बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साहित्य

कल्पनाशीलता र विम्बको दृष्टिमा ‘धन्यवाद जिन्दगी’

शनिबार, २१ चैत २०८२, १५ : ००
शनिबार, २१ चैत २०८२

सारांश

  • रवि नेपालीद्वारा रचित 'धन्यवाद जिन्दगी' कवितासङ्ग्रहले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, प्रकृतिप्रेम र मानवतावादी भावलाई उजागर गरेको छ।
  • कवितासङ्ग्रहमा प्रकृतिको जीवन्त वर्णनका साथै राजनीतिक विसङ्गति, प्रेम, प्रणय र जननी-जन्मभूमिप्रतिको गहिरो सम्मानका भावहरू समेटिएका छन्।
  • कविले आफ्ना कवितामा सरल शब्दशिल्प, प्रतीक र बिम्बहरूको प्रयोग गर्दै जीवन दर्शनलाई परिपक्व ढङ्गले अभिव्यक्त गरेका छन्।

रवि नेपालीद्वारा रचित कवितासङ्ग्रह ‘धन्यवाद जिन्दगी’ भर्खरै आद्योपान्त पढी सिध्याएँ । एउटा कविका रूपमा रवि नेपालीलाई म लामो समय अर्थात् ०३६ सालदेखि चिन्दछु । उनको जिन्दगीको उतारचढाव धेरै नजिकबाट देखेको छु । उनको जिन्दगीको विषम उतारचढाव नै उनको कविता लेखनको भावभूमि हो भन्दा फरक नपर्ला ।

रवि नेपालीको व्यक्तिगत र काव्यगत विशेषता भनेको जिन्दगीका हरेक नकारात्मक र सकारात्मक मोडहरूलाई तटस्थ भावले आत्मसात् गर्नु हो र भविष्यप्रति आशावादी रहन सक्नु हो । उनी विगतप्रति तटस्थ रहे पनि भविष्यप्रति भने तटस्थ रहँदैनन् । उनी आफ्ना लागि होइन सम्पूर्ण मानवता र चराचरको निमित्त सुन्दर भविष्यको कल्पना गर्छन् र त्यसैको प्राप्तिका निमित्त भरमग्दुर प्रयत्न गर्छन्; निजी जीवनमा पनि र कवितामा पनि ।

तर जीवनयात्राका क्रममा नपाएका कुराहरूप्रति रवि नेपालीको कुनै गुनासो छैन । जिन्दगीप्रति उनी त्यति नै कृतज्ञ छन् । त्यसैले होला उनले कवितासङ्ग्रहको शीर्षक नै ‘धन्यवाद जिन्दगी’ राखेको । अपवादबाहेक उनका कविताहरूमा निराशाको स्थायी स्वर सुनिँदैन । प्रत्येक कविताले केही न केही आशा र भरोसाको सकारात्मक सन्देश दिइरहेका छन् । जस्तै, उदाहरणका निम्ति ‘एउटा तारा बिहानको’ कवितामा उनी लेख्छन्:

म भोरको तारालाई हेर्दै

कामना गर्छु

शुभ्र बिहानीको

मधुरतम विहग कलरवको

र सायद, सुखद भविष्यको ।

यस कवितामा कविले रात्रिको अन्धकारको वर्णन गर्दै गहन रात्रिपछि शुभ्र बिहान आउने र सुखद भविष्यको आशा गर्न छुटाएका छैनन् । रवि नेपालीको अर्को विशेष विशेषता भनेको उनी प्रकृतिका पूजक र प्रेमी हुन् ।

कवितासङ्ग्रहको भूमिकामा रवि नेपाली स्वयंले भनेजस्तै, ‘प्रकृति उनकी प्रेयसी हुन्, आमा हुन् र मन मिल्ने अत्यन्त घनिष्ठ साथी हुन् ।’ जब–जब उनको आत्मामा ठेस लाग्छ वा उनी आफूलाई अत्यन्त एक्लो अनुभूत गर्छन् अनि उनी एकान्त प्रकृतिको समीप जान्छन् । प्रकृतिमा विलीन हुन्छन् । फलस्वरूप उनको आत्माबाट प्रकृतिका अनेक रङ्ग र रूप समेटिएका सुन्दर कविताहरू प्रस्फुटन हुन्छन् ।

उदाहरणका रूपमा ‘मभित्रको म’ कवितामा कविले प्रकृतिको अद्भुत वर्णन गरेका छन् । उनी लेख्छन्:

मौनता छ चारैतिर

अगम्य निस्तब्धता

अवनि शान्त छ

वायु शान्त छ

आँखा सामुन्ने

फूलचोकी डाँडा

जुनेली रातमा

लमतन्न पसारिएको छ ।

यस कवितासङ्ग्रहमा प्रकृतिप्रेमका अतिरिक्त जीवन दर्शन, प्रेम–प्रणय, राजनीति, जननी–जन्मभूमिलगायतका विभिन्न विषयहरूमा लेखिएका कविताहरू समावेश गरिएका छन् । एउटा तारा बिहानको, रातो, झरीपोखरी, प्रकृति र म, सुन्दर सिमकोट, कर्णालीको किनारमा एक साँझ, सेती नदीको किनारमा आदि कविताहरूले प्रकृतिको जीवन्त, दुर्लभ एवं अनुपम वर्णन गरेका छन् ।

एउटा उदास चित्र, निस्सार जिन्दगी, केही गरी म मरिहालेँ भने, अँध्यारो रात, मानव जीवन, जीवन धुन, अँध्यारो रातमा, जीवन चक्र, म मुक्ति चाहन्छु, धन्यवाद जिन्दगी, बुद्धको वंशज, मभित्रको म, आत्मवञ्चना, आँसु, मेरो यात्रा अझै टुङ्गिएको छैन, इतिहास चक्र आदि कविताहरूले कविको जीवन र जगत्प्रतिको गहिरो चिन्तन र दृष्टिकोण उजागर गरेका छन् ।

वास्तवमा यी कविताहरूले कविको जीवन दर्शन अभिव्यक्त गरेका छन् । यी कविताहरूले कविलाई गहिरो मानवतावादीका रूपमा चित्रित गर्न खोजेका छन् । त्यसैगरी विश्वेश्वरप्रसाद कोइरालाप्रति, स्वतन्त्रताको प्रतीक, कृष्णको फेरि जन्म हुन्छ, मानौँ श्मशानमा छौँ हामी, एक दिन तिमीहरू कारागारमा हुनेछौ, आँधी आउनुपूर्वको चकमन्नता, नौलो बिहानी सङ्घारमै छ, पागल प्रलाप राजनीतिक धारका कविता हुन् । यी कविताले एकातिर कविको लोकतन्त्र र मानवताप्रतिको प्रगाढ आस्था झल्काउँछन् भने अर्कोतिर मुलुकको वर्तमान राजनीतिक दुरवस्थाप्रति गहिरो आक्रोश व्यक्त गर्दै देशमा आम जनविद्रोहका निमित्त प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भावभूमि तयार गर्न खोजेको देखिन्छ ।

यसर्थ यी कविताहरूले कविलाई विद्रोहीका रूपमा पस्केका छन् । खासगरी कृष्णको फेरि जन्म हुन्छ र एक दिन तिमीहरू कारागारमा हुनेछौ शीर्षक कविताहरूमा कविले मुलुकमा तत्काल विद्यमान दयनीय राजनीतिक अवस्थाप्रति आक्रोश व्यक्त गर्दै राजनीतिक नेतृत्वले त्यसका निमित्त भयावह परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

अनि, तिम्रो अवसान पनि हुनेछ

घिसारिएर

सडक र गल्लीहरूमा

फ्रान्सका तानाशाह सम्राट्

लुई चौधौँ जस्तै ।

००० ०००

मलाई थाहा छ

म निश्चित छु

संसारका हरेक भ्रष्ट तानाशाहहरू जस्तै

तिमीहरू पनि एक दिन ढल्छौ

तिमीहरूको पनि एक दिन अवसान हुन्छ

दुःखद अवसान

घृणित अवसान ।

०८२ भाद्र २३ र २४ गते मुलुकमा भएको उथलपुथलले कविको उक्त भविष्यवाणीलाई सत्य साबित गरिदिएको छ । आमा र मातृभूमि कविताहरूले कविको जननी–जन्मभूमिप्रतिको अथाह माया अभिव्यक्त गरेका छन् । आमा कवितामा कवि आमाप्रति अत्यन्तै भावुक देखिन्छन् ।

यस कवितामा कवि रवि नेपालीले ईश्वरभन्दा आमालाई ठूलो र सक्षम मानेका छन् । एउटा चरा एक्लो चरा, मायाको महासागर, जून र तिमी, तिम्रो मुहार, तिम्रो दिव्य मुहार, मायालु नजर, निरन्तर प्रतीक्षामा छु, आशाको ज्योति, मेरो मनको भित्तामा, मायाको पारावार, हिजो राति सपनामा, कुनै दिन मलाई सम्झ्यौ भने, हार्दिक कृतज्ञता कविताहरूले कविको प्रेम र प्रणयसँग सम्बन्धित भावुकता मर्मस्पर्शी रूपमा अभिव्यक्त गरेका छन् ।

जून र तिमी, तिम्रो दिव्य मुहार, हार्दिक कृतज्ञता आदि शीर्षक कविताहरूमा कविले आफ्नी जीवनसङ्गिनीप्रति अत्यन्त गहिरो भावुकता प्रदर्शन गरेका छन् । त्यस्तै नयाँ वर्ष २०२२; म कवि हुँ, कविता लेख्छु; तीन टुक्रा; कोइलीले फेरि गीत गाउनेछ; कविताहरूले विविध विषयहरूलाई सम्बोधन गरेका छन् ।

खासगरी कोइलीले फेरि गीत गाउनेछ कविताले सानो राष्ट्रको बाँच्न पाउने अधिकार र सार्वभौमिकताको पक्षपोषण गर्दै, ठूला राष्ट्रले सानो राष्ट्रप्रति गरेको थिचोमिचोको घोर भर्त्सना गरेको छ । र, अन्ततः सत्यको विजय हुने दृढ विश्वास छ ।

कवि रवि नेपालीले कवितालाई आफैँसँग आत्मलाप, सत्य उपासना र ईश्वर आराधना अर्थात् सत्यम्, शिवम्, सुन्दरम्‌को आत्मिक साक्षात्कार भनेका छन् । त्यसैगरी उनको कवितामा स्थानीयताको निकै प्रभाव परेको देखिन्छ, खासगरी उनको जन्मस्थान जलेश्वरको प्राकृतिक भावभूमि उनका धेरै कवितामा छरपस्ट छन्; जस्तै: झरीपोखरी, रातो, जलेश्वरमा नयाँ वर्ष आदि ।

यस कवितासङ्ग्रहका कविताहरूमा मनोरम शब्दशिल्पको प्रयोग भएको छ, जसले कविताहरूलाई अझ सुन्दर र पढौँ–पढौँ लाग्ने बनाएको छ । त्यस्तै यी कविताहरूमा कविले यथेष्ट मात्रामा प्रतीक, बिम्ब र रूपकहरूको पनि प्रयोग गरेका छन् । धेरै कविताहरू खासगरी प्रकृतिसँग सम्बन्धित कविताहरू चित्रात्मक छन् अर्थात् कविता पढ्दा प्रकृतिको तस्बिर झलझली आँखाअगाडि आउँछ ।

अधिकांश कविताहरू सरल र बोधगम्य छन् भने केही कविता बहुअर्थी पनि छन्; जस्तै: 'एउटा तारा बिहानको'ले सामान्य रूपमा प्रकृतिको र आशावादको वर्णन गरेको देखिन्छ भने गहिरिएर विश्लेषण गर्दा कवितामा राजनीतिको गहिरो रङ्ग पनि देखिन्छ ।

त्यस्तै 'तिम्रो खोजीमा' कविताको तीन अर्थ लगाउन सकिन्छ: ईश्वरको खोजी, प्रजातन्त्रको खोजी र प्रेमिकाको खोजी । कवितामा तत्सम, खासगरी संस्कृत र हिन्दी, शब्दहरूको प्राकृतिक/स्वाभाविक रूपमा प्रयोग भएको छ । यी शब्दहरूको प्रयोगले कविताहरू अझ सुन्दर त भएकै छन्, साथसाथै भाषासमेत धनी भएको छ । तर तत्सम शब्दहरूको अधिक प्रयोगलाई आलोचनात्मक ढङ्गले पनि समीक्षा गर्न सकिन्छ ।

कविताहरू लयात्मक रूपले चाहिँ अलिक कमजोर देखिन्छन्, जसकसैले यी कविताहरू सजिलोसँग लयात्मक रूपमा वाचन गर्न सक्दैनन् । प्रत्येक कवितामा सुन्दर, सान्दर्भिक तस्बिरहरूको प्रयोगले कवितासङ्ग्रहलाई पूर्णतामा लगेको छ । एकातिर यी तस्बिरहरू आफैँमा अत्यन्त आकर्षक छन् भने अर्कोतिर यिनले कविताको सन्दर्भ बुझ्न सहयोग गरेका छन् ।

कवि रवि नेपालीको यो प्रथम कृति भए तापनि यस कवितासङ्ग्रहमा विषयको विविधता, भावको गहिराइ र बिम्बको प्रयोग हेर्दा कवि अत्यन्तै परिपक्व भएको अनुभूति हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. स्थिरप्रसाद पराजुली
डा. स्थिरप्रसाद पराजुली
लेखकबाट थप