सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस इतर पक्षको कोशी प्रदेश भेला

पार्टी कब्जा गर्ने शैलीको विरोधमा भेला गरेको दाबी
मङ्गलबार, २९ वैशाख २०८३, १५ : ३८
मङ्गलबार, २९ वैशाख २०८३

विराटनगर । नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै इतर पक्षले कोशी प्रदेशस्तरीय भेला तथा छलफल सुरु गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत संस्थापन पक्षले प्रदेश भेला तथा प्रशिक्षणहरू गरिरहेका बेला, महाधिवेशनपछि जिम्मेवारीविहीन बनाइएका नेता तथा कार्यकर्ताहरूलाई समेटेर इतर पक्षले विराटनगरमा छुट्टै भेला आयोजना गरेको हो ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले पार्टीभित्र हुर्किएको कब्जाको शैलीको भण्डाफोर गर्दै पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा सघन छलफल भइरहेको बताएका छन् ।

महामन्त्री राईले सभापति गगन थापा पक्षले पार्टीलाई आफ्नो नियन्त्रणमा मात्र राख्न खोजेको आरोप लगाएका छन् । ‘यो विशेषगरी महाधिवेशनपछि जिम्मेवारी नपाएका, पछाडि पारिएका साथीहरूको भेला हो,’ राईले भने, ‘पार्टी जुन कब्जाको शैलीले सञ्चालन भइरहेको छ, त्यसलाई चिरेर बाहिर निकाल्नुपर्छ र समग्र कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नै हाम्रो मुख्य एजेण्डा हो ।’

यस भेलालाई संस्थापन इतरको मात्र नभएर पार्टीभित्र रूपान्तरण चाहने सबै पक्षको साझा मञ्च भएको दाबी गरिएको छ । राईले यसलाई विशुद्ध विशेष महाधिवेशनको विपक्षमा रहेका सबैको भेला भएको बताए । ‘यहाँ कुनै एउटा मात्र गुट छैन । यहाँ डा. शेखर कोइराला, शेरबहादुर दाईको मात्र होइन, पूर्णबहादुर खड्का दाइ र डा. शशांक कोइराला दाइलाई मान्ने नेताहरूको पनि उपस्थिति छ,’ राईले स्पष्ट पारे । संस्थापन पक्षकै कतिपय नेताहरूसमेत नेतृत्वको पेलाइमा परेका कारण यो भेलामा सहभागी भएको उनको संकेत थियो ।

विराटनगरमा आयोजित यस भेलामा कोशी प्रदेशका प्रभावशाली नेताहरूको सहभागिता छ । महामन्त्री राईका अनुसार छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वमन्त्रीहरू र प्रदेशका शीर्ष नेताहरू उपस्थित छन् ।

छलफलमा नेताहरू कृष्ण सिटौला र मीन विश्वकर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशका मन्त्री भीम पराजुली, केन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, सीता खतिवडाका साथै सुनिता गच्छदार, सुनिता गुरुङ, भोला राजवंशीलगायत नेताहरूको सहभागिता रहेको छ ।

भेलामा मुख्यगरी दुईवटा विषयमा गम्भीर छलफल भइरहेको छ । पहिलो, पार्टीलाई रूपान्तरण गर्दै कसरी बलियो र जनमुखी बनाउने भन्ने रणनीतिक विषय । दोस्रो, नेपाली कांग्रेसको तल्लो तहको संगठन निर्माणको आधार मानिने क्रियाशील सदस्यताको वितरण र नवीकरणको विषय पनि छलफलमा रहेको राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप