सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीको क्लिक र कीस्ट्रोक ट्र्याक गरेर एआईलाई तालिम दिँदैछ मेटा

बुधबार, ०९ वैशाख २०८३, ११ : ४५
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • मेटाले आफ्ना कर्मचारीहरूको कीस्ट्रोक र माउस क्लिक ट्र्याक गरेर एआई मोडेलहरूलाई तालिम दिन सुरु गरेको छ।
  • कम्पनीले एआई एजेन्टहरूलाई मानिसको काम गर्ने वास्तविक तरिका सिकाउन यो नयाँ कदम चालेको हो।
  • कर्मचारीको निगरानीप्रति असन्तुष्टि व्यक्त गर्दै केहीले यसलाई डिस्टोपियन कदम भनी आलोचना गरेका छन्।

क्यालिफोर्निया । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मसले आफ्ना कर्मचारीहरूको कम्प्युटर प्रयोग गर्ने तरिकाहरु कीबोर्डका कीस्ट्रोक र माउस क्लिक आदि ट्र्याक गरेर आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई तालिम दिन सुरु गर्ने भएको छ । फेसबुक र इष्टाग्रामको मालिक रहेको कम्पनीले मंगलबार कर्मचारीहरूलाई जानकारी दिँदै नयाँ टुलमार्फत उनीहरूको गतिविधि रेकर्ड गरिने बताएको हो । उक्त डाटा एआई प्रणाली सुधार गर्न प्रयोग गरिने जनाइएको छ ।

कम्पनीका प्रवक्ता भन्छन्, “यदि हामीले कम्प्युटर प्रयोगमा मानिसलाई हरेक दिनको काममा सहयोग गर्ने एआई एजेन्ट बनाउँदैछौं भने, हाम्रो मोडलले मानिसहरूले साँच्चै कसरी काम गर्छन् भन्ने वास्तविक उदाहरण चाहिन्छ ।” डाटा अन्य प्रयोजनका लागि प्रयोग नहुने र संवेदनशील सामग्री सुरक्षित राख्न सुरक्षात्मक उपाय अपनाइएको बताइएको छ । 

तर मेटाका केही कर्मचारीहरूले यस कदमप्रति असन्तुष्टि जनाएका छन् । कम्पनीमा थप रोजगारी कटौतीको आशंका बढिरहेका बेला गर्न लागिएको यस्तो निगरानीलाई नाम नखुलाउने सर्तमा एक कर्मचारीले डिस्टोपियन भनेका छन् । अर्को एक पूर्वकर्मचारीले पनि यो कदमलाई जबर्जस्ती एआई थोपर्ने प्रयास भनेका छन् ।

यस वर्ष मात्र कम्पनीले करिब २ हजार कर्मचारी कटौती गरिसकेको छ । आगामी महिनाहरूमा थप कटौती हुन सक्ने अनुमान गरिएको छ । साथै हालै आंशिक रूपमा लागू गरिएको भर्ती रोक अझ कडा भएको संकेत देखिएको छ । मार्चमा सूचिमा करिब ८०० नयाँ कर्मचारीको माग रहेकोमा अहिले यो सात वटामा झरेको छ । 

यो नयाँ ट्र्याकिङ टुललाई “मोडल क्यापाबिलिटी इनिशियटिभ” (एमसीआई) नाम दिइएको छ, जसबारे पहिलोपटक रोयटर्सले समाचार छापेको थियो । यद्यपि कम्पनीसँग कर्मचारीको गतिविधिमा पहुँच पहिलेदेखि नै रहेको भए पनि एआई तालिमकै उद्देश्यले व्यवस्थित रूपमा ट्र्याकिङ गर्ने अभ्यास नयाँ हो ।

कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गले हालै एआई क्षेत्रमा लगानी तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् । सन २०२६ मा मात्रै कम्पनीले एआईमा करिब १४० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । यसअघि २०२५ मा कम्पनीले स्केल एआईमा १४ अर्ब डलर लगानी गर्दै त्यसका केही उच्च अधिकारीहरूलाई पनि आफ्नो एआई टोलीमा ल्याएको थियो ।

नयाँ संरचना अन्तर्गतको “मेटा सुपरइन्टेलिजेन्स ल्याब्स”बाट हालै “मेटा स्पार्क” नामक एआई मोडेल सार्वजनिक गरिएको छ । अब कर्मचारीहरूको ट्र्याकिङबाट सङ्कलित डाटाले आगामी एआई प्रणालीहरू अझ उन्नत बनाउनसहयोग गर्ने अपेक्षा गरिएको छ । जनवरीमा जुकरबर्गले २०२६ लाई “एआईले काम गर्ने तरिका नै बदल्ने वर्ष” हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप