एमाआरपी विवाद तत्काललाई मत्थर: आयातकर्ताले भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य टाँस्न नपर्ने
सारांश
- सरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदा उद्योगी-व्यापारीबीच देखिएको असन्तुष्टि तत्काललाई मत्थर भएको छ।
- अब आयातकर्ताले भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य टाँस्नुपर्ने छैन, स्वघोषणा गरेपछि सामान जाँचपास हुने व्यवस्था मिलाइएको छ।
- उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनिवार्य गरिएको एमआरपी लेबल कार्यान्वयनमा कडाइ गर्दा व्यवसायीबीच तनाव उत्पन्न भएको थियो।
काठमाडौँ । विदेशबाट आयात हुने र स्वदेशमै उत्पादन हुने वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएसँगै उद्योगी–व्यापारीबिच देखिएको चर्को असन्तुष्टि तत्काललाई मत्थर भएको छ ।
अब तत्काल आयातकर्ताले भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य टाँस्न नपर्ने भएको छ । विदेशबाट आयात हुने सामानको भन्सार जाँचपास प्रक्रियालाई सहजीकरण गर्दै भन्सार विभागले एमआरपी स्वघोषणा गरेपछि सामान जाँचपास हुन सक्नेगरी सहजीकरण गरेको हो ।
एमआरपी विवादका कारण विभिन्न भन्सार कार्यालयमा रोकिएको जाँचपास प्रक्रिया सहज बनाउन अर्थ मन्त्रालय, उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागबीच भएको छलफल भएको थियो । छलफलपछि सहजीकरण गर्दै स्वघोषणापछि समान जाँचपास गरी छुट्ने व्यवस्था मिलाइएको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनकाअनुसार भन्सार विभागले देशभरका भन्सार कार्यालयलाई एमआरपी स्वघोषणा कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।
उनले एमाआरपीमा देखिएका केही मतभेदहरुलाई बजेटमार्फत सम्बोधन हुन सक्ने सम्भावना रहेको बताए । महानिर्देशक भण्डारीकाअनुसार अहिले भने बजारमा बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा एमआरपी लेबल उद्योगी व्यवसायीले टाँस्नुपर्नेछ । अहिले भन्सार विन्दुमा लागू गरिएको एमआरपी प्रतिबद्धता पत्रमा सामानको नाम, ब्रान्ड, मोडेल, परिमाण, खरिद मूल्य र घोषित एमआरपी उल्लेख गरे। आयातकर्ताको नाम, कम्पनीको विवरण, छाप र हस्ताक्षरसहित प्रक्रिया पूरा भएपछि मात्रै सामान जाँचपास हुने व्यवस्था लागू गरिएको छ ।
सरकारले एमआरपी लागू गरेपछि लामोसमयदेखि व्यवसायी र सरकारबिच टकराव देखिदै आएको थियो । व्यवसायीहरुले एमआरपी लागू गर्ने पक्षमा देखिदैनन् भने सरकारले भन्सार विन्दुबाट एमआरपी टाँसेर मात्रै समान भित्राउन उर्दी जारी गर्दै आएको थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेपाल जस्तो देशमा एमआरपी टाँसेर समान ल्याउन सक्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार नेपालमा पूर्वाधारको कमी भएकाले पनि एमआरपी कार्यान्वयन गर्न सकस छ ।
एमाआरपीमा गरिएको कानुनी व्यवस्था भने नयाँ होइन । २०७५ सालमा उपभोक्ता संरक्षण ऐन आएपछि कार्यान्वयन गर्ने सिलसिलामा सरकारले खासगरी एमाआरपीमा कडाइ गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले उत्पादन गरेका वस्तुमा र पैठारी गरिएका वस्तु भए पैठारीकर्ताले विक्री, वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने हुन्छ ।
लेबलमा उत्पादक/पैठारीकर्ताका नाम, ठेगाना, वस्तुमा राखिएका तत्त्वहरूको मिश्रण, परिमाण तौल, गुणस्तर, उत्पादन मिति, अधिकतम विक्री मूल्य, ब्याच नम्बर, र उपभोग्य अवधि लगायतका विवरण खुलाउनुपर्ने ऐनमा व्यवस्था छ । सोही व्यवस्थालाई वर्तमान सरकारले कडाइपूर्वक लागू गर्दा उद्योगी–व्यवसायीबिच तनावको स्थिति बनेको थियो । अब भने तत्काललाई एमआरपी स्वघोषणा पछि व्यवसायीले समान छुटाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण