सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
बुद्ध जयन्ती

लुम्बिनी जाने योजनाबाट एकाएक किन ‘ब्याक’ भए बालेन ?

बिहीबार, १७ वैशाख २०८३, १७ : १५
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको योजना व्यस्तताका कारण एकाएक पछि हटेको छ ।
  • प्रधानमन्त्री बालेन सहभागी नहुने भएपछि लुम्बिनी विकास कोषले सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको छ ।
  • प्रधानमन्त्री बालेनले कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग मञ्च सेयर गर्न नचाहेका कारण कार्यक्रममा नजाने निर्णय गरेको निकट स्रोतको दाबी छ ।

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् ।

प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन उक्त कार्यक्रममा सहभागी हुने तय भइसके पनि बुधबार अचानक उनी सहभागी हुन नसक्नेबारे जानकारी प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषका सदस्य श्याम रोक्काका अनुसार व्यस्तताका कारण प्रधानमन्त्री बालेन बुद्ध जयन्ती समारोहमा सहभागी हुन नसक्ने भनेर जानकारी आएको हो । प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री लुम्बिनी जाने कार्यक्रम नभएको पुष्टि गरिन् । 

प्रधानमन्त्री सहभागी नहुने भएपछि कोषले सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथि बनाउने भएको छ । सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार सभामुख अर्याल आजै लुम्बिनी पुग्ने कार्यक्रम छ । सभामुख अर्याल भोलि आयोजना हुने बुद्ध जयन्ती समारोहमा सहभागी हुने उनले जानकारी दिए ।

प्रधानमन्त्री बालेनको व्यस्ततालाई देखाएर कार्यक्रममा सहभागी हुन नसक्ने भनिए पनि निकट स्रोतले कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग मञ्च ‘सेयर’ गर्न नचाहेर कार्यक्रममा नजाने निर्णयमा पुगेको दाबी गरेको छ । लामा विगतदेखि नै विवादमा तानिएका पात्र हुन् । 

स्रोतका अनुसार उक्त कार्यक्रममा सहभागी हुन यसअघि राष्ट्रपति रामचन्द्र पौडेल इच्छुक थिए । यद्यपि प्रधानमन्त्री बालेन शाहलाई नै कोषले निम्त्याउन चाहेका कारण राष्ट्रपति प्राथमिकतामा परेनन् । प्रधानमन्त्री बालेन सहभागी नहुने जानकारी आएपछि कोषले राष्ट्रपतिलाई निम्त्याउन चाहेको थियो । 

यद्यपि राष्ट्रपतिले समेत व्यस्तताका कारण देखाएर सहभागी हुन नसक्ने जनाएपछि सभामुखलाई प्रमुख अतिथि बनाइएको स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप