शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सङ्घका ऐनबिच बाझाबाझ हुने ‘२५९’ सच्याउन रास्वपालाई प्रतिपक्षी दलको आग्रह

बुधबार, ०९ वैशाख २०८३, १६ : ३८
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको नियम २५९ सच्याउन रास्वपालाई आग्रह गरेका छन्।
  • सङ्घीय कानुनसँग बाझिने र फौजदारी ऐनमा असर पर्ने प्रावधान हटाउन विपक्षी दलका सचेतकहरूले रास्वपाका सचेतकसँग छलफल गरेका हुन्।

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदनमा राखिएको नियम ‘२५९’लाई सच्याउने पहल कदमी लिन आग्रह गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालले बुधबार बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीलाई विपक्षी दलका प्रमुख सचेतकहरूले त्यस्तो आग्रह गरेका हुन् ।  बुर्लाकोटीलाई नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली, नेकपा (एमाले) का सांसद गुरु बराल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालसहितले सङ्घका ऐनसँग बाझाबाझ हुने प्रावधान नराख्न आग्रह गरेका हुन् ।

भेटमा सहभागी नेकपामा प्रमुख सचेतक दुलाले कार्यसम्पादन नियमावलीको नियम २५९ मा राखिएको प्रावधान हटाउन पहल गर्न बुर्लाकोटीलाई आग्रह गरिएको जानकारी दिए ।

‘नियमावलीको नियम २५९ त्यसरी नराखौँ । यसरी राख्दा सङ्घका ऐनबिच बाझाबाझ हुन्छ । फौजदारी ऐनमा पनि बाधा पर्छ,’ आफूहरूले बुर्लाकोटीलाई भनेको उद्धृत गर्दै दुलालले रातोपाटीसँग भने, ‘मस्यौदालाई नियमावली बनाउँदा यो विषय नराखौँ । सभामुखसँग छलफल गरेर हटाउन पहल गर्नुस् । सङ्घीय कानुन बराबर नराखौँ । राम्रो गर्दैन ।’

विपक्षी दलका सांसदले रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीसँग त्यसबारे छलफल चलाउन आग्रह गरेका हुन् । रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका गणेश पराजुली सभापति रहेको समितिले नियमावलीमा २५९ थप गरेको छ । जसमा नियमावली सङ्घीय कानुनको रूपमा रही कानुन सरह रहने उल्लेख छ ।

‘प्रचलित कानुनमा जे सुकै लेखिएको भएता पनि सभा, समिति र सदस्यहरूको हकमा यो नियमावली सङ्घीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुनेछ,’ २५९ (१) मा लेखिएको छ ।

त्यस्तो उपनियम २ मा यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारका रूपमा रहने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप