‘मेरो व्यक्तिगत आचरणले कुनै कांग्रेसीको शिर निहुरिन दिन्न, यो मेरो बाचा भयो’
कर्णालीको सन्देश—कठिन बेला पनि कर्णालीले पार्टी जोगायो, अब एकताबद्ध कांग्रेस हुनुपर्छ
सारांश
- नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेलाले पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।
- सभापति गगनकुमार थापाले कर्णालीले पार्टी जोगाएको भन्दै प्रशंसा गर्दै चिन्तनमा जोड दिन आग्रह गरेका छन् ।
- थापाले पार्टीको नेतृत्वमा रहँदा आफ्नो व्यक्तिगत आचरणले कसैको शिर निहुरिने अवस्था आउन नदिने बाचा गरेका छन् ।
सुर्खेत। सोमबारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाले पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । पहिलो दिनको भेलामा बोलेका अधिकांशले पार्टी एकताबारे जोड दिएका थिए । कठिन परिस्थितिमा पनि कर्णालीले पार्टीलाई जोगाएको भन्दै नेताहरूले ठूला, पुराना नेताहरूलाई चाँडो पार्टीमा समाहित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सभापति गगनकुमार थापाले पनि गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा कर्णालीले पार्टीलाई जोगाएको भन्दै प्रशंसा गरेका छन् । कर्णालीले अत्यन्त अप्ठ्यारो अवस्थामा कांग्रेस पार्टीलाई जोगाएको बताए । ‘पार्टी जोगाउने भनेको एउटा पार्टी झन्डा जोगाउनुभएको मात्र होइन, एउटा विचार जोगाउनुभएको हो,’ उनले भने ।
निर्वाचनमा कर्णालीमा कांग्रेस पहिलो दल बनेको थियो । थापाले अब चिन्ता भन्दा धेरै चिन्तन गर्न नेता, कार्यकर्तालाई आग्रह गरे । ‘समीक्षा गर्दाखेरि जहिले पनि दुईवटा तरिका हुन्छ, एउटा चिन्ता गर्ने, अर्को चिन्तन गर्ने,’ उनले थपे, ‘चिन्ताले डुबाउँछ, चिन्ता नेगेटिभ कुरा हो । चिन्तामा ब्लेम गर्ने, दोष लगाउने मान्छे खोजिन्छ । तर चिन्तनले अलिकति गहिराइमा लिएर जान्छ ।’ कांग्रेसलाई यो बेला चिन्ता होइन चिन्तन चाहिएको थापाले बताए ।
थापाले पार्टीभित्रको समस्या र निर्वाचनमा मतदाताको मनसाय लक्षित टिप्पणी गर्दै नेपालमा २० प्रतिशतदेखि ४० प्रतिशतको बिचमा उदार राजनीतिक चिन्तन राख्ने मतदाताहरूको समूह रहेको बताए । ‘हामीले देखेका छौँ नि, वर्षैभरि कांग्रेस पार्टीलाई गाली गरेको छ, तर निर्वाचनको दिनमा रूख चिन्हमा मतदान गरेको छ,’ उनले अगाडि थपे, ‘त्यो एक प्रकारको आस्था हो ।’ तर निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले त्यो आस्थालाई खलबल्याइदिएको निष्कर्ष उनको थियो । उनले अगाडि भने, ‘रूखमा भोट हाल्ने मान्छेलाई कतै हँसिया हथौडामा, कतै कलममा, कतै सूर्यमा हाल्न लगाइयो । यसले गर्दा मतदाताको ठुलो पङ्क्ति अलमलियो र विकल्पको खोजीमा लाग्यो ।’ थापाले अब पार्टीलाई सूचना र प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने कुरा पनि राखे । ‘अहिले पोलिटिकल कम्युनिकेसनको ल्याङ्ग्वेज चेन्ज भइसकेको छ, एउटा कार्यकर्ताले मतदातासँग गएर सम्वाद गर्न अधिकतम ५ मिनेट समय पाउँछ,’ उनले भने, ‘तर त्यही मतदाताले दिनमा कम्तीमा ५ घण्टा सामाजिक सञ्जालमा बिताउँछ । त्यहाँबाट उसले सयौँ कन्टेन्टहरू प्राप्त गरिरहेको हुन्छ । हामी यो प्रतिस्पर्धामा कतै पनि छैनौँ । हामीले पनि प्रविधिको प्रयोग गरेर आफ्ना कुराहरू तलसम्म पुर्याउनु पर्नेछ ।’

उनले नेता, कार्यकर्तालाई अनुशासनमा रहन पनि आग्रह गरे । पार्टीको सदस्य भएर, पार्टीको जिम्मेवारीमा बसेर रूख चिन्ह भन्दा दायाँबायाँ गर्ने कुरा स्वीकार्य नहुने उनले चेतावनी नै दिए । ‘अब हामीले गर्न खोजेको कुरा संघमा सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने, प्रदेश र स्थानीय सरकार जहाँ हामीले जिम्मा पाएका छौँ, त्यहाँ प्रभावकारी र लोकप्रिय काम गर्ने,’ थापाले आगामी रणनीति बताए, ‘हामीलाई पार्टीको ७ लाख क्रियाशील सदस्यहरूको डिजिटल डाटा चाहिन्छ ।’ डोल्पाको विकटगाउँको सदस्यले पनि केन्द्रको सभापतिलाई आफ्नो कुरा भन्न पाओस् भन्ने आफुले चाहेको थापाले बताए । साथै अब टिकट बाँड्ने कुरामा पनि तलकै कार्यकर्ताको राय निर्णायक हुनुपर्ने उनले बताए ।
उनले आफ्नो तर्फबाट गर्नुपर्ने प्रतिबद्धता पनि जाहेर गरे । भने, ‘म तपाईँले विश्वास गरेर बनाएको सभापति हो, मेरो कारणले गर्दा, मेरो निर्णयले गर्दा, मेरो आचरणले गर्दा वा मेरो व्यक्तिगत जीवनका कारणले गर्दा म देशभरिको एक जना कांग्रेसको पनि शिर निहुरिने अवस्था आउन दिन्न । यो मेरो बाचा भयो ।’
कर्णाली सरकारको नेतृत्व अब कांग्रेसले गर्ने
मंगलबारसम्म चल्ने कांग्रेसको यो बेलामा कर्णाली प्रदेश सरकारको नेतृत्वको विषयमा पनि कुरा उठेको छ । यहाँ ०८१ साउनबाट कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् ।
यदि तत्कालीन केन्द्रीय समीकरण अनुसार, गएको चैत्र महिनामै कर्णालीको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही बन्नुपर्ने थियो । तर गत भदौको जेनजी आन्दोलनपछि देशमा धेरै राजनीतिक परिवर्तन आइसक्यो । त्यसअघि कांग्रेस प्रदेश संसदीय दल पटक–पटक सरकार छाड्ने धम्की दिथ्यो । तर त्यसपछि कांग्रेसभित्रनै समस्या आएपछि शाहीले कुनै चासो देखाएका छैनन् ।
प्रदेश पार्टीदेखि सांसदले समेत कि सरकारको नेतृत्व लिन कि छाड्न भन्दा पनि शाही पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको भन्दै पन्छिने गरेका थिए । तर सोमबारको भेलामा कांग्रेस सभापति थापाले सिधै अब कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने बेला आएको बताए । ‘तत्कालीन समयको सहमति अनुसार, अब कर्णालीमा कांग्रेस नेतृत्वको सरकार गठन गर्ने बेला आयो,’ थापाले थपे ।
कर्णालीको सन्देश—पार्टी एकताबद्ध होस्
अन्य प्रदेशबाट धेरैजसो जिल्ला सभापतिदेखि धेरैजसो प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा खुल्दा कर्णालीका ९ जना सभापति खुलेनन् । यहाँका अधिकांश प्रतिनिधि विशेषको पक्षमा खुलेका थिएनन् । कारण—कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का यहीँका थिए ।
कांग्रेस कर्णाली खड्का सभापति बनुन् भन्ने चाहन्थ्यो । जसका कारण ९ जना जिल्ला सभापतिले हस्ताक्षर नै गरेर विशेष महाधिवेशन रोक्नु पर्ने भनेका थिए । तर रोकिएन । पूर्णबहादुर खड्काले निर्वाचन नै नलड्ने घोषणा गरे । तर पनि उनको गृह प्रदेश कर्णालीमा अन्य प्रदेशको तुलनामा कांग्रेसले (५ सिट)राम्रो नतिजा ल्यायो । सोमबारको भेलामा सुरुमा जिल्लाका सभापति र गत फागुनको निर्वाचनमा उम्मेदवार बनेकाहरूले बोलेका थिए । जसमा अधिकांशले पार्टी एकताको पक्षमा बोले ।
धेरैजसो नेताहरूले बैठकमा पूर्णबहादुरको खोजी मात्र गरेनन्, सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूलाई भने,‘हाम्रा नेताहरू अहिले पार्टी बाहिर हुनुहुन्छ । यदाकता सभापतिसँग पूर्णबहादुर खड्काको तस्बिर पनि आएको थियो । चाँडो एकता हुनुपर्छ ।’
‘देशमा विषम परिस्थिति छ, यो विषम परिस्थितिलाई समाधान गर्ने भनेको कांग्रेस मात्रै हो, त्यो भएको हुनाले कांग्रेस छुट्टाछुट्टै गएर हुँदैन, एकजुट हुनुपर्छ भन्ने त सबैको धारणा भयो,’ भेलामा सहभागी एक नेताले भने, ‘त्यसपछि अब निर्वाचनमा अब जे जस्ता कारणले पराजय भए पनि अब त्यसलाई स्विकारेर सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने भयो । जित्या ठाउँमा पनि अब उनीहरूले जित्नेले आफ्नो तरिकाले जित्यौँ भन्ने, हार्नेले कसैले नियमित टिकट पाउनेले विशेषका कारणले भन्ने भयो, विशेषका कारणले टिकट पाउनेले नियमित भन्ने भयो, त्यो राजनीतिक कल्चर नै यस्तै थियो ।’
अब समग्रमा स्थानीयदेखि प्रदेश सरकारमा कांग्रेसले जहाँ–जहाँ नेतृत्व गर्छ, त्यो ठाउँमा जनताका लागि काम गर्नुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ भन्ने तरिकाले छलफल भएको उनले बताए । सभापति र निर्वाचनमा उम्मेदवार बोलेपछि कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही, केन्द्रीय सदस्य जानकी सिंह, महामन्त्रीदेखि उपसभापति विश्वप्रकाश शर्माले पनि एकताको कुरालाई जोड दिए ।
‘समग्रमा सबै पार्टी एउटै त हो, अब मिलेर जाने हो, हामी मिलाउँछौँ भनेर विशेष पक्षबाट निर्वाचित पदाधिकारीले भन्नुभयो,’ अर्का एक नेताले भने ।
मंगलबार स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका सांसदहरू, जिल्ला सभापतिहरूको प्रशिक्षण कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण