गएको निर्वाचनमा समावेशीता र पारदर्शिताको अभाव: एसियन नेटवर्क फर फ्री इलेक्सन्स
सारांश
- एसियन नेटवर्क फर फ्री इलेक्सन्स (एन्फ्रेल) ले हालै सम्पन्न निर्वाचनको प्रक्रिया र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
- एन्फ्रेलकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको र पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारले कार्य प्रभावित भएको बताइन्।
- निर्वाचन प्रक्रियामा समावेशीता र पारदर्शिताको अभाव, मतदाता शिक्षाको कमी, र पर्यवेक्षकहरूलाई मतदान केन्द्रमा सहज पहुँच नमिलेको एन्फ्रेलको ठहर छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्स (एन्फ्रेल) ले हालै सम्पन्न निर्वाचनको प्रक्रिया र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाले गत चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि निर्वाचन पर्यवेक्षणका क्रममा स्वतन्त्रता नपाएको सम्मका तथ्यहरू सार्वजनिक गरेको हो।
संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको र पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारले कार्य प्रभावित भएको बताएकी छन्। उनले निर्वाचन प्रक्रियामा समावेशीता र पारदर्शिताको अभाव देखिएको भन्दै पहुँच र सहभागितामा विभिन्न बाधा सिर्जना भएको उल्लेख गरिन्। विशेषगरी अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्री तथा सहजीकरणको अभाव देखिएको एन्फ्रेलको ठहर छ।
कार्तोसका अनुसार सरकारले निर्वाचनका क्रममा सांकेतिक भाषाका दोभासे, श्रव्य–दृश्य सामग्रीमा ‘सबटाइटल्स’ तथा अन्य सहायक प्रविधिमा पर्याप्त ध्यान दिएको देखिएन। मानव अधिकार तथा अपाङ्गता अधिकारसम्बन्धी संस्थाहरूसँग गरिएको छलफलले पनि निर्वाचन सामग्रीहरू सबै वर्गका मतदातामैत्री नरहेको निष्कर्ष निकालेको उनले जानकारी दिइन्।
मतदाता शिक्षाका कार्यक्रमहरू प्रभावकारी र सबैको पहुँचयोग्य बन्न नसकेको प्रतिवेदनमा उल्लेख छ। निर्वाचनको दिन पर्यवेक्षकहरूले मतदान केन्द्रमा सहज पहुँच नपाएको विषयलाई पनि एन्फ्रेलले प्राथमिकताका साथ उठाएको छ।
कतिपय सुरक्षाकर्मीलाई निर्वाचन पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको कार्तोसले बताइन्। कतिपय स्थानमा प्रवेश पाए पनि १० मिनेटभन्दा बढी बस्न नदिइएको र स्वतन्त्र रूपमा अवलोकन गर्न अवरोध सिर्जना गरिएको उनले जानकारी दिइन्। यस्तो व्यवहारले निर्वाचनको निष्पक्ष अनुगमनमा नकारात्मक असर पुगेको सो संस्थाको निष्कर्ष छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण