लुम्बिनीमा विद्युतीय बस सेवा सञ्चालनमा, तत्कालका लागि निःशुल्क सेवा
सारांश
- लुम्बिनीमा लामो समयदेखि अलपत्र परेको विद्युतीय बस बुधबारदेखि सञ्चालनमा आएको छ।
- प्रधानमन्त्री कार्यालयको निर्देशनपछि दुई रुटमा बस सञ्चालन गरिएको छ: बेलहिया र तिलौराकोट।
- चार्जिङ स्टेसन मर्मत गरेर बस सञ्चालनमा ल्याइएको हो र यात्रुबाट भाडा लिइने छैन।
बुटवल । लुम्बिनीमा लामो समयदेखि अलपत्र परेको विद्युतीय बस बुधबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि बस सञ्चालनमा ल्याइएको हो।
लुम्बिनी विकास कोषका प्रशासनिक अधिकृत चुडामणि भट्टराईले हाल दुईवटा रुटमा बस सञ्चालन गरिएको रातोपाटीलाई जानकारी दिए। उनका अनुसार एउटा बस बिहान बेलहियासम्म गएर फर्किएको छ भने अर्को बस तिलौराकोट र कुदानतर्फ सञ्चालन भइरहेको छ।
हालका लागि लुम्बिनी–विमानस्थल–बेलहिया र लुम्बिनी–तिलौराकोट–कुदान गरी दुईवटा रुट तय गरिएको कोषले जनाएको छ।
यसअघि लुम्बिनीमा रहेको चार्जिङ स्टेसन बिग्रिएका कारण विद्युतीय बस सञ्चालन हुन सकेका थिएनन्। सरकारी निर्देशनपछि मंगलबार राति चार्जिङ स्टेसन मर्मत गरेर बस सञ्चालनमा ल्याइएको हो।
बस सञ्चालन सुरु भए पनि तत्कालका लागि यात्रुबाट भाडा नलिइने बताइएको छ। यद्यपि, यात्रुले स्वेच्छाले दान बाकसमा रकम भने राख्न सक्नेछन्।
अधिकृत भट्टराईले सबै बस पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै आगामी दिनमा रामग्राम, देवदहलगायतका क्षेत्रमा पनि विद्युतीय बस सेवा विस्तार गरिने खुलाए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण