आधा सिलिण्डर बेच्दा ग्यास स्टक बढ्यो, भरी सिलिण्डर बेच्न के छ निगमको योजना ?
सारांश
- नेपाल आयल निगमले बजारमा ग्यासको मौज्दात पर्याप्त भए पनि तत्काल १४.२ केजीको पूर्ण सिलिन्डर बिक्री गर्ने पक्षमा नरहेको जनाएको छ।
- अन्तर्राष्ट्रिय बजारको अनिश्चितता र आपूर्तिमा आउन सक्ने अवरोधलाई मध्यनजर गर्दै निगमले हाललाई ७.१ केजीकै आधा सिलिन्डरलाई निरन्तरता दिने भएको छ।
- उद्योगीहरूले पूर्ण सिलिन्डर बिक्रीका लागि दबाब दिए पनि निगमले जोखिम मोल्न नचाहेको र वास्तविक तथ्याङ्कको विश्लेषण भइरहेको स्पष्ट पारेको छ।
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को मौज्दात पर्याप्त रहेको चर्चा चलिरहँदा नेपाल आयल निगमले भने तत्कालै १४.२ केजीको पूर्ण (फुल) सिलिन्डर बिक्री सुरु गर्ने पक्षमा नरहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता र आपूर्तिको सुनिश्चितता नभएको भन्दै निगमले हाल प्रचलनमा रहेको ७.१ केजीकै आधा सिलिन्डरलाई निरन्तरता दिने जनाएको छ ।
उद्योगीहरूले ग्यास बुलेटमै थन्किएको र स्टक धेरै भएको दाबी गरे पनि निगमले भने परिस्थितिको पूर्ण विश्लेषण नभई नयाँ निर्णय नगर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण ग्यास आपूर्तिको चक्र जुनसुकै बेला पनि प्रभावित हुन सक्ने उनको भनाइ छ । प्रवक्ता ठाकुरले भने, ‘अहिले १४.२ केजीको सिलिन्डर बजारमा पठाउने बित्तिकै माग ह्वात्तै बढ्छ । यदि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्तिमा अवरोध आयो भने त्यसको ग्यारेन्टी कसले गर्ने ?’
उनका अनुसार हाल ७.१ केजीको सिलिन्डरले उपभोक्ताको माग धानिरहेको र उपभोक्ताबाट पनि कुनै खासै गुनासो नआएकाले निगम अहिले नै जोखिम मोल्ने पक्षमा छैन ।
ग्यास उद्योगीहरूले स्टक धेरै भएको भन्दै पूर्ण सिलिन्डर बिक्री खुला गर्न निगमलाई दबाब दिइरहेका छन् । तर, निगमले भने उद्योगमा ग्यास थन्किनुको कारण र वास्तविक तथ्याङ्कको खोजी भइरहेको जनाएको छ ।
निगमका अनुसार अप्रिल महिनाको १५ दिनमा मात्रै करिब १८ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ । यसअघि मासिक ४०–५० हजार टन ल्याउँदा पनि बजारमा ग्यास अभाव भएको अनुभवलाई स्मरण गर्दै निगमले अहिलेको सहज अवस्थालाई बिग्रन नदिने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगी क्षेत्रका बासिन्दाद्वारा जीवन रक्षाको माग
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण