विश्व औलो दिवस: नवलपरासी पूर्वमा सात जना औलोका बिरामी भेटिए
सारांश
- नवलपरासीमा चालु आर्थिक वर्षमा सात जना औलोका बिरामी भेटिएका छन्।
- यी बिरामी भारतबाट फर्केका पुरुष हुन् र आयातित केसहरू हुन्।
- विश्व औलो दिवस वैशाख १२ गते मनाइँदै छ, यस वर्षको नारा 'औलो अन्त्य हाम्रो संकल्प' रहेको छ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म सात औलो (मलेरिया) का बिरामी भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार चालु आर्थिक वर्षमा भेटिएका ती औलो रोगी भारतमा रोजगारी गरी फर्किएका पुरुष छन् ।
ती बिरामीमध्य भारतसँग सीमा जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा चार रहेका छन् भने हुप्सेकोट गाउँपालिका र गैँडाकोट नगरपालिका एक, एक रहेका छन् । जिल्लामा विगतका वर्ष देखिनै औलो शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।
“भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औलो रोग पत्ता लाग्ने बिरामी बर्सेनि देखिएको छ,” उनले भने, “यहाँ नै औलो लागेको बिरामी भेटिएको छैन ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आर्थिक वर्ष २०७७/०७८ मा तीन, २०७८/०७९ र २०७९/०८० मा छ/छ, २०८०/०८१ मा चार जना र २०८१/०८२ मा १० औलोका बिरामी देखिएको थियो ।
“विगत छ वर्षका सबै केश आयातित नै रहेका छन्, आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ,” उनले भने ।
नेपालमा स्थानीय औलोलाई शून्यमा पुराउन औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताए ।
औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताए ।
औलो रोग लागेमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनले सुझाव दिए ।
अप्रिल २५ अर्थात् यही वैशाख १२ गते विश्व औलो दिवस नेपालसहित विश्वभर मनाइँदै छ । यस वर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो संकल्पः सक्षम छौँ, छैन अब विकल्प’ तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र जीबीविरुद्ध सहकारी ठगी बाहेकका अभियोग हटाउँदा रुपन्देही जिल्ला अदालतले के भन्यो ?
-
जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज
-
ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने
-
पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान
-
वन अतिक्रमण हटाउने सूचनामा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिले पक्राउ परेपछि मागे माफी
-
बाढीले खोसेको मेलम्चीको खुसी : अनुदान छ तर खेतीयोग्य जमिन छैन, राहत अपुग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण