बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रेस डिनरमा गोली प्रहार घटना : युरोपेली देशले दिए यस्तो प्रतिक्रिया

आइतबार, १३ वैशाख २०८३, १६ : १६
आइतबार, १३ वैशाख २०८३

सारांश

  • • वासिङ्टन डीसीस्थित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा भएको गोलीकाण्डप्रति युरोपेली नेताहरूले कडा निन्दा गरेका छन्।
  • • विभिन्न युरोपेली राष्ट्र प्रमुख तथा नेताहरूले राजनीतिक हिंसा अस्वीकार्य रहेको बताउँदै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा धारणा राखेका छन्।
  • • नेताहरूले राष्ट्रपति ट्रम्पसहितका सहभागीहरू सुरक्षित रहेकोमा राहत व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

वासिङ्टन डीसी । वासिङ्टन डीसीस्थित एक होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डपछि युरोपका शीर्ष नेताहरूले कडा निन्दा जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् सहभागी भएको कार्यक्रममा भएको गोलीकाण्डप्रति युरोपेली नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले उक्त घटनालाई अस्वीकार्य भन्दै लोकतन्त्रमा हिंसाको कुनै स्थान नहुने बताएका छन् । उनले ट्रम्पप्रति पूर्ण समर्थन व्यक्त गरेका छन् । उता, युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोष्टाले घटनालाई गम्भीर रूपमा चिन्ताजनक भनेका छन् ।

सार्वजनिक जीवनमा राजनीतिक हिंसालाई पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने उनले बताएका छन् । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले आफू स्तब्ध भएको बताउँदै लोकतान्त्रिक संस्था र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि आक्रमणको कडा शब्दमा निन्दा गर्नुपर्ने बताएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष ऊर्सुला भोन देर लेयेनले राजनीतिमा हिंसाको कुनै स्थान नहुने भन्दै प्रहरी र उद्धारकर्ताहरूको शीघ्र कार्यको प्रशंसा गरेकी छिन् । युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कल्लासले स्वतन्त्र प्रेसलाई सम्मान गर्ने कार्यक्रममा यस्तो डरको वातावरण सिर्जना हुनु दुःखद भएको बताउँदै घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले ट्रम्प र अन्य सहभागी सुरक्षित रहेकोमा राहत महसुस गरेको बताएका छन् ।  कार्यक्रममा सहभागी स्विडिस पत्रकारहरूप्रति सहानुभूति व्यक्त गरेका छन् । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै ट्रम्प र उनकी पत्नीप्रति आफ्नो विचार र प्रार्थना रहेको बताएका छन् ।

इटाली, स्पेन, पोर्चुगल, ग्रीस, आयरल्याण्ड, नेदरल्यान्ड्स, युक्रेन, इस्टोनिया, अल्बानिया, लाट्भिया, कोसोभो र लिथुआनिया लगायत अन्य युरोपेली देशका नेताहरूले पनि उक्त घटनाको निन्दा गर्दै सहभागीहरू सुरक्षित रहेकोमा राहत व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप