसकेको छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । आयोजनामा जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानी छ । थप साढे ५ अर्ब ऋणका लागि अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढेको छ । धादिङतर्फको पहिरो व्यवस्थापन काम यहि वैशाखसम्ममा सम्पन्न गर्ने आयोजनाले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण