वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
सारांश
- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको छ।
- महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच भनाभन भएपछि कुँवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सार्वजनिक भएको छ।
- वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएका छन् भने पत्रकार कुँवरले वडाध्यक्षले दुर्व्यवहार गरेपछि प्रतिकार गरेको दाबी गरेकी छिन्।
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको छ।
आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच भनाभन भएपछि कुँवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
घटनालगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएका छन्। हाल कुँवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे पत्रकार कुँवरले भने फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि सुरुमा दुर्व्यवहार गरेकाले प्रतिकार गरेको दाबी गरेकी छिन्। नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाकी सदस्य रहेकी कुँवर संलग्न यस घटनापछि धेरै पत्रकारहरूले यो विषयमा चासो राखेका छन्।
धेरैजसो पत्रकारहरूले यो घटनामा पत्रकार कुँवरले आफ्नो पेसाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस घटनाले पत्रकारिता पेसामा आबद्ध भएका सम्पूर्ण पत्रकारहरूलाई समेत लज्जित बनाएको धेरैको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण