मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
सारांश
- मोहमद सलाहले एक गोल र एक असिस्ट गरेपछि इजिप्टले विश्वकपमा ऐतिहासिक पहिलो जित निकालेको छ।
- न्युजिल्यान्डले सुरुवाती अग्रता जोगाउन नसक्दा इजिप्टसँग ३-१ गोलले पराजित भयो।
- यो जितसँगै इजिप्ट विश्वकपको नकआउट चरण नजिक पुगेको छ।
काठमाडौँ । स्टार स्ट्राइकर मोहमद सलाहले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
सुरुवाती अग्रता जोगाउन नसक्दा न्युजिल्यान्ड इजिप्टसँग ३-१ गोल अन्तरले पराजित भएको हो। यो ऐतिहासिक जितसँगै इजिप्ट पहिलोपटक विश्वकपको नकआउट चरण नजिक पुगेको छ।
खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सुरम्यानले टिम पेनको उत्कृष्ट कर्नर बललाई हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यस गोलसँगै प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने दाउमा रहेको न्युजिल्यान्डको सपनामाथि इजिप्टले दोस्रो हाफमा पानी फेरिदियो। आफ्नो पहिलो खेलमा इरानसँग पनि दुई पटकको अग्रता गुमाएर बराबरी खेलेको न्युजिल्यान्डले यस खेलमा पनि पुरानै गल्ती दोहोर्यायो।
इजिप्टका प्रशिक्षक होसाम हसनको रणनीतिक परिवर्तन खेलको दोस्रो हाफमा निकै प्रभावकारी देखियो। इजिप्टले दोस्रो हाफको २४ मिनेटभित्रै तीन गोल फर्काउँदै समूह ‘जी’ को शीर्ष स्थानमा कब्जा जमायो। खेलको ५८औँ मिनेटमा मोहमद हानीको क्रसलाई महान् ब्राजिलियन खेलाडीको नामबाट चिनिएका मोस्तफा जिकोले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
त्यसपछि मोहमद सलाहले पेनाल्टी एरियाभित्र जिकोसाग सुन्दर ‘वान-टु’ पास खेल्दै बललाई पोस्टको तल्लो कुनामा प्रहार गरेर इजिप्टलाई २-१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा लिभरपुलका पूर्व फरवार्ड समेत रहेका सलाहकै कर्नर पासमा वैकल्पिक खेलाडी त्रेजेगुएले हेडमार्फत तेस्रो गोल गरेपछि इजिप्टको जित पक्का भएको थियो।
सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टको चौथो विश्वकप सहभागितामा यो नै पहिलो जित हो। अब आउँदो शनिबार हुने खेलमा इरानलाई पराजित गरे इजिप्ट समूह विजेता बन्नेछ। अर्कोतर्फ, विश्वकपमा आफ्नो पहिलो जितको खोजीमा रहेको न्युजिल्यान्डले अघिल्लो चरण प्रवेशका लागि अब बेल्जियमविरुद्धको खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण