सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिम एसिया युद्ध : साइबर अपराधजन्य गतिविधिमा संलग्न ११ नेपाली पक्राउ

शुक्रबार, २० चैत २०८२, १७ : २४
शुक्रबार, २० चैत २०८२

सारांश

  • पश्चिम एसियामा जारी द्वन्द्वका विषयमा फेक न्युज र साइबर अपराधमा संलग्न ११ जना नेपाली पक्राउ परेका छन्।
  • परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई सङ्कटको समयमा स्थानीय कानुनको पालना गर्न आग्रह गरेको छ।

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको बारेमा त्यहीँ रहेर डर त्रास फैलाउने खालका फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न ११ जना नेपाली पक्राउ परेका छन् ।  

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न नहुन पटक पटक आग्रह गरिए पनि उनीहरू कुनै न कुनै रूपमा संलग्न रहेको पाइएपछि पक्राउ परेको सम्बन्धित देशले जानकारी गराएका हुन् । यद्यपि मन्त्रालयले पश्चिम एसियाका कुन देशबाट कति नेपाली श्रमिक पक्राउ परे भन्नेबारे भने खुलाएको छैन । 

मन्त्रालयका अनुसार अधिकांश नेपाली नागरिकले सरकारी निर्देशन र गाइडलाइनको पालना गरिरहेको देखिए पनि केही व्यक्तिहरूले नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका हुन् । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा जारी द्वन्द्व बारेमा त्रास फैलाउने उद्देश्यका सामग्री उत्पादन र प्रसारण नगर्न पटक पटक आग्रह गर्दै आएको बताए । डर वा भ्रम सिर्जना गर्ने फोटो, भिडियो वा अन्य सामग्री नबनाउन, त्यस्ता सामग्री सामाजिक सञ्जाल वा निजी सन्देशमार्फत पनि सेयर नगर्न आग्रह गरेको उनले बताए । 

सङ्कटको समयमा आफू बसेको देशका कानुन र सुरक्षा सम्बन्धी नियमको पूर्ण पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । उल्लङ्घन गरेमा ठुला जरिवाना, कैद सजाय तथा देश निकाला (डिपोर्ट) जस्ता कडा कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउने चेतावनी मन्त्रालयले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप