सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरान युद्ध अन्त्यका लागि चीन र पाकिस्तानको पाँच बुँदे योजना

बुधबार, १८ चैत २०८२, १२ : १३
बुधबार, १८ चैत २०८२

सारांश

  • चीन र पाकिस्तानले इरान युद्ध अन्त्यका लागि संयुक्त पाँच बुँदे शान्ति योजना अघि सारेका छन्।
  • यस योजनामा युद्धविराम र होर्मुज जलमार्ग सञ्चालनलाई प्राथमिकता दिइएको छ।
  • चीनले इरान संकट लम्बिँदा आफ्नो औद्योगिक क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सक्रियता देखाएको हो।

बेइजिङ । इरानमा जारी युद्ध अन्त्य गर्न चीन र पाकिस्तानले संयुक्त रूपमा पाँच बुँदे शान्ति योजना अघि सारेका छन्। यस प्रस्तावमा तत्काल युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज जलमार्ग पुन: सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

पाकिस्तानका विदेशमन्त्रीले बेइजिङ भ्रमण गरी चिनियाँ पक्षसँग युद्ध रोक्नका लागि सहयोग मागेपछि यो पहल सुरु भएको हो। चिनियाँ विदेश मन्त्रालयले दुवै देशले शान्ति स्थापनाका लागि नयाँ प्रयास गरिरहेको बताएको छ। 

इरान संकट सुरु भएको एक महिना बितिसक्दा इन्धनको मूल्य लगातार बढिरहेपछि चीनले अहिले सक्रियता देखाएको हो। चीनले यसअघि इरान युद्धका विषयमा खासै प्रतिक्रिया दिएको थिएन। 

तेलको पर्याप्त भण्डारण भएकाले अन्य एसियाली देशहरूको तुलनामा चीन सुरुवाती चरणमा कम प्रभावित देखिए पनि युद्ध लम्बिएमा चिनियाँ औद्योगिक क्षेत्रमा ठूलो धक्का लाग्ने डर बढेको छ। विश्वको कारखाना मानिने चीनलाई आफ्नो उत्पादन र निर्यात जारी राख्न विश्व अर्थतन्त्रमा स्थिरता आवश्यक छ, जुन इरान युद्धका कारण अहिले जोखिममा परेको छ।

चीनले यसअघि पनि मध्यपूर्वमा शान्तिदूतको भूमिका निर्वाह गर्ने प्रयास गरिसकेको छ। सन् २०२३ मा साउदी अरब र इरानबिच कूटनीतिक सम्बन्ध सुधार्न चीनले महत्त्वपूर्ण भूमिका खेलेको थियो भने एक वर्षअघि प्यालेस्टिनी गुटहरूबिच राष्ट्रिय एकता कायम गर्न बेइजिङले वार्ताको आयोजना गरेको थियो।

चीन र पाकिस्तानको यो नयाँ प्रस्तावलाई अहिले नै कसैले समर्थन गरिसकेको स्पष्ट संकेत नमिले पनि यसले राष्ट्रपति सी जिनपिङलाई विश्व राजनीतिमा एक तटस्थ मध्यस्थकर्ता र शान्तिदूतका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप