गम्भीर सङ्कट झेल्दै एसियाली जङ्गली हात्ती
सारांश
- एसियाली जङ्गली हात्तीको बासस्थान र जैविक मार्गहरू मानव निर्मित पूर्वाधार तथा सहरीकरणका कारण तीव्र गतिमा सङ्कुचित भइरहेका छन्।
- सन् १९८४ देखि २०२४ सम्मको तुलनात्मक अध्ययनले नेपालमा हात्तीको प्राकृतिक बासस्थान खण्डित हुँदा मानव-हात्ती द्वन्द्व बढेको देखाएको छ।
- संरक्षणकर्मीहरूले हात्तीको अस्तित्व जोगाउन वैज्ञानिक अध्ययन र अन्तर्राष्ट्रिय समन्वयसहित जैविक मार्गहरूको पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
एसियाली जङ्गली हात्ती विश्वको सबैभन्दा ठूलो स्थलचर स्तनधारी मध्ये एक हो । यो प्रजाति दक्षिण तथा दक्षिण–पूर्व एसियाका देशहरू— नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, म्यानमार र थाइल्यान्डमा पाइन्छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयुसिएन) ले यसलाई लोपोन्मुख श्रेणीमा सूचीकृत गरेको छ र यसको सङ्ख्या घट्दो क्रममा छ ।
एसियाली हात्तीको शारीरिक बनावट ठूलो र बलियो हुन्छ । भाले हात्तीको तौल चारदेखि पाँच हजार किलोग्रामसम्म हुन सक्छ भने पोथी हात्तीको आकार र तौल अलिक सानो हुन्छ । अफ्रिकी हात्तीको तुलनामा एसियाली हात्तीको कान सानो, ढाड हल्का उचालिएको र सुँडको टुप्पोमा एउटा औँलाजस्तो संरचना हुन्छ । भाले हात्तीमा प्रायः लामो दाह्रा देखिन्छ भने धेरैजसो पोथीमा सानो वा नदेखिने दाह्रा हुन्छ ।
यसको बासस्थान मुख्यतया सालको वन, मिश्रित वन, घाँसे मैदान तथा नदीतटीय क्षेत्र हुने गर्छ । वयस्क हात्तीले दैनिक करिब १५० किलोग्रामसम्म घाँसपात र वनस्पति खान सक्छ । त्यसैले पानीका स्रोत नजिकका वन क्षेत्र हात्तीका लागि महत्त्वपूर्ण हुन्छन् । एसियाली हात्ती अत्यन्तै सामाजिक जनावर हो । तिनीहरू समूहमा बस्छन्, जसलाई ‘हर्ड’ भनिन्छ ।

समूहको नेतृत्व प्रायः अनुभवी पोथीले गर्छिन् भने भाले हात्ती वयस्क भएपछि प्रायः समूह छोडेर एक्लै वा सानो समूहमा बस्ने गर्छन् । हात्तीको स्मरणशक्ति बलियो हुन्छ र तिनीहरूले ध्वनि, कम्पन तथा गन्धमार्फत सञ्चार गर्छन् । एसियाली जङ्गली हात्तीको विगतको भू–स्थानिक अवस्था (जिओग्राफिकल फिचर्स) को विश्लेषण गर्दा पश्चिम एसियादेखि दक्षिण तथा दक्षिण–पूर्वी एसियासम्मको विस्तृत भूभाग समेटिएको पाइन्छ । हालका दशकहरूमा यो धेरै हदसम्म खुम्चिन पुगेको छ ।
यस आलेखले हात्तीको भौगोलिक फैलावट समयक्रममा कसरी परिवर्तन भयो भन्ने बुझ्न केही आधारहरू प्रदान गर्छ ।
ऐतिहासिक रूपमा एसियाली जङ्गली हात्तीको वितरण क्षेत्र पश्चिमतर्फ सिरियाली अरब गणतन्त्र, इराक हुँदै इरानसम्म फैलिएको देखिन्छ भने ती क्षेत्रहरूबाट दक्षिण एसियातर्फ मार्ग विस्तारित हुँदै गएको देखिन्छ । यस विषयलाई हामीले ग्राफिक्स फोटोमा पनि हेर्न सक्छौँ । तस्बिरमा देखिएझैँ पहिले हात्तीको आवास क्षेत्र अत्यन्त व्यापक रहेको तर समयसँगै क्रमशः पूर्वतर्फ सीमित हुँदै गएको देख्न सकिन्छ ।
वर्तमान समयमा ती पश्चिमी देशहरूमा हात्तीको स्थायी उपस्थिति देखिँदैन । यसले ती क्षेत्रहरूमा हात्ती लोप भएको सङ्केत गर्छ ।
अहिले दक्षिण एसियामा भारत, नेपाल, भुटान, बङ्गलादेश र श्रीलङ्कामा हात्तीको वितरण क्षेत्र रहेको छ । भारतमा सबैभन्दा व्यापक वितरण रहेको छ, जसले भारतलाई एसियाली हात्तीको प्रमुख आवास क्षेत्रका रूपमा स्थापित गरेको छ । नेपालको सन्दर्भमा, दक्षिणी तराई क्षेत्रमा सीमित वितरण देखिन्छ, जसले सीमापार जैविक सम्बन्धको महत्त्वतर्फ सङ्केत गर्छ । यसैगरी श्रीलङ्काका छुट्टै टापुहरूमा पनि हात्तीको स्थायी उपस्थिति रहेको देख्न सकिन्छ ।
यसका साथै पूर्व तथा दक्षिण–पूर्व एसियातर्फ म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम र मलेसियासम्म ऐतिहासिक मार्ग विस्तार भएको छ । यी देशहरूमा पनि वर्तमान वितरण क्षेत्र देखिए तापनि क्षेत्रफलका हिसाबले साना खण्डहरूमा सीमित भएको पाइन्छ । इन्डोनेसियाका केही टापुहरूमा समेत वितरणको सङ्केत देखापरेको छ ।
चीनको दक्षिणी भागमा सीमित क्षेत्र मात्र बाँकी रहेको देखिन्छ । यसरी कुनै समय हात्तीको वितरण भू–स्थानिक आधारमा अत्यन्त व्यापक रहेको र अहिले आएर यसरी किन खुम्चियो भन्नेमा सबैको मूल प्रश्न केन्द्रित छ ।

- सन् १९८४–२०२४ को तुलनात्मक अध्ययन
यसै तथ्यलाई आधार मानेर नेपालको सन्दर्भमा एसियाली जङ्गली हात्तीको विगत तथा हालको भू–उपयोग तथा भू–आवरण (ल्यान्ड युज एन्ड ल्यान्ड कभर चेन्ज) को भौगोलिक सूचना प्रणाली (जीआईएस) तथा रिमोर्ट सेन्सर प्रयोग गरी सन् १९८४ र सन् २०२४ को समयलाई एसियाली जङ्गली हात्तीको वितरणको अवस्थासँग दाँजेर चित्रण गर्न खोजिएको छ ।
यी दुई समयावधिबीच झन्डै चार दशकको अन्तराल छ । यसमा भू–उपयोग, वन क्षेत्र तथा अन्य पूर्वाधार विकास तथा जैविक मार्ग (बायोलोजिकल कोरिडोर) मा आएको परिवर्तनलाई स्पष्ट रूपमा तुलना गर्ने जमर्को गरिएको छ ।
समग्र विश्लेषण गर्दा हात्तीको बासस्थान, वितरण ढाँचा र मानव गतिविधिबीचको सम्बन्धमा महत्त्वपूर्ण परिवर्तन देखिन्छ । सन् १९८४ को भू–उपयोगको तथ्याङ्कलाई केलाउँदा तराई क्षेत्रमा वन क्षेत्र अपेक्षाकृत सघन देखिन्छ । पश्चिमको शुक्लाफाँटा–बर्दिया क्षेत्रदेखि मध्यको चितवन–पर्सा हुँदै पूर्वको कोशी–झापा क्षेत्रसम्म हरियो वन क्षेत्र तुलनात्मक रूपमा जोडिएको अवस्थामा रहेको देखिन्छ ।
कृषि क्षेत्र विस्तार भए पनि वन क्षेत्रबीचको जैविक मार्ग तथा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको देखिँदैन । जैविक मार्गहरू स्पष्ट रूपमा पहिचानयोग्य र उच्चतम प्रयोगको अवस्थामा देखिन्छन्, जसले हात्तीलाई पश्चिमदेखि पूर्वसम्म आवागमन गर्न सहज वातावरण प्रदान गरेको सहजै अनुमान गर्न सकिन्छ ।

त्यस समयमा पूर्वाधार विकास (राजमार्ग, बस्ती, निर्मित क्षेत्र) सीमित भएकाले वन क्षेत्रको खण्डीकरण कम थियो । तर सन् २०२४ को स्थिति उल्लेखनीय रूपमा परिवर्तन भएको देखिन्छ । कृषि क्षेत्र व्यापक रूपमा फैलिएको छ र धेरै स्थानमा वन क्षेत्रलाई साना टुक्रामा विभाजन गरेको छ । निर्मित क्षेत्र तथा सडक सञ्जालको विस्तारले वन क्षेत्रभित्र प्रवेश गरी जैविक मार्गहरूलाई काटेको देखिन्छ ।
यसले हात्तीको प्राकृतिक आवासलाई सीमित बनाउँदै मानव–हात्ती द्वन्द्वको सम्भावना बढाएको सहजै विश्लेषण गर्न सकिन्छ । दुवै भू–उपयोग तथा आवरणलाई विश्लेषण गर्दा हात्तीको उपस्थिति अझै पनि तराई क्षेत्रमै केन्द्रित रहेको देखिन्छ । यस्तै सन् १९८४ मा देखिएको निरन्तर वन क्षेत्र २०२४ मा खण्डित र साँघुरो बनेको छ । जैविक मार्ग १९८४ मा तुलनात्मक रूपमा फराकिलो र कार्यशील अवस्थामा देखिए पनि २०२४ मा ती मार्गहरू धेरै स्थानमा कृषि विस्तार, राजमार्ग र पूर्वाधारले अवरुद्ध वा सङ्कुचित बनाएको छ ।
यसले हात्तीको मौसमी आवागमन, प्रजनन र आहार खोजी प्रक्रियामा अवरोध सिर्जना गरेको हुनसक्छ । संरक्षित क्षेत्रहरूको सन्दर्भमा, दुवै समयमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू प्रमुख आधारका रूपमा छन् । यद्यपि २०२४ मा संरक्षित क्षेत्र बाहिरका वन क्षेत्रमा उल्लेखनीय ह्रास देखिन्छ । मध्यवर्ती क्षेत्रको अवधारणा संरक्षणका दृष्टिले सकारात्मक भए पनि बाह्य क्षेत्रमा तीव्र भू–उपयोग परिवर्तनले संरक्षण प्रयासलाई चुनौती दिएको छ ।
सीमापार सन्दर्भमा, दक्षिणतर्फ भारतसँगको खुला सीमा हात्तीको आवागमनका लागि महत्त्वपूर्ण रहेको देखाउँछ । तर २०२४ मा सीमाक्षेत्र नजिकै पनि कृषि र बस्ती विस्तार बढेकाले सीमापार जैविक सम्पर्कमा थप दबाब परेको अनुमान गर्न सकिन्छ । समग्र तुलनात्मक विश्लेषण गर्दा सन् १९८४ देखि २०२४ सम्मको अवधिमा वन क्षेत्रको खण्डीकरण, कृषि तथा पूर्वाधार विस्तार र जैविक मार्गको सङ्कुचन प्रमुख परिवर्तनका रूपमा देखिन्छन् ।
हात्तीको वितरण अझै तराई क्षेत्रमा सीमित भए पनि बासस्थानको गुणस्तर र निरन्तरता कमजोर भएको सङ्केत देखिन्छ । यसले मानव–हात्ती द्वन्द्व बढ्नुका संरचनात्मक कारणहरू स्पष्ट पार्छ ।

- सन् १९८४ र २०२४ मा मध्य–तराईको अवस्था
सन् १९८४ मा नेपालको मध्य–तराई क्षेत्रमा प्राकृतिक प्रणालीहरू तुलनात्मक रूपमा कम विचलित थिए । त्यस समयमा, वन क्षेत्र निकै सघन र फैलिएको थियो, जसले चुरे पहाडदेखि दक्षिणको तराईसम्म एक अविच्छिन्न हरित क्षेत्र निर्माण गरेको थियो । यस्तैगरी कृषि क्षेत्र निश्चित क्षेत्रमा मात्र सीमित थियो र मानवीय बस्ती वा निर्मित क्षेत्रको उपस्थिति नगन्य प्रायः थियो ।
यस अवधिमा एसियाली जङ्गली हात्तीहरूको वितरण मुख्यतया संरक्षित क्षेत्रहरू र तिनीहरूलाई जोड्ने जैविक मार्गभित्रै केन्द्रित थियो । हात्तीहरूका लागि बर्दियादेखि चितवन र पर्सासम्मको आवतजावत तुलनात्मक रूपमा सुरक्षित थियो । वन क्षेत्रहरू एकआपसमा जोडिएका थिए । तत्कालीन समयमा हात्तीको प्राकृतिक बसाइँसराइ मार्गमा मानवीय अवरोधहरू निकै कम थिए, जसका कारण मानव–हात्ती द्वन्द्वको दर पनि न्यून रहेको पाइन्छ ।
सन् २०२४ सम्म आइपुग्दा, परिदृश्यमा पूर्ण परिवर्तन देखापरेको छ । सबैभन्दा ठूलो परिवर्तन निर्मित क्षेत्रको विस्तारमा देखिएको छ । पूर्व–पश्चिम राजमार्गको छेउछाउ र तल्लो तराईका समथर भूभागमा सहरीकरणको तीव्र लहरले गर्दा निर्मित क्षेत्रको घनत्व निकै बढेको छ । यो सहरीकरणले केवल कृषियोग्य जमिन मात्र ध्वस्त गरेको छैन, बरु वन क्षेत्रको सिमानालाई समेत खुम्च्याएको छ ।
सन् २०२४ को भौगोलिक तथ्याङ्क तथा हात्तीहरूका जीपीएस लोकेसनहरू वनको गहिराइमा भन्दा पनि वन र खेतीपातीको सिमानामा बढी केन्द्रित देखिएका छन् । यसले हात्तीहरू आफ्नो परम्परागत बासस्थानमा खाद्य र पानीको अभाव भएपछि वा बाटो अवरुद्ध भएपछि मानव बस्ती र कृषि क्षेत्रमा पस्न बाध्य भएको देखाउँछ ।
सन् १९८४ मा स्पष्ट देखिएका कतिपय जैविक मार्गहरू सन् २०२४ सम्म आइपुग्दा सडक, भवन र अन्य भौतिक पूर्वाधारका कारण खण्डित भएको प्रस्ट देख्न सकिन्छ ।
- सन् १९८४ र २०२४ मा पूर्वी तराईको अवस्था
सन् १९८४ को भौगोलिक सूचनामा आधारित तथ्याङ्कको लेखाजोखा गर्दा नेपालको मध्य र पूर्वी तराईमा वन क्षेत्र निकै सघन र निरन्तर देखिन्छ । त्यस समयमा, विशेष गरी बाँकेदेखि पर्सासम्म र कोशी टप्पु आसपासको क्षेत्रमा वनको घनत्व उच्च थियो र मानवीय बस्तीहरू निकै पातलो र राजमार्गका केही बिन्दुहरूमा मात्र सीमित थिए । तर सन् २०२४ सम्ममा आइपुग्दा परिदृश्य पूर्णतः बदलिएको छ । निर्मित क्षेत्र निकै बाक्लिएको छ । यसले तीव्र सहरीकरण र जनसङ्ख्याको चापतर्फ सङ्केत गर्छ ।
खेतीपातीको विस्तारले वनलाई साना टुक्राहरूमा विभाजन गरिदिएको छ । यो परिवर्तनले हात्तीहरूको परम्परागत बासस्थानलाई खण्डित मात्र गरेको छैन, बरु उनीहरूलाई साना सुरक्षित टापुहरूमा खुम्चिन विवश पारेको छ । यसका साथै हात्तीहरूको जीपीएसले समयक्रममा उनीहरूको विचरण क्षेत्रमा आएको परिवर्तनलाई प्रस्ट पार्छ ।

यसै क्रममा डा. नरेन्द्रमान बाबु प्रधानले महत्त्वपूर्ण धारणा प्रस्तुत गर्दै नेपालको सन्दर्भमा जैविक मार्ग व्यवस्थापनको आवश्यकता औँल्याए । उनका अनुसार नेपालको पूर्वी तराई क्षेत्रमा पनि पश्चिमी क्षेत्रमा जस्तै जङ्गली हात्तीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नका लागि जैविक मार्गको पहिचान, संरक्षण तथा व्यवस्थापन अत्यावश्यक छ ।
यसका साथै उनले जैविक मार्ग खोल्नुका साथै संरक्षणको दायरा झनै व्यापक बनाउनुपर्ने कुरामा जोड दिए । यही सन्दर्भमा उनले ‘अन्य प्रभावकारी क्षेत्र–आधारित संरक्षण उपायहरू’ को अवधारणा अगाडि सार्दै, संरक्षित क्षेत्र बाहिरका भूभागहरूमा पनि जैविक विविधताको दिगो संरक्षण गर्न सकिने सम्भावनालाई विशेष रूपमा उजागर गरे ।
सन् १९८४ मा हात्तीहरू मुख्यतया सुरक्षित वन र जैविक मार्गभित्रै बढी केन्द्रित थिए । तर २०२४ सम्म आइपुग्दा हात्तीहरू धेरै मात्रामा कृषि क्षेत्र र मानव बस्तीको नजिक पुगेको देखिन्छ । जैविक मार्गहरू, जसले विभिन्न राष्ट्रिय निकुञ्जहरूलाई जोड्ने पुलको काम गर्थे, अहिले गम्भीर सङ्कटमा छन् । मध्य–तराईको ‘बरन्डाभार’ र अन्य मार्गहरूबीचमा बाक्लो मानवीय संरचना र सडक सञ्जाल विकास भएकाले हात्तीहरूको बसाइँसराइको चक्र अवरुद्ध भएको छ ।
यसको सीधा असर हात्तीको प्रजनन र उनीहरूको वंशानुगत स्वास्थ्य प्रक्रियामा पर्ने देखिन्छ । तर विडम्बना, पछिल्ला केही दशकहरूमा तीव्र गतिमा बढ्दो वन विनाश, बासस्थान खण्डीकरण, कृषि क्षेत्रको अनियन्त्रित विस्तार, सडक, प्रसारण लाइन, बस्ती विस्तार जस्ता पूर्वाधार विकास तथा अवैध सिकारका कारण एसियाली जङ्गली हात्तीको अस्तित्व नै गम्भीर सङ्कटमा परेको छ । यी कारणहरूले गर्दा हात्तीको प्राकृतिक बासस्थान क्रमशः सीमित हुँदै गएको छ भने उनीहरूको परम्परागत आवतजावतका मार्गहरू अवरुद्ध हुँदै गएका छन् । यसको प्रत्यक्ष परिणामस्वरूप आज मानव–हात्ती द्वन्द्व एक जटिल र संवेदनशील समस्याका रूपमा देखापरेको छ ।
विशेषगरी तराई क्षेत्रका विभिन्न स्थानहरूमा हात्तीले बाली नोक्सानी पुर्याउने, घरटहरा भत्काउने तथा कहिलेकाहीँ मानवीय क्षतिसमेत हुने घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् । यसले स्थानीय समुदायमा भय र असुरक्षाको भावना बढाएको छ । इतिहास हेर्दा कुनै समय पश्चिम एसियादेखि दक्षिण तथा दक्षिण–पूर्व एसियासम्म व्यापक रूपमा फैलिएको एसियाली जङ्गली हात्ती अहिले लोपोन्मुख प्रजातिका रूपमा सङ्घर्ष गरिरहेको छ ।
हात्तीले आफ्नो अस्तित्व जोगाइराख्न परम्परागत रूपमा प्रयोग गर्दै आएको स्थलीय प्रवास मार्ग र तिनले जोड्ने पारिस्थितिक प्रणाली अत्यन्त महत्त्वपूर्ण छन् ।
यसै सन्दर्भमा संरक्षणकर्मी डा. अशोक रामले नेपालको जङ्गली हात्तीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार हाल नेपालमा करिब २०० देखि २५० को हाराहारीमा मात्रै जङ्गली हात्तीहरू बाँकी छन् । दीर्घकालीन संरक्षणका दृष्टिबाट यो सङ्ख्या निकै संवेदनशील हो । पछिल्लो एक दशकमा मात्रै विभिन्न कारणहरू, जस्तै मानव–हात्ती द्वन्द्व, बासस्थानको ह्रास तथा खण्डीकरण, अवैध सिकार, विद्युत् करेन्ट, दुर्घटना तथा अन्य मानवजन्य तथा प्राकृतिक जोखिमहरूका कारण करिब ४० देखि ५० वटा जङ्गली हात्तीहरूको मृत्यु भइसकेको तथ्य छ ।
यस्तो अवस्था निरन्तर कायम रहिरहेमा आगामी केही दशकभित्र नेपालका जङ्गली हात्तीहरू अति सङ्कटापन्न प्रजातिमा दरिन पुग्ने गम्भीर जोखिम रहेको उनको भनाइ छ । यसले केवल हात्तीको अस्तित्वमै प्रश्न उठाउने मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने भएकाले समयमै प्रभावकारी संरक्षण रणनीति, नीतिगत सुधार तथा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म समन्वयको खाँचो छ ।

यी मार्गहरू केवल हात्तीको आवतजावतका लागि मात्र नभई समग्र जैविक विविधता र पारिस्थितिक सन्तुलनका लागि पनि आधारभूत कडीका रूपमा काम गर्छन् । त्यसैले यी मार्गहरूको संरक्षण र वैज्ञानिक विश्लेषण आगामी दिनमा झनै महत्त्वपूर्ण बन्नेछ । नेपालको सन्दर्भमा हेर्दा कपिलवस्तु–बुटवल क्षेत्रबाट सुरु भई चितवन हुँदै कोशीटप्पु र झापासम्म फैलिएको हात्तीको ऐतिहासिक स्थलीय प्रवास मार्ग अहिले अत्यधिक बस्ती विस्तार, औद्योगिक क्षेत्रको विकास, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणका कारण लगभग अवरुद्ध हुने अवस्थामा पुगेको देखिन्छ ।
यसरी अनियन्त्रित रूपमा बढेको निर्मित क्षेत्रले हात्तीको आवतजावतलाई गम्भीर रूपमा प्रभावित पारेको छ । यस्तो अवस्थामा भविष्यमा यसबाट उत्पन्न हुने वातावरणीय तथा सामाजिक समस्याको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न पनि उठ्न थालेको छ । यदि आजैदेखि यस विषयमा ठोस योजना र दीर्घकालीन सोच निर्माण गरिएन भने भोलिका दिनमा मानव र वन्यजन्तुबीचको द्वन्द्व झनै तीव्र बन्ने निश्चित छ ।
यसैगरी संरक्षणकर्मी डा. दिनेश न्यौपाने भन्छन्, ‘नेपालमा करिब १२ प्रतिशत क्षेत्र मात्र जङ्गली हात्तीका लागि उचित बासस्थान रहेको र हालको अवस्थाले यस्तो उपयुक्त बासस्थान क्रमशः घट्दै गएको सङ्केत गर्छ । भूदृश्य सम्पर्कताका दृष्टिकोणले हेर्दा एसियाली जङ्गली हात्तीहरू पश्चिम र सुदूरपश्चिम क्षेत्रभित्र तथा बीचमा उच्च स्तरको सम्पर्कता देखिन्छ । यसले ती क्षेत्रहरूलाई तुलनात्मक रूपमा स्थिर र जोडिएको प्रणालीका रूपमा देखाउँछ । तर केन्द्रीय र पूर्वी जङ्गली हात्तीहरूबीच सम्पर्कता भने अत्यन्त न्यून स्तरमा सीमित रहेको स्वीकार गर्छन् ।’
यद्यपि, केन्द्रीय तथा अन्य क्षेत्रका जङ्गली हात्तीहरूबीचको सम्पर्कता पुनर्स्थापना सम्भव रहेको र यसका लागि दीर्घकालीन रणनीतिक प्रयास आवश्यक पर्ने कुरा पनि औँल्याइएको छ । यस क्षेत्रको भूदृश्य सम्पर्कता दिगो रूपमा कायम राख्न र थप सुदृढ गर्न नेपाल र भारतका सम्बन्धित निकायहरूबीच प्रभावकारी सहकार्य र समन्वय अत्यावश्यक रहेको देखिन्छ । यस्तो सहकार्य सफल भएमा यसले हात्ती मात्र नभई समग्र वन्यजन्तु संरक्षणमा उल्लेखनीय सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
नेपाल अहिले विकासको प्रारम्भिक चरणमा रहेको देश हो, जहाँ भौतिक पूर्वाधार निर्माण र आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउने प्रयास भइरहेको छ । तर यदि अहिलेको अवस्थामै हामीले यस्तो चुनौती सामना गरिरहेका छौँ भने भविष्यमा अझ व्यापक विकाससँगै यसले कस्तो रूप लिने हो भन्ने चिन्ता स्वाभाविक रूपमा उत्पन्न हुन्छ । त्यसैले हामीले विकास र संरक्षणबीच सन्तुलन कायम गर्न कहाँ चुक्यौँ भनी गम्भीर आत्ममूल्याङ्कन गर्ने समय आएको छ ।
समय अझै घर्किसकेको छैन । जहाँ अत्यधिक निर्माण कार्य भएका छन् र राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनमा छन्, त्यस्ता क्षेत्रमा सूक्ष्म अध्ययन, वातावरणीय मूल्याङ्कन तथा दीर्घकालीन प्रभावको विश्लेषण अनिवार्य रूपमा गर्नुपर्ने आवश्यकता देखिन्छ ।
यस समस्याको समाधानका लागि सरकार, संरक्षण संस्था, अनुसन्धानकर्ता, स्थानीय समुदाय तथा अन्य सरोकारवाला निकायहरू सबैले साझा प्रयास गर्न आवश्यक छ । यदि सबैले साझा पहल नलिने हो भने सङ्कट झनै चुलिँदै जाने निश्चित छ । हाम्रो विगतको अनुभवले हामीले प्रयास गर्यौँ भने सक्छौँ भन्ने महत्त्वपूर्ण उदाहरणहरू प्रशस्त छन् ।

यसका लागि व्यापक अध्ययन तथा अनुसन्धान सुरु गर्दै भू–समायोजन र भू–एकीकरण जस्ता योजनागत उपायहरूको प्रयोग गरी अवरुद्ध भएका जैविक मार्गहरू पुनःस्थापित गर्ने सम्भावनालाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ । जबसम्म हालसालै भएका भू–उपयोग परिवर्तन र भू–व्यवस्थापनका उपायहरूबीच समन्वय स्थापित हुँदैन, तबसम्म मानव र हात्तीबीचको द्वन्द्व निरन्तर भइरहने सम्भावना रहन्छ । विशेषगरी बुटवलदेखि चितवनसम्मको ऐतिहासिक प्रवास मार्गमा भएको भू–उपयोग परिवर्तनको विस्तृत अध्ययन गरी आवश्यक समायोजन गर्न सकेमा यस समस्याको दीर्घकालीन समाधान खोज्न सकिन्छ ।
तर यति हुँदाहुँदै पनि यस विषयलाई गम्भीरतापूर्वक नलिएर ठोस नीति तथा व्यावहारिक कदम चाल्न ढिलाइ गर्ने हो भने निकट भविष्यमा एसियाली जङ्गली हात्ती नामेट भएको हामीले नै देख्नुपर्ने हुन्छ । त्यसैले आवश्यक छ त व्यावहारिक नीति, वैज्ञानिक अध्ययन र दीर्घकालीन व्यवस्थापन । एसियाली जङ्गली हात्ती केवल जैविक विविधताको एउटा प्रजाति मात्र होइन, यो हाम्रो सांस्कृतिक, ऐतिहासिक र पारिस्थितिक सम्पदाको अमूल्य हिस्सा पनि हो ।
यसको संरक्षण गर्नु भनेको केवल एउटा प्रजाति जोगाउनु मात्र होइन, समग्र पारिस्थितिक सन्तुलन कायम राख्नु तथा भावी पुस्ताका लागि प्रकृतिको अमूल्य सम्पदा हस्तान्तरण गर्नु पनि हो ।
(विष्णु महर्जन नेपाल खुला विश्वविद्यालयका प्राध्यापक हुन् भने सरोज घिमिरे एनईए इन्जिनियरिङ वातावरण महाशाखाका कार्यवाहक प्रमुख हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण