बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भयो’, बैठक छोड्दै हर्क साम्पाङले पोखे आक्रोश

बुधबार, ३० वैशाख २०८३, १५ : २०
बुधबार, ३० वैशाख २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (राई) ले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा उहाँको अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन्।
  • उनले प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधिलाई पठाउने गरिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।
  • उनले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढङ्गले काम गरिरहेको र प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाए।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (राई) ले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन्। 

प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधिलाई पठाउने गरिएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरेका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे। उनले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढङ्गले काम गरिरहेको र प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप समेत लगाए। विशेष गरी नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पर्याप्त छलफल गर्ने समय नदिई अध्ययनका लागि अत्यन्तै कम समयमा दस्ताबेजहरू उपलब्ध गराइएको उनको दाबी छ।

बैठक बहिष्कार गरेपछि उनले भने, ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ। मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ। आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन। नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन।’

आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै राईले अन्य दलहरूले पनि विरोध जनाइरहेको र उनीहरू पनि बाहिरिने क्रममा रहेको बताए। सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको सङ्केत गर्दै उनले प्रतिपक्षीलाई कसैले दबाउन नसक्ने चेतावनी दिए। जनप्रतिनिधिले उठाएका यी विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन अब आम जनताले गर्ने उनले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप