विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
सारांश
- त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागले विद्यालय पाठ्यक्रममा मानसिक स्वास्थ्य, शिष्टाचार र नैतिक शिक्षा समावेश गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
- पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले यो विषय सान्दर्भिक भएको भन्दै पाठ्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।
- केन्द्रका निर्देशकहरूले कक्षा ९ मा मानसिक स्वास्थ्यको पाठ समावेश भइसकेको र नैतिक शिक्षा तथा शिष्टाचारलाई अन्य विषयको मूल्याङ्कन र अभ्यासमा समेट्न सकिने बताए ।
काठमाडौँ । मानसिक स्वास्थ्य, शिष्टाचार र नैतिक शिक्षासम्बन्धी विषयवस्तु विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न आग्रह गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई ज्ञापन पत्र बुझाइएको छ ।
त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठ र शाखा अधिकृत नोदनाथ त्रितालले सो ध्यानाकर्षण पत्र महानिर्देशक पौडेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत निर्देशकहरू विजयराज बढू र कमलप्रसाद मिश्र तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्नुहुँदै महानिर्देशक पौडेलले अत्यन्तै सान्दर्भिक विषय उठान गरेको भन्दै उपयुक्त विषयमा ती विषयवस्तुहरू समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।
केहि विषयवस्तु समावेश भइसकेको र कुनै कुराहरू अपुग भएको देखिएमा परिमार्जनको क्रममा थप गरिने उनले बताए । त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख श्रेष्ठले मानसिक स्वास्थ्यको विषय विद्यालयस्तरदेखि नै अति आवश्यक भएकोले विभागले पाठ्यक्रममा समावेश गर्न आग्रहसहित ध्यानाकर्षण गराएको बताए ।
केन्द्रका निर्देशकहरूले कक्षा ९ मा मानसिक स्वास्थ्यको पाठ नै समावेश भइसकेको र मनोसामाजिक परामर्शसम्बन्धी विषय समेत पाठ्यक्रमले समेटेर परिमार्जित रूपमा ल्याइएको बताए । हाम्रो सेरोफेरो विषयबाट नै नैतिक शिक्षाको प्रारम्भिक ज्ञान समावेश गरिएको हुँदा नैतिक शिक्षा र शिष्टाचारको विषयवस्तु अलग्गै पाठ्यक्रम बनाउने भन्दा पनि हरेक अनिवार्य विषयको अडिट गर्दा नैतिक दृष्टिकोणबाट मूल्याङ्कन गर्न सकिने र प्रत्येक भाषागत विषयको प्रयोगात्मक कक्षाहरूमा शिष्टाचार र मानसिक स्वास्थ्यका विषयवस्तुलाई अभ्यासमा समावेश गर्न सकिने धारणा व्यक्त गरे ।
महानिर्देशक पौडेलले पाठ्यक्रमहरू थप अध्ययन गरी सुझाव भएमा उपलब्ध गराउन र आफूहरूले त्यसलाई सकारात्मक रूपमा सम्बोधन गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण