संसद्मा देखियो जनयुद्धका 'सुप्रिमो' र 'सैन्य कमान्डर'को दुई रूप
सारांश
- तत्कालीन नेकपा माओवादीका दुई नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र रामबहादुर थापा 'बादल' प्रतिनिधि सभा बैठकमा फरक रूपमा प्रस्तुत भए ।
- जनयुद्धका सुप्रिम कमान्डर प्रचण्डले समावेशी प्रतिनिधित्वलाई उपलब्धि मानेर नरम प्रस्तुति दिए भने सैन्य कमान्डर बादलले आक्रामक शैलीमा सत्तासीन पार्टी र सेनाको भूमिकामाथि प्रश्न उठाए ।
- दुई नेताको फरक प्रस्तुतिले नेपाली राजनीतिको दसकौँ पुरानो बिम्बलाई जीवन्त बनाएको महसुस गराएको छ ।
काठमाडौँ । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा जबरजस्त रूपमा धेरैलाई आफूतर्फ ध्यानाकृष्ट गराउन सफल भए तत्कालीन नेकपा माओवादीका दुई नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र रामबहादुर थापा 'बादल' । यी दुवै नेता माओवादीको १० वर्षे जनयुद्धका बेला प्रमुख भूमिकामा थिए ।
तर, अनेक राजनीतिक आरोह-अवरोहपछि अहिले दुवै नेताको राजनीतिक यात्रा अलि फरक छ । प्रचण्ड केहीअघि माओवादी केन्द्रबाट नेपाल कम्युनिस्ट पार्टीका संयोजकमा रूपान्तरण भएका छन् भने बादल नेकपा एमाले संसदीय दलको नेताको भूमिकामा छन् । उसो त माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र बादलबिच दुई पटक राजनीतिक डिभोर्स भइसकेको छ । पछिल्लो पटक नेकपा विभाजन भएपछि बादल एमालेतिर लागेर प्रचण्डको साथ छाडेका थिए ।
संयोग नै मान्नुपर्छ- विगतमा एउटै विचार, सिद्धान्त र पार्टीमा रहेका प्रचण्ड र बादल अहिले अलग पार्टीबाट संसदीय दलको नेताको भूमिकामा रहेका छन् । संसदीय दलको नेता मात्र होइन, संसद्मा उनीहरूको अर्को पनि समानता छ, त्यो हो दुवै नेता प्रतिपक्ष बेन्चमा सीमित छन् ।
स्मरणीय छ ‘प्रचण्ड’ जनयुद्धकालका सुप्रिम कमान्डर हुन् भने बादल सैन्य कमान्डर हुन् । उनै दुई नेता मङ्गलवारको प्रतिनिधि सभा बैठकमा दुई रूपमा प्रस्तुत भए ।
बर्खे अधिवेशनको पहिलो दिन वैशाख २८ गते संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह अचानक उठेर हिँडेपछि राजनीतिक माहौल तातिएको थियो । प्रधानमन्त्री शाहको यो कार्यशैलीलाई कतिले अनौठो माने त केहीले आलोचना नै गरे । हुन पनि नेपालको संसदीय इतिहासमा राष्टप्रमुखको सम्बोधन भइरहेका बेला कार्यकारी प्रमुख यसरी हिँडेको पहिलो घटना भएकाले पनि यो विषय तातिएको मानिएको छ ।
यस्तो स्थितिमा मङ्गलवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहको कार्यशैलीबारे विपक्षी दलका सांसदहरूले विषय उठान नगर्ने कुरै भएन । त्यसक्रममा कांग्रेस नेताले त प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणकै कुरा पनि गरे भने सत्तापक्षका सांसदहरूले प्रधानमन्त्री र सरकारका कामकारबाहीको बचाउ गर्ने नै भए ।
यस्तो स्थितिमा बसेको बैठकमा विगतमा एउटै मोर्चामा रहेका र अहिले अलग पार्टीबाट संसद्मा बोल्न पुगेका प्रचण्ड र बादलका पछिल्ला अभिव्यक्ति तुलनायोग्य बन्न पुग्यो । प्रचण्ड र बादल संसद्मा बोल्दा प्रयोग भएका शब्द र प्रस्तुतिलाई नियाल्दा प्रचण्ड नरम, चिन्तनशील र ऐतिहासिक विरासतको रक्षाको पक्षमा उभिएको देखियो भने बादल प्रचण्ड भन्दा आक्रामक र सत्तासीन पार्टीको भूमिकामाथि हमलाको शैलीमा प्रस्फुटित देखिए। यी दुई नेताको संसद्मा देखिएको द्वन्द्वात्मक प्रस्तुतिले नेपाली राजनीतिको दसकौँ पुरानो बिम्बलाई जीवन्त बनाएको महसुस गराएको भान हुन पुगेको छ ।
सदनमा भावनात्मक, ऐतिहासिक र समावेशी दृष्टिकोणबाट सम्बोधन गरेका प्रचण्डले नयाँ संसद् भवन र त्यसको प्रतिनिधित्वलाई ‘सिमेन्ट, इँट र फलाम’को संरचना मात्र नभई रगत र बलिदानसँग तुलनामा समय खर्चिए।
‘हामीले यो रङ्गीचङ्गी संसद् बनाउनका लागि हिजो बन्दुक उठाएका थियौँ, आन्दोलन गरेका थियौँ’ प्रचण्डले आफ्नो सम्बोधनका क्रममा नोस्टाल्जिक हुँदै भने, ‘यो संसद्मा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु तथा अन्य सीमान्तकृत समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्व चुनावी नतिजाभन्दा ठुलो उपलब्धि हो । यो रगत र क्रान्तिले लेखिएको कथा हो ।’
प्रचण्डको अभिव्यक्तिमा समावेशीताका लागि आफ्नो विगतको योगदान झल्कन्थ्यो ।
गएको चुनावमा आफूमात्र पूर्व प्रधानमन्त्रीको ताँतीमध्येबाट संसद् छिरेको र पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन भएकोमा पुलकित भएका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि गरिएका दशकौँका सङ्घर्षहरू जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनका शहीदहरूलाई स्मरण गर्दै अहिलेको सरकार र सत्ताको व्यवहारप्रति सन्तुष्ट हुन नसकेको सभ्य शैलीमा सङ्केत गरे ।
तर, उनले चुनावमा रास्वपाको सफलतालाई अस्वीकार भने गरेनन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै नयाँ शक्तिको उदयलाई लोकतन्त्रको एक प्रक्रियाका रूपमा आत्मसात् गर्नुपर्छ भन्ने प्रचण्ड सम्बोधनमा सार झल्किन्थ्यो ।
परिपक्व, सन्तुलित र भविष्यप्रति चिन्तित प्रचण्ड सम्बोधनमा आक्रोशभन्दा ऐतिहासिक गौरव, समावेशिता र चेतावनीको मिश्रणभाव बुझ्न सकिन्थ्यो । संसद्मा आफ्नो पार्टीको सिट सङ्ख्या कम भए पनि समावेशी प्रतिनिधित्वलाई उपलब्धि ठान्ने प्रचण्डको तुलनामा उनका सहयात्री तर अहिले फरक कित्तामा रहेका र त्यो पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेका बादल भने संसद्मा निकै गरम र आक्रामक रूपमा प्रस्तुत भए ।
बादलले भने केही घटनाक्रमलाई उदाहरणका रूपमा लिँदै नेपाली सेनाको भूमिकामाथि कडा प्रश्न गरे ।
‘केही घटनामा नेपाली सेना मूकदर्शक किन बन्छ ? सीमा क्षेत्रमा, सुकुम्बासीमाथिको कारबाहीमा र अन्य घटनामा सेनाको किन भेदभावपूर्ण भूमिका ?’, बादलको खरो प्रश्न थियो । बादलले सेनाको भूमिकामाथि मात्र प्रश्न गरेनन्, सत्तारुढ दल रास्वपालाई ‘अराजक गठबन्धन र निलो क्रान्ति’ समेत भन्न भ्याए ।
उनी त्यतिमामात्र रोकिएनन् । सिद्धान्त र विचारधाराविहीन गठजोड, महत्त्वाकाङ्क्षा र बाह्य प्रभावमा आधारित शक्ति भएको आरोप लगाएका बादलले ‘भ्रम र विरोधाभासको दर्शन’का रूपमा रास्वपालाई चित्रित गरे ।
जेनजी आन्दोलनका क्रममा भएका घटना (भदौ २३–२४) लाई योजनाबद्ध भन्दै सरकार र सेनाको भूमिकामाथि प्रश्न उठाएका बादलले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरूप्रति सरकारले ल्याएको नीति तथा कार्यक्रम मौन रहेकोमा सरकारमाथि प्रश्न तेर्स्याए ।
बादलको आक्रोशपूर्ण सम्बोधनले सदनमा तत्काल विवाद नै निम्त्यायो । अनि रास्वपा र राप्रपाका सांसदहरूले नियमापत्ति जनाउँदै उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । बादलको यो शैलीलाई पुरानै क्रान्तिकारी आक्रोश र सैन्य कमान्ड शैलीको निरन्तरताका रूपमा समेत टिप्पणी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण