कांग्रेस संसदीय दलको नेता चयन नयाँ वर्ष लागेपछि मात्रै
सारांश
- नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष २०८३ लागेपछि मात्रै चयन गर्ने निर्णय गरेको छ।
- दलको नेता चयनका लागि प्रकाश स्नेही रसाइलीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ।
- कांग्रेसले निर्वाचन मार्फत वा सहमतिमा दलको नेता चयन गर्ने तयारी गरिरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ ।
त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाएका छन् । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । त्यो निर्वाचन समितिले नयाँ वर्ष २०८३ लागेपछि मात्रै दलको नेता चयन गर्ने बताएको हो ।
निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘पार्टीले दलको नेता चयन गर्ने जिम्मेवारी दिएको छ । नयाँ साल लागेपछि दलको नेता चयन गर्ने तयारी हाम्रो छ,’ संयोजक रसाइलीले रातोपाटीसँग भने ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । पार्टीको हैसियत प्रतिनिधि सभामा खुम्चिए पनि प्रमुख प्रतिपक्षी दलको हैसियत प्राप्त गरेकाले दलको नेतामा आकांक्षा धेरै सांसदले राखेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले पनि धेरैले आकांक्षा राखेका हुन् ।
अहिलेसम्म सांसदहरू भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, भरत खड्कासहितले दलको नेतामा आकांक्षा राखेको नेताहरू बताउँछन् । केसी र आङदेम्बेले त सार्वजनिक रूपमै दलको नेतामा दाबी स्वभाविक भएको बताएका छन् ।
गत पुसमा तत्कालिन सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको असहमतिबीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेपछि कांग्रेसमा विवाद छ । अहिले कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेको समूह गरी दुई समूह छन् ।
नेताहरूका अनुसार केसी विशेष महाधिवेशन पक्षधरको तर्फबाट र त्यसको विपक्षमा रहेको समूहबाट आङ्देम्बे बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।
तर, निर्वाचन समितिले भने सहमतिमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको देखिन्छ । संयोजक रसाइलीले पहिलो प्रयास सहमतिका लागि हुने जानकारी दिए ।
सांसदहरूका अनुसार सहमतिका लागि नेताहरूले अनौपचारिक छलफलसमेत सुरु गरेका छन् । आकांक्षीहरूमध्य प्रमुख सचेतक, उपनेता र प्रमुख प्रतिपक्षी दलले पाउने प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति बनाउने आश्वासन दिएर भए पनि मिलाउने प्रयास जारी रहेको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण