सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली श्रमिकहरूले थप बिल र रसिद देखाउनु पर्दैन : अध्यागमन विभाग

आइतबार, २९ चैत २०८२, ०८ : १०
आइतबार, २९ चैत २०८२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनाका कारण श्रमिकहरूमा उब्जिएको अन्यौलता चिर्दै अध्यागमन विभागले यस्तो प्रष्ट पारेको हो।

अध्यागमन विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको छ। पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले बिल र रसिद समेत बोक्नुपर्ने हल्ला फैलिएपछि विमानस्थलमा भिडभाड र अन्यौलता बढेको थियो। विभागले प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णय अनुसार श्रमिकहरूलाई प्रस्थान अनुमति दिँदा अतिरिक्त झन्झट नदिइने स्पष्ट पारेको छ।

यस्तै, भिजिट भिसामा विदेश जाने नागरिकहरूको हकमा पनि प्रक्रियालाई सरलीकृत गरिएको छ। अब भिजिट भिसामा जानेहरूले कम्तीमा ६ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सजिलै यात्रा गर्न सक्नेछन्। यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न अनावश्यक कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको निर्णयले हटाएको थियो।

अध्यागमन विभागले कुनै पनि किसिमको भ्रममा नपर्न र आफ्नो गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भएर निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। कागजातका नाममा विमानस्थलमा हुने अनावश्यक सास्ती कम गर्न र यात्रालाई व्यवस्थित बनाउन यो कदम चालिएको विभागले जनाएको छ।

668557342_1874587453385457_4771966198196094181_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप