‘सामन्तवादको जरा हल्लाउने पार्टी आज कहाँ छ ? हामी गहिरो खोजीमा छौँ’
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचनको परिणामबाट अपेक्षाअनुरूप नहुँदा पार्टीभित्रै कमीकमजोरीको खोजी गरिरहेको छ।
- पार्टीले सामन्तवादको जरा हल्लाएर परिवर्तन ल्याउन सक्ने क्षमता हुँदाहुँदै किन कमजोर भयो भन्ने विषयमा गहिरो खोजी गरिरहेको छ।
- सरकारले दैनिक काममा देखाएको जाँगरलाई समर्थन गरे पनि मानव अधिकार र लोकतन्त्रका विषयमा सरकारको संकेतप्रति टिप्पणी छ।
वर्तमान सरकार एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको छ। कतिपय निर्णयहरू अलोकतान्त्रिक र कतिपय निर्णय विधिले नछुने भन्दै विरोध भइरहेको छ। मानौँ, यहाँ सत्ता पक्षबाहेक मुलुकमा अरू कुनै दल नै छैनन्।
‘हामी पनि छौँ है’ भन्ने आभास विपक्षी दलहरूले दिन सकिरहेका छैनन्। उनीहरूको स्वर यति मलिन र मधुरो छ कि उनीहरूले बोलेको कसैले सुन्दै सुन्दैन। निर्वाचनपछि मुर्झाएका दलहरू अझै ब्युँझिन सकेका छैनन्, त्यसमा पनि आन्तरिक किचलोमा फसेका छन्। नेतृत्व परिवर्तन, विधि, नीति, सामूहिकता, पार्टीभित्रको लोकतन्त्र जस्ता वर्षौँ पुराना तर कार्यान्वयनमा ल्याउन नसकेका नारा लगाउनमै उनीहरू व्यस्त छन्।
तिनैमध्येको एउटा दल हो– नेपाल कम्युनिस्ट पार्टी। निर्वाचनअघि दुई दर्जन बढी पार्टीहरू मिलाएर निर्वाचनमा होमिएको नेकपाले प्रत्यक्षमा थोरै सिट जित्यो।
यो पार्टी सत्तरी सालयताका निर्वाचनहरूमा लगातार ओरालो लागेको लाग्यै छ। तर पनि मूल नेतृत्व उही छ, र युवाहरू नै नेताको बचाउमा किन लागिरहेका छन् ? यति निरीह युवाको अब के काम ? अब आउँदो चुनावसम्म यो दल बाँकी रहन्छ ? कि पार्टी बचाउने केही प्रयास भइरहेको छ ? तोकिएको महाधिवेशन होला ? भयो भने के फरक पर्ला ? लगायतका विषयमा नेकपा नेता सरल सहयात्रीसँग रातोपाटीले लामो संवाद गरेको छ। सहयात्रीसँग गरिएको संवादको सम्पादित अंश (विस्तृत संवाद भिडियोमा हेर्न सकिनेछ।)
सामन्तवादको जरा हल्लाएर परिवर्तन ल्याउन सक्ने पार्टी, आज 'कहाँ छ ?' भनेर सोध्नुपर्ने परिस्थितिमा किन आइपुग्यो ? हामी त्यसको गहिरो खोजी गर्दैछौँ।"
नेपाल कम्युनिस्ट पार्टी अहिले कहाँ छ भनेर मानिसले खोजिरहेका छन्। कहाँ छ नेकपा ?
चुनावको परिणामपश्चात् हामीले जे अपेक्षा गरेका थियौँ, त्यो अपेक्षाकृत परिणाम नआएपछि मूलतः हामी हामीतिरै फर्केका छौँ।
- त्यो भनेको ?
हाम्रो पार्टी, संगठन, नेतृत्व, विचार, कार्यशैली, टुटेका कडीहरू–यी सबै चिजहरू कहाँ-कहाँनिर हामीले कमी गरेका हौँ ? यो देशमा धेरै ठूलो संरचना र जरा गाडेर बसेको सामन्तवादको विचार, संरचना र संस्थालाई हल्लाएर परिवर्तन ल्याउन सक्ने पार्टी, आज 'कहाँ छ ?' भनेर सोध्नुपर्ने परिस्थितिमा किन आइपुग्यो ? भन्ने कुराको हामी गहिरो गरी खोजी गर्दैछौँ।
- कहाँ खोज्दै हुनुहुन्छ ?
त्यसका लागि हामीले गम्भीरतापूर्वक नै महाधिवेशनको घोषणा गरेका छौँ।
२१औँ शताब्दीको जनवाद लागू भएको भए मूल नेतृत्व सरकारमा जाँदैनथ्यो। तर यहाँ सबै नेतालाई आफैँ मन्त्री र प्रधानमन्त्री हुनुपर्ने भयो, अनि विधि बिग्रियो।
- निर्वाचनको पराजयको कारणबारे पार्टीले मिहिन ढंगले समीक्षा गरेको छ ?
हामीले समीक्षा गरेका छौँ, तर अब परिणाम दिने गरी नै काम गरौँ भन्नेमा छौँ।
_FjwvWHR0W0.jpg)
- निर्वाचनमा जनताले हराए कि अरू कसैले हराए ?
अहिले आरोप-प्रत्यारोप गर्नेतिर नजाऔँ भन्नेमै छौँ। किनभने हरेक परिवर्तन हुँदाखेरि जनताले कहिलेकाहीँ सकारात्मक रूपमा त कहिलेकाहीँ नकारात्मक रूपमा सबक सिकाउने निरन्तरता लोकतन्त्रमा रहन्छ नै।
- अरूले भनेजस्तै तपाईंहरूको पनि अल्गोरिदम, भूराजनीति वा सेनाले हराए भन्ने छ कि भनेर सोधेको ?
एउटा कुरा चाहिँ यो वर्गीय धारणा र दृष्टिकोणको विषयवस्तु पनि हो। समाजको अध्ययन भनेको के हो ? योग्यता के हो ? यी सारा कुराको आ-आफ्नै ढंगले परिभाषा दिन सकिन्छ। मूल कुरा संगठनात्मक व्यवस्थापन, लोकतान्त्रिक परिवर्तन र पार्टीभित्रका राजनीतिक, वैचारिक तथा सांगठनिक विषयलाई निरन्तर नवीकरण गरिराख्ने कुरामा पुराना दलहरू चिप्लिएका हुन्।
- त्यसमा ‘नेताको नैतिकता’ भन्ने पनि थपिदियो भने अझ पूर्ण हुन्छ होला नि ?
लोकतान्त्रिक नैतिकता त हुनुपर्यो। तर नैतिकता भनेको के हो ? तुरुन्त ड्याङका ड्याङ अहिलेको अहिले छोड्नुपर्थ्यो भन्ने हुन्छ। छोडेर चाहिँ के हुन्छ त ? उही पुरानै मोडल भयो भने त अर्थ रहेन। त्यसकारण हामीले विकास गर्न नसकेको त हाम्रो विधि र प्रणालीमा हो।
सरकारले दैनिक काममा देखाएको जाँगरलाई समर्थन छ तर मानव अधिकार र लोकतन्त्रको विषयमा सरकारले दिइरहेको संकेतप्रति मेरो गम्भीर टिप्पणी छ।
- त्यो मोडल र विधि परिवर्तन गर्नका लागि त फेरि सरल सहयात्रीहरू नै नेतृत्वमा पुग्नुपर्यो नि त। तर त्यो पुग्ने ठाउँ नै हुँदैन त अनि ?
नेतृत्वको टिमलाई र सबैलाई त्यहीँ पुर्याउनकै निमित्त भनेर हामी महाधिवेशनमा जाँदैछौँ।
- आशा गरिएका तपाईंहरू नै त्यही असफल नेतृत्वको प्रवक्ता बनिदिनुहुन्छ। अनि त्यो महाधिवेशनले चाहिँ के गर्छ ?
नेतृत्वलाई हामी भगवान् मान्ने पक्षमा छैनौँ। यति मात्रै कुरा हो कि, विधिको विकास गरेर नेतृत्वले आफ्नो भूमिका परिवर्तन गर्नका निमित्त तयार हुनुपर्छ। त्यसमा हामी नेतृत्वसँग आँखा जुधाएरै कुरा गरिरहेका पनि छौँ, कुरा गर्छौँ पनि। यत्ति हो कि, पछार्ने, लडाउने वा उचाल्ने ढंगबाट हामी काम गर्दैनौँ।
_EV6FBvoARN.jpg)
- एकीकृत समाजवादी र नेकपा (माओवादी) केन्द्र एकीकरण भएको वा सहकार्य गरेको पनि लामै समय भयो। तर त्यहाँभित्रको सांगठनिक अव्यवस्था त झन् कति हो कति !
एकपटकका लागि अझै सुधार्ने प्रयत्नमा छौँ। गल्तीहरू सुधार्ने भनेकै कम्युनिस्ट चरित्र हो।
हामीलाई अरू कसैले हराएको होइन, आफ्नै सांगठनिक व्यवस्थापन र विधिलाई नवीकरण गर्न नसक्दा हामी चिप्लिएका हौँ।
- विश्वास कसरी गर्ने ?
हामी लामो समय यसलाई तदर्थ राखेर स्वीकार गर्ने पक्षमा छैनौँ। आगामी महाधिवेशनसम्ममा पार्टीलाई एकदम चुस्तदुरुस्त बनाउँछौँ।
- के गरेर बनाउनुहुन्छ ? अहिलेको मूल नेतृत्व हटाउन सक्नुहुन्छ ?
संगठनका मोडलहरूका बारेमा हामीले बहस खुला गरेका छौँ। २१औँ शताब्दीको जनवादको नीति हामीले पास गर्यौँ, तर त्यसलाई व्यवहारमा लैजान सकेनौँ।
_9AxymlSSpD.jpg)
- त्यो व्यवहारमा लगेको भए के हुन्थ्यो ?
पार्टीको मूल नेतृत्व अभिभावकीय भूमिकामा बस्ने र सरकारमा नजाने हुन्थ्यो। सरकारमा जानेले कमजोरी गर्यो भने त्यसलाई बदल्ने अधिकार पार्टीले राख्ने, पार्टी चाहिँ जनता र सडकसँग जोडिने हुन्थ्यो। त्यहाँ भएका असन्तुष्टिहरूको सम्बोधन पार्टीले गर्ने र सरकारसँग केही असन्तुष्टि भयो भने त्यसको व्यवस्थापन गर्ने भूमिका पनि पार्टी नेताले अधिकारसहित खेल्ने भन्ने हुन्थ्यो।
- अनि कार्यान्वयनमा किन आउन सकेन त ?
सबै नेताहरूलाई आफैँ मन्त्री हुनुपर्ने भयो, आफैँ प्रधानमन्त्री हुनुपर्ने भयो। त्यसपछि सकेसम्म चुप लाग्दा नै राम्रै हुन्छ भन्ने गरियो।
- अहिलेको सरकारको कामप्रति तपाईंको टिप्पणी के छ ?
सरकारले गर्नुपर्ने दैनिक कामहरूको सन्दर्भमा जुन तीव्रता दिएको छ र जाँगरपूर्वक काम गरिरहेको छ, त्यसमा मेरो समर्थन नै छ। तर, कतिपय लोकतन्त्र र जनहितसँग सम्बन्धित विषय छन्, मानव अधिकारसँग जोडिएका विषय छन्; त्यसमा सरकारबाट जे संकेत आइरहेको छ, त्योप्रति मेरो गम्भीर टिप्पणी पनि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण