नारामा यसरी समेटियो बागमती सरकारको बजेट
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा 'सुशासन, प्रविधि र उत्पादन' लाई केन्द्रमा राखी दर्जन बढी नाराहरू घोषणा गरेको छ।
- सेवा प्रवाहमा सुधारका लागि 'प्रविधि र पारदर्शिता: सेवा प्रवाहको नयाँ परिभाषा' तथा नागरिकको आधारभूत आवश्यकता पूरा गर्न 'समृद्ध बागमतीको अभियान: सुशासन, प्रविधि र उत्पादन' जस्ता नारा समावेश गरिएका छन्।
- कृषि, वन, सडक सुरक्षा, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र युवा उद्यमशीलता जस्ता क्षेत्रहरूलाई लक्षित गरी विभिन्न नाराहरूमार्फत बजेटका कार्यक्रमहरू अघि सारिएका छन्।
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न नाराहरूले उल्लेख्य स्थान पाएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेटमा विकास र सेवा प्रवाहलाई जनमुखी बनाउन विभिन्न नाराहरू तय गरेको हो।
बजेट वक्तव्यमा ‘सुशासन, प्रविधि र उत्पादन’ लाई केन्द्रमा राखेर दर्जन बढी नाराहरू घोषणा गरिएको हो । सरकारले आगामी वर्षको बजेटको मुख्य मन्त्रको रूपमा ‘समृद्ध बागमतीको अभियान: सुशासन, प्रविधि र उत्पादन’ लाई अघि सारेको छ । सरकारी संरचनालाई चुस्त बनाउने, प्रविधिको प्रयोग बढाउने र उत्पादनमार्फत स्वरोजगारी सिर्जना गर्ने लक्ष्य सहित बजेटमा उक्त नाराहरू समावेश गरिएको हो।
सेवा प्रवाहमा सुधार ल्याउन ‘प्रविधि र पारदर्शिता: सेवा प्रवाहको नयाँ परिभाषा’ भन्ने नारा तय गरिएको छ। ‘प्रदेशका कोही जनता खान नपाएर भोकै रहन नपरोस्, शिक्षा नपाएर अन्धकारमा रहन नपरोस् र उपचार नपाएर दुःखी हुन नपरोस्’ नागरिकको आधारभूत आवश्यकताप्रति संवेदनशील बजेट ल्याएको छ।
उक्त नारालाई कार्यान्वयन गर्न सरकारले विपन्न आवास, निःशुल्क हवाई उद्धार र मिर्गौला तथा क्यान्सर बिरामीलाई सहुलियतका कार्यक्रम ल्याएको हो । कृषि क्षेत्रको सम्मान र विकासका लागि सरकारले ‘कृषकको सम्मान: कृषिमा अनुदान’ र माटोको उर्वराशक्ति बढाउन ‘प्राङ्गारिक मल: माटोको बल’ भन्ने नारा तय गरेको छ । वन क्षेत्रलाई आयआर्जनसँग जोड्न ‘हरियो वन: समृद्धिको साधन’ भन्ने नारालाई बजेटमा समावेश गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि ‘सुरक्षित सडक: सुनिश्चित यात्रा’ भन्ने नाराका साथ ‘ब्ल्याक स्पट’ पहिचान र सुधारको योजना ल्याइएको छ । पर्यटनतर्फ प्रदेशको संस्कृति र गन्तव्य चिनाउन ‘घुमौँ बागमती: बुझौँ संस्कृति’ अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ।
शिक्षा क्षेत्रलाई पहुँचयोग्य र गुणस्तरीय बनाउन सरकारले ‘शिक्षाका लागि सामाजिक न्याय र सामाजिक न्यायका लागि शिक्षा’ भन्ने नारा तय गरेको छ । स्वास्थ्यतर्फ खानपान र जीवनशैलीलाई जोड्दै ‘पोषणयुक्त खानपान: स्वास्थ्यको पहिचान’ भन्ने नाराका साथ सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ।
युवाहरूलाई उद्यमशीलतामा जोड्न ‘युवाहरूमा सिर्जनशीलताः रोजगारी र उद्यमशीलता’ भन्ने नारा तय गरिएको छ। प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन ‘सुरक्षित पिउने पानी: स्वस्थ जिन्दगानी’ भन्ने नाराका साथ ‘एक घर ः एक धारा’ कार्यक्रमलाई तीव्रता दिइने बजेटमा उल्लेख छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण