मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

इन्धन खरिदको अर्बौँ रुपैयाँ रोकौँ, ईभी रूपान्तरणको नेपाली मोडेल रोजौँ

शनिबार, १९ वैशाख २०८३, १२ : ४२
शनिबार, १९ वैशाख २०८३

सारांश

  • नेपालमा सवारीसाधनको प्रयोग बढ्दै गए पनि इन्धन आयातमा निर्भरता र सवारी करको भारले उपभोक्तालाई आर्थिक दबाबमा पारेको छ ।
  • विद्यमान डिजेल र पेट्रोल गाडीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्दा सञ्चालन खर्च घट्ने, वातावरण संरक्षण हुने र स्वदेशमै उत्पादित ऊर्जाको प्रयोग बढ्ने सम्भावना छ ।
  • ईभी रूपान्तरणका लागि नीतिगत अस्पष्टता, प्राविधिक दक्षताको अभाव, पूर्वाधारको कमी, परीक्षण र प्रमाणीकरण प्रणालीको अभाव तथा उत्पादक कम्पनीको भूमिका जस्ता चुनौतीहरू छन् ।

नेपालमा सवारी साधन प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ । तर यसको आधार अझै पनि डिजेल र पेट्रोलजस्ता आयातित इन्धनमै निर्भर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन्छ, जसका कारण साधारण उपभोक्तादेखि व्यावसायिक सवारी सञ्चालन गर्नेहरू सबै आर्थिक दबाबमा परिरहेका छन् । 

प्रत्येक वर्ष सवारी साधन र इन्धन आयातका लागि अर्बौँ रुपैयाँ बिदेसिने अवस्था छ । यसले देशको अर्थतन्त्रमा दीर्घकालीन असर पारिरहेको छ ।

यसका साथै, नेपालमा सवारी साधनमा लाग्ने करको दर पनि उच्च छ । नयाँ गाडी खरिद गर्दा ठुलो रकम खर्चिनुपर्ने हुन्छ भने पुराना गाडी सञ्चालन गर्दा पनि इन्धन, मर्मत, सर्भिस र करको संयुक्त भार अत्यधिक हुन्छ । नेपालको सडक अवस्था अझै पूर्णरूपमा सन्तोषजनक नभएकाले सवारी साधन छिट्टै बिग्रने, पार्टपुर्जा क्षति हुने तथा दुर्घटनाको जोखिम बढ्ने समस्या पनि उत्तिकै गम्भीर छ । 

यस्तो अवस्थामा बीमा कम्पनीहरूबाट पूर्ण दाबी प्राप्त गर्न कठिन हुने, आंशिक मात्र स्वीकृति हुने वा प्रक्रिया ढिलो हुने जस्ता समस्याले उपभोक्तालाई थप आर्थिक मारमा पारिरहेको छ ।

यी सम्पूर्ण पक्षहरूलाई एकसाथ हेर्दा परम्परागत डिजेल तथा पेट्रोल गाडी दीर्घकालीन रूपमा खर्चिलो र चुनौतीपूर्ण विकल्प बन्दै गएको स्पष्ट देखिन्छ । यसै सन्दर्भमा, विद्यमान गाडीलाई नै विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्ने अवधारणा दिगो समाधानका रूपमा अगाडि बढाइएको छ । 

ईभी रूपान्तरणको अर्थ भनेको गाडीमा रहेको इन्जिन, फ्युल ट्याङ्क, एग्जस्ट प्रणाली जस्ता भागहरू हटाएर त्यसको सट्टा इलेक्ट्रिक मोटर, उच्च भोल्टेज ब्याट्री, कन्ट्रोलर र चार्जिङ प्रणाली जडान गर्नु हो ।

ईभीमा रूपान्तरण भएपछि सवारी साधन सञ्चालन खर्चमा उल्लेखनीय कमी आउँछ । इन्धनको सट्टा बिजुली प्रयोग हुने भएकाले खर्च धेरै कम हुन्छ, र मर्मत तथा सर्भिसका लागि पनि कम खर्च लाग्छ किनभने इलेक्ट्रिक सवारीमा चलायमान पार्टहरूको सङ्ख्या न्यून हुन्छ । वातावरणीय दृष्टिले पनि ईभी अत्यन्त लाभदायक हुन्छ, किनकि यसले धुवाँ उत्पादन गर्दैन र कार्बन उत्सर्जन घटाउँछ । 

नेपाल जस्तो जलविद्युतको क्षेत्रमा अत्यधिक सम्भावना भएको देशका लागि यो झनै महत्त्वपूर्ण हुन आउँछ । स्वदेशमै उत्पादित ऊर्जाको अधिकतम उपयोग गर्न सकिन्छ । विशेषगरी, ईभी प्रायः रातको समयमा बढी चार्ज हुने भएकाले, पिक आवरभन्दा अफ–पिक आवरमा विद्युतीय सवारीका लागि विद्युत् शुल्कमा थप सहुलियत दिने नीति लागू गर्न सकिएमा ऊर्जा व्यवस्थापन अझ प्रभावकारी बन्नुका साथै ईभी प्रयोगलाई थप प्रोत्साहन मिल्नेछ ।

तर, ईभी रूपान्तरण जति आकर्षक देखिन्छ, यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण पनि छ । 

नीतिगत अस्पष्टता

ईभी रूपान्तरणको सबैभन्दा ठुलो चुनौती नेपालमा स्पष्ट र व्यवहारिक नीतिगत व्यवस्था नहुनु हो । हालको अवस्थामा डिजेल तथा पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गरेपछि त्यसको पुनः दर्ता कसरी गर्ने, ब्लुबुकमा प्राविधिक विवरण कसरी अद्यावधिक गर्ने र कर तथा राजस्व संरचना कस्तो हुने भन्ने विषयमा सम्बन्धित निकायहरूबाट स्पष्ट भइसकेको छैन ।

हाल प्रयोगमा रहेको ब्लु बुकलाई ईभी गाडी वा रूपान्तरण गरिएको ईभी गाडीका लागि ‘ग्रीन बुक’ नामकरण गरी छुट्टै पहिचान प्रणाली बनाउनु पर्ने होला । 

नेपालमा सवारी दर्ता, नवीकरण तथा नियमन सम्बन्धी प्रक्रिया परम्परागत प्रणालीमा आधारित भएकाले नयाँ प्रविधिलाई समेट्ने गरी कानुनी र प्रशासनिक सेवालाई खुकुलो बनाउनु पर्ने आवश्यकता छ । किनभने नीतिगत अन्योलताले निजी क्षेत्र, अटो वर्कसप, तथा सम्भावित लगानीकर्तालाई जोखिमपूर्ण वातावरण महसुस गराउँछ । स्पष्ट कानुनी आधार नभएसम्म उनीहरू दीर्घकालीन लगानी गर्न हिच्किचाउँछन्, जसले गर्दा यो क्षेत्र औपचारिक र व्यवस्थित रूपमा विकास हुन सकिरहेको छैन ।

यदि समयमै स्पष्ट नीति, मापदण्ड र कार्यविधि तयार नगर्ने हो भने, ईभी रूपान्तरण अनौपचारिक र अव्यवस्थित रूपमा फैलिने जोखिम रहन्छ । 

प्राविधिक दक्षताको अभाव

ईभी रूपान्तरणका लागि उच्च भोल्टेज प्रणाली, ब्याट्री व्यवस्थापन प्रणाली, मोटर कन्ट्रोल युनिट, वायरिङ सुरक्षा तथा सम्पूर्ण सेफ्टी प्रोटोकलको गहिरो प्राविधिक ज्ञान आवश्यक पर्छ ।

तर, नेपालमा यस क्षेत्रमा विशेष रूपमा दक्ष इन्जिनियर, प्रशिक्षित टेक्निसियन तथा प्रमाणित जनशक्तिको सङ्ख्या अझै सीमित छ । परिणामस्वरूप रूपान्तरण कार्यमा गुणस्तरको एकरूपता नहुनु, प्राविधिक त्रुटि हुने सम्भावना बढ्नु तथा दीर्घकालीन विश्वसनीयता र सुरक्षा चुनौतीमा पर्न सक्ने अवस्था देखिन्छ ।

यो समस्या समाधानका लागि तालिम कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने प्रमाणपत्र प्रणाली, तथा प्राविधिक शिक्षामा ईभी केन्द्रित पाठ्यक्रम विकास र लगानी अत्यन्त आवश्यक देखिन्छ । हाल निजी तथा संस्थागत वर्कशपहरूमा कार्यरत ईभी प्राविधिक जनशक्तिलाई उनीहरूको प्रशिक्षण, प्रमाणपत्र र अनुभवका आधारमा लागत संकलन, मूल्यांकन तथा प्रमाणीकरण गर्ने व्यवस्था भएमा ईभी रूपान्तरण कार्य अझ व्यवस्थित, विश्वसनीय र गुणस्तरीय हुने देखिन्छ ।

पूर्वाधार र उपकरणको अभाव

ईभी रूपान्तरणका लागि आवश्यक अत्याधुनिक उपकरणहरू जस्तै हाई भोल्टेज टेस्टिङ डिभाइस, इन्सुलेशन रेसिस्टेन्स टेस्टर, ब्याट्री डायग्नोस्टिक तथा क्यालिब्रेसन टूल, र सेफ्टी सिमुलेसन उपकरणहरू नेपालमा सहज रूपमा उपलब्ध छैनन् वा सीमित मात्रामा मात्र पाइन्छन् ।

साथै, उच्च भोल्टेज प्रणालीसँग सुरक्षित रूपमा काम गर्न मिल्ने मानक वर्कसप संरचना, जस्तै इन्सुलेटेड टुल्स, अर्थिङ सिस्टम, फायर सेफ्टी व्यवस्था र एचभी सेफ्टी जोन भएको कार्यशाला, पर्याप्त रूपमा विकास भएको छैन ।

यी आधारभूत पूर्वाधार र उपकरण बिना ईभी रूपान्तरण कार्यलाई सुरक्षित, विश्वसनीय र व्यावसायिक स्तरमा विस्तार गर्न कठिन हुन्छ । त्यसैले सरकारी तथा निजी क्षेत्रको सहकार्यमा आधुनिक उपकरण आपूर्ति, ईभी विशेष वर्कसप विकास र सेफ्टी स्ट्यान्डर्ड लागू गर्नु अत्यन्त आवश्यक देखिन्छ ।

परीक्षण र प्रमाणीकरण प्रणालीको कमी

रूपान्तरण गरिएको सवारी सुरक्षित छ वा छैन भन्ने सुनिश्चित गर्न परीक्षण र प्रमाणीकरण अत्यावश्यक हुन्छ । तर नेपालमा हालसम्म ईभी रूपान्तरणका लागि छुट्टै मापदण्ड, परीक्षण प्रक्रिया वा मान्यता प्राप्त परीक्षण केन्द्रहरूको पर्याप्त विकास भएको छैन । यसले उपभोक्ताको विश्वास घटाउने र दुर्घटनाको जोखिम बढाउने सम्भावना रहन्छ ।

अर्को महत्त्वपूर्ण र केही हदसम्म विरोधाभासपूर्ण अवस्था के देखिन्छ भने, हाल आयात भइरहेका ईभी तथा परम्परागत आईसीई सवारीहरूको परीक्षण अझै पनि परम्परागत विधिबाटै गरिँदै छ । विशेषगरी, आयात गरिएका सवारीसाधनहरूको प्रमाणीकरण प्रक्रियामा यातायात व्यवस्था विभाग अन्तर्गतका सम्बन्धित निकायका इन्जिनियरहरूले काठमाडौँ वरपरका उकालो–ओरालो सडकमा गाडीले कति तान्छ भन्ने आधारमा शक्ति मूल्याङ्कन गर्ने परम्परागत अभ्यास अपनाउँदै आएका छन् । 

यो आधुनिक ईभी प्रविधिको सन्दर्भमा अपर्याप्त र गैर–वैज्ञानिक ठहरिन्छ । तर ईभी सवारीको हकमा यो विधि पर्याप्त र उपयुक्त मानिँदैन । ईभीमा मोटरको ‘पेक पावर’, टर्क वितरण, तथा इलेक्ट्रोनिक कन्ट्रोल प्रणालीको कार्यक्षमता जाँच गर्न विशेष उपकरण र वैज्ञानिक परीक्षण विधि आवश्यक पर्छ, जुन हाल उपलब्ध छैन वा प्रयोगमा आएको छैन ।

यस कारण, हाल ईभी आयातकर्ताहरूले समेत प्राविधिक र कानुनी अन्यौलता झेल्नुपरेको छ । सवारी साधन वास्तवमै निर्धारित मापदण्डअनुसार छ वा छैन भन्ने प्रमाणित गर्न व्यवस्थित, आधुनिक र मान्यता प्राप्त परीक्षण केन्द्रको अभाव गम्भीर समस्या बनेको छ ।

त्यसैले, अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण गर्न सक्ने, प्रविधि–मैत्री र विश्वसनीय परीक्षण तथा प्रमाणीकरण केन्द्रको स्थापना अत्यन्त आवश्यक देखिन्छ । यसले न केवल उपभोक्ताको विश्वास बढाउँछ, तर सम्पूर्ण ईभी इकोसिस्टमलाई व्यवस्थित र सुरक्षित रूपमा अगाडि बढाउन महत्त्वपूर्ण आधार तयार गर्छ ।

उत्पादक कम्पनीको भूमिका

ईभी रूपान्तरणको क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील पक्ष कानुनी जटिलता तथा सवारी उत्पादक कम्पनीहरूको भूमिका हो । नेपालमा धेरैजसो सवारी साधनहरू भारतलगायत अन्य देशबाट आयात हुने भएकाले ती गाडीहरू सम्बन्धित कम्पनीहरूले बनाएको मूल डिजाइन, इन्जिन संरचना र सुरक्षा मापदण्ड अनुसार नै प्रयोग गर्नुपर्ने हुन्छ । 

यस्तो अवस्थामा गाडीलाई आईसीईबाट ईभीमा रूपान्तरण गर्दा मूल डिजाइनमा परिवर्तन हुने भएकाले ओइएम कम्पनीहरूले यसलाई आधिकारिक रूपमा मान्यता नदिन सक्ने सम्भावना रहन्छ ।

त्यस्तै, सवारीको सुरक्षा मापदण्ड प्रभावित हुन सक्छ र अन्तर्राष्ट्रिय रूपमा स्वीकृत टाइप अप्रुभल प्रक्रिया पनि चुनौतीपूर्ण बन्न सक्छ । रूपान्तरणपछि गाडीको वारेन्टी स्वतः समाप्त हुने अवस्था पनि सामान्य रूपमा देखिन्छ, जसले प्रयोगकर्ताको जोखिम बढाउँछ । साथै, दुर्घटना वा प्राविधिक समस्या आएमा जिम्मेवारी कसको हुने भन्ने विषय अझै स्पष्ट नहुनु कानुनी रूपमा ठुलो चुनौती हो ।

नेपालको सन्दर्भमा, धेरै गाडीहरू भारतबाट आउने भएकाले भारतीय मापदण्ड र ओइएम नियमहरू अप्रत्यक्ष रूपमा प्रभाव पार्ने अवस्था हुन्छ । यदि ईभी रूपान्तरणलाई स्पष्ट कानुनी ढाँचाभित्र समेटिएन भने दर्ता प्रक्रिया, बीमा व्यवस्था र रोड फिटनेस प्रमाणिकरणमा समेत जटिलता आउन सक्छ ।

त्यसैले ईभी रूपान्तरणलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले स्पष्ट कानुनी निर्देशिका तयार गर्नु, रूपान्तरणपछि पुनः दर्ता र बीमाको प्रक्रिया स्पष्ट गर्नु, तथा ओइएम, सरकार र रूपान्तरण गर्ने वर्कशपबीच जिम्मेवारी र दायित्व स्पष्ट रूपमा निर्धारण गर्नु अत्यन्त आवश्यक देखिन्छ ।

रूपान्तरणका लागि उपयुक्त सवारीको छनोट

ईभी रूपान्तरण सबै प्रकारका सवारी साधनका लागि उपयुक्त हुँदैन, विशेषगरी नेपालको सन्दर्भमा सडक अवस्था, सवारीको आयु र प्रयोगको प्रकृति फरक–फरक हुने भएकाले सही गाडी छनोट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । पुराना वा कमजोर च्यासिस भएका सवारी, अत्यधिक जंग लागेको संरचना भएका गाडी, वा पहिले नै धेरै मर्मत भइसकेका सवारीहरूलाई ईभीमा रूपान्तरण गर्दा सुरक्षा र दीर्घकालीन विश्वसनीयतामा समस्या आउन सक्छ ।

नेपालको सन्दर्भमा ईभी रूपान्तरण केवल प्रविधि परिवर्तन मात्र होइन, यो आर्थिक बचत, ऊर्जा सुरक्षा र वातावरणीय सुधारसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण अभियान हो । नेपालले ठुलो मात्रामा इन्धन आयात गर्नुपर्ने अवस्था भएकाले पेट्रोलियम पदार्थमा हुने खर्च देशको अर्थतन्त्रमा ठुलो भारको रूपमा देखिन्छ।

त्यसैगरी, सवारीको उमेर, संरचनागत मजबुती, तौल वितरण र हालसम्मको प्रयोगको अवस्था जस्ता प्राविधिक पक्षहरूलाई गम्भीर रूपमा मूल्यांकन गर्न आवश्यक हुन्छ । नेपालको पहाडी भौगोलिक अवस्था र सडकको उतार–चढावलाई समेत ध्यानमा राख्दा, हरेक सवारी भ्ख् रूपान्तरणका लागि उपयुक्त नहुन सक्छ ।

यसका लागि सरकारले स्पष्ट प्राविधिक मापदण्ड तयार गर्नु आवश्यक छ । यसले कुन प्रकारका सवारी साधनहरू सुरक्षित रूपमा ईभीमा रूपान्तरण गर्न सकिन्छ भन्ने निर्धारण गर्छ । यसले रूपान्तरण प्रक्रियालाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा टिकाउ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

प्रोत्साहनको आवश्यकता

नेपालमा ईभी रूपान्तरणलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सफल बनाउन सरकारको स्पष्ट र सक्रिय भूमिका अत्यन्त आवश्यक हुन्छ । यदि सरकारले समयमै स्पष्ट नीति निर्माण गर्न सकेको खण्डमा रूपान्तरण क्षेत्रलाई औद्योगिक स्तरमा विस्तार गर्न सहज हुन्छ । त्यस्तै, प्राविधिक मापदण्ड निर्धारण गरी सबै रूपान्तरण कार्यलाई एउटै गुणस्तर र सुरक्षा स्तरमा ल्याउन सकिन्छ ।

साथै, रूपान्तरण गरिएका सवारीको परीक्षण तथा प्रमाणीकरण प्रणाली स्थापना गर्नु आवश्यक छ, जसले सडकमा चल्ने प्रत्येक रूपान्तरित ईभी सुरक्षित छ भन्ने सुनिश्चित गर्छ । यसले उपभोक्ताको विश्वास बढाउने मात्र होइन, दुर्घटनाको जोखिम पनि घटाउँछ ।

सरकारले कर छुट, अनुदान, वा अन्य वित्तीय प्रोत्साहन कार्यक्रम लागू गर्न सकेमा निजी क्षेत्र र वर्कशपहरूको लगानी आकर्षित हुन्छ र ईभी रूपान्तरण व्यावसायिक रूपमा दिगो बन्न सक्छ ।

यस्ता पहलहरूले केवल सवारी साधनको रूपान्तरण मात्र होइन, नयाँ रोजगारी सिर्जना, स्थानीय प्रविधि विकास, र अन्तर्राष्ट्रिय स्तरको प्रविधि हस्तान्तरणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । अन्ततः, उचित सरकारी सहयोगले ईभी रूपान्तरणलाई नेपालमा हरित अर्थतन्त्रतर्फको महत्त्वपूर्ण कदम बनाउन सक्छ ।

आर्थिक र वातावरणीय लाभ

नेपालको सन्दर्भमा ईभी रूपान्तरण केवल प्रविधि परिवर्तन मात्र होइन, यो आर्थिक बचत, ऊर्जा सुरक्षा र वातावरणीय सुधारसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण अभियान हो । नेपालले ठुलो मात्रामा इन्धन आयात गर्नुपर्ने अवस्था भएकाले पेट्रोलियम पदार्थमा हुने खर्च देशको अर्थतन्त्रमा ठुलो भारको रूपमा देखिन्छ। ईभी रूपान्तरण विस्तार भएमा इन्धन आयातमा उल्लेखनीय कमी आउँछ, जसले देशको विदेशी मुद्रा बचतमा प्रत्यक्ष सहयोग पुर्‍याउँछ ।

उपभोक्ता स्तरमा हेर्दा पनि ईभी रूपान्तरण निकै लाभदायक हुन्छ । इन्धन खर्च मात्र होइन, नियमित मर्मत खर्च पनि उल्लेखनीय रूपमा घट्ने भएकाले दीर्घकालीन रूपमा सवारी सञ्चालन लागत धेरै कम हुन्छ। नेपालजस्तो इन्धन मूल्य अत्यधिक संवेदनशील बजारमा यो परिवर्तन अझै प्रभावकारी देखिन्छ ।

यससँगै, इन्धन, मर्मत तथा करमा हुने बचतले उपभोक्ताको हातमा अतिरिक्त आर्थिक बचत उपलब्ध हुन्छ । यो बचत केवल खर्च घटाउने मात्र नभई उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर पनि बन्न सक्छ । उपभोक्ताले उक्त रकम साना व्यवसाय, शिक्षा, कृषि वा अन्य आय–आर्जनका गतिविधिमा लगानी गर्न सक्ने भएकाले व्यक्तिगत आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पर्छ ।

यसरी हेर्दा, ईभी रूपान्तरणले व्यक्तिगत स्तरमा आर्थिक राहत दिने मात्र होइन, बचत भएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउँछ । यसले अन्ततः राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आन्तरिक लगानी वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउन सक्छ ।

यसका साथै, ईभी रूपान्तरणले नेपाललाई आयातमुखी इन्धन निर्भरता घटाउँदै ऊर्जा आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुर्‍याउँछ । जलविद्युत् उत्पादनको सम्भावना उच्च भएको देशमा विद्युत् प्रयोग बढ्दा आन्तरिक ऊर्जा उपयोग पनि प्रभावकारी रूपमा बढ्छ । यसरी हेर्दा, ईभी रूपान्तरण आर्थिक रूपमा मात्र होइन, वातावरणीय र रणनीतिक दृष्टिले पनि नेपालका लागि दीर्घकालीन रूपमा अत्यन्त लाभदायक विकल्प बन्न सक्छ ।

दीर्घकालीन रूपान्तरणको अवसर

डिजेल तथा पेट्रोल सवारी साधनलाई ईभीमा रूपान्तरण गर्नु केवल प्रविधिको परिवर्तन मात्र होइन, यो नेपालको आर्थिक, वातावरणीय र नीतिगत रूपान्तरणसँग जोडिएको दीर्घकालीन अवसर हो । यदि सही रणनीति, स्पष्ट नीति र सरकार–निजी क्षेत्र–प्राविधिक संस्थाबिचको सहकार्यमा यो प्रक्रिया अघि बढाइयो भने नेपालको यातायात प्रणालीलाई अझ दिगो, आधुनिक र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

अन्त्यमा भन्नुपर्दा, ईभी रूपान्तरण नेपालका लागि केवल एउटा प्रविधि परिवर्तन होइन, यो खर्च घटाउने बाटो मात्र होइन, आर्थिक सोच बदल्ने क्रान्ति पनि हो । अहिले इन्धनमा बगिरहेको ठुलो रकम यदि देशमै बचत हुन थाल्यो भने त्यो पैसा बाहिर नजाने मात्र होइन, देशभित्रै घुम्न थाल्छ—साना व्यवसाय, कृषि, शिक्षा र नयाँ स्टार्टअपहरूमा लगानी हुने सम्भावना बढ्छ ।

त्यसैले एकैपटक सबै सवारीलाई रूपान्तरण गर्न अनुमति दिनुभन्दा पनि ‘स्मार्ट फेज्ड एप्रोच’ अपनाउनु आजको आवश्यकता हो । पहिले सहर केन्द्रित बस, ट्याक्सी र छोटो दूरीका सार्वजनिक सवारीबाट सुरु गर्ने हो भने प्रदूषण घट्ने मात्र होइन, यसको प्रभाव तुरुन्त देखिन थाल्छ । त्यसपछि मात्र सवारीको उमेर, अवस्था र प्राविधिक मूल्यांकनका आधारमा निजी सवारीमा विस्तार गर्दै जानु बुद्धिमानी हुन्छ ।

नेपालले अहिले नै सही नीति, स्पष्ट मापदण्ड र व्यवहारिक कार्यान्वयन मोडेल बनायो भने ईभी रूपान्तरण भविष्यको कुरा होइन—आजकै आवश्यकता हो । यो केवल गाडी परिवर्तन होइन, नेपाललाई इन्धन निर्भर राष्ट्रबाट ऊर्जा–आत्मनिर्भर र हरित अर्थतन्त्रतर्फ लैजाने ‘गेम चेन्जर अवसर’ बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

के.पी. पोखरेल
के.पी. पोखरेल
लेखकबाट थप