मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व सम्पदा दिवस : बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी

शनिबार, ०५ वैशाख २०८३, १५ : ५१
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • विश्व सम्पदा दिवसको अवसरमा बुटवलमा स्थानीय सीप, कला र उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ।
  • बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले स्थानीय सीपलाई शिक्षासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
  • प्रदर्शनीमा ५० वटा स्टलमार्फत स्थानीय उत्पादन, हस्तकला र मौलिक परिकारहरू प्रदर्शन गरिएको छ।

बुटवल । विश्व सम्पदा दिवसको अवसर पारेर बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिएको छ। ‘हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान—स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको सहकार्यमा बुटवल उपमहानगरपालिका–६ स्थित पुरानो फिल्म हल परिसरमा प्रदर्शनी आयोजना गरिएको हो।

स्थानीय सीप, कला तथा उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले स्थानीय सीपलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताए । उनले रैथाने कला–संस्कृतिको संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

पाण्डेले नेपालका रैथाने उत्पादनहरूमा गुणस्तरीयता कायम राख्दै ब्रान्डिङ र बजार विस्तार गर्न सके अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए। यसका लागि सरकारी नीतिगत सहयोग, निजी क्षेत्रको लगानी, सहकारीको सहभागिता र समुदायको सक्रियता आवश्यक पर्ने उनको भनाइ थियो।

butwal-pradarsan (2)

प्रदर्शनीमा हस्तकला तथा स्थानीय उत्पादनका करिब ५० वटा स्टल राखिएका छन् भने मौलिक खाना परिकारसमेत समावेश गरिएको छ। प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रेवन्त बहादुर विश्वकर्माले जानकारी दिए।

शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा.मानबहादुर विकले काठमाडौँ बाहिर पहिलोपटक बुटवलमा यस्तो प्रदर्शनी आयोजना गरिएको बताए । उनले यस पटक एक दिने कार्यक्रम भए पनि आगामी दिनमा यसलाई बहुदिने बनाउने योजना रहेको उल्लेख गरे।

खस्यौली बजारका निर्देशक समुन्द्र घिमिरेले स्थानीय उत्पादक र उपभोक्ताबिच पुलको भूमिका खेलेको बताए। उनले स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिँदै कारोबार छुट्टाछुट्टै हुने भएकाले कुल कारोबार यकिन गर्न कठिन हुने बताए। मेलामा बुटवल तथा आसपासका विभिन्न उत्पादकहरूले आफ्ना सामग्री बिक्रीका लागि प्रदर्शनमा राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप