मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

गुराँसका अध्यक्षद्वारा हाकिममाथि गिलास प्रहार, के हो घटना ?

हाकिम भन्छन्—मलाई चोट लागेको छ, असुरक्षित फिल गरेको छु
बिहीबार, २४ वैशाख २०८३, ०८ : १४
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि कार्यकक्षमै काँचको गिलास प्रहार गरेको घटना सार्वजनिक भएको छ ।
  • प्रमुख प्रशासकीय अधिकृत घर्तीले अनावश्यक चालु खर्च नियन्त्रण गर्न खोज्दा अध्यक्ष बिसी असन्तुष्ट बनेको र विवादका क्रममा गिलास प्रहार भएको बताइएको छ ।
  • प्रशासकीय अधिकृत घर्तीले आफूलाई चोट लागेको र असुरक्षित महसुस भएको भन्दै सम्बन्धित निकायमा जानकारी गराएको बताएका छन् ।

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले आफ्नै पालिकाका हाकिममाथि काँचको गिलास प्रहार गरेको घटना सतहमा आएको छ । अध्यक्ष बिसीले सोमबार प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि गिलास प्रहार गरेका हुन् ।

स्रोतका अनुसार घटना बुधबार दिउँसो २ बजेतिर आफ्नै कार्यकक्षमा बिसीले गिलास प्रहार गरेका थिए । अहिले यो विषयले सामाजिक सञ्जाल तात्तिएको छ । यद्यपि घटनाको वास्तविकताबारे अध्यक्ष बिसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । 

घटनाको विषयमा बुझ्दा अध्यक्ष बिसीको फोन सम्पर्क भइरहेको छैन । यद्यपि अध्यक्ष बिसीले गर्न खोजेको काम अनुसार, प्रमुख प्रशासकीय अधिकृत घर्तीले नमानेका कारण विवाद उत्पन्न भएको र त्यही क्रममा उनले गिलास नै प्रहार गरेको बताइएको छ ।

स्रोतका अनुसार, घर्तीले यसअघि देखिनै अनावश्यक चालु खर्चलाई नियन्त्रण गर्न खोजिरहेका थिए । केन्द्र सरकारले नै अनावश्यक चालु खर्च नियन्त्रण गर्न पटक–पटक परिपत्र गर्दै आएको छ । सोही अनुसार, यसअघि जथाभाबी प्रयोग भइरहेको इन्धन, होटेलमा कार्यक्रम गर्ने प्रवृत्तिलाई नियन्त्रण, कार्यालय तथा अध्यक्षले समेत पालिकाको बजेटबाट खरिद गर्ने सामग्रीलाई प्रक्रियागत तरिकाले मात्रै गर्ने प्रयास घर्तीले गरेका थिए ।

तर अध्यक्ष बिसी आफूले राखेका एजेन्डामा असहमति राखेको भन्दै हाकिमको गतिविधिबारे असन्तुष्ट थिए । यस्तै विषयमा विवाद हुँदै आएको र सोमबार कार्यकक्षमा अन्य कर्मचारीसहित भएको छलफलका क्रममा बिसीले गिलास प्रहार गरेको स्रोतको भनाइ छ ।

अध्यक्ष बिसी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । घटनाबारे अध्यक्ष बिसीले कुनै प्रष्टीकरण नदिए पनि प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अध्यक्षबाट गिलास प्रहार भएको बताएका छन् । ‘कार्यालयको कामको विषयमा अध्यक्षसँग सवाल–जवाफ हुँदा मलाई लक्षित गरी अध्यक्षले काँचको गिलास टेबलमा हान्नुभयो, त्यसका टुक्राले मलाई चोट लागेको  छ,’ उनले भनेका छन्, ‘यो घटनाबारे दैलेखका प्रमुख जिल्ला अधिकारी, सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिवलाई जानकारी गराएको छु ।’ साथै, घटना घटेको दिनदेखि आफूले असुरक्षित महसुस गरेको पनि उनले बताए ।

1

रातोपाटीले घटनाबारे अध्यक्ष बिसीलाई फोन सम्पर्क गर्दा फोन लागेन ।  गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले भने उनीहरूबिच विगतदेखि नै सामान्य विवाद हुँदै आएको बताए ।

‘विगतदेखि नै विभिन्न विषयमा विवाद त हुन्थे उहाँहरूका,’ उनले रातोपाटीसँग भने, ‘त्यो दिन चाहिँ म प्रत्यक्षदर्शी पनि होइन । उहाँहरूको व्यक्तिगत मामलामा हो, मैले केही भन्न सक्ने अवस्था छैन ।’

आफु प्रवक्ता भए पनि संस्थागत कुरा बाहेक अरू आफूले केही भन्न नसकिने बताए । आफ्नो बुधबार अध्यक्ष, उपाध्यक्षसँग भेट भए पनि त्यो विषयमा खासै कुरा नभएको पनि उनले बताए ।

उनका अनुसार, विगतमा विकास निर्माणका आयोजनामा छुट्याएका बजेटहरू समयमा कार्यान्वयन हुन नसक्ने, त्यस्तै विषयमा विवाद हुन्थ्यो ।

‘निर्णयहरू किन कार्यान्वयन भएनन् भन्ने प्रश्नहरूदेखि लिएर, त्यस्तै–त्यस्तै हुन्थे, कहिले जनप्रतिनिधिको कारणले काम अडिने, कहिले कर्मचारीको कारणले अडिने, कहिले ऐन नियम कार्यविधिहरू त्यस्तोको कारणले अडिने । त्यस्तो अवस्थामा चाहिँ विवाद भइरहन्थ्यो,’ उनले थपे ।

उनले कारण नखुलाए पनि विवाद भयो, दुवै जना आवेगमा आए र सोही कारण यस्तो घटना घटेको हुन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप