सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लागुऔषध, ५ लाख नगद र सुनचाँदीसहित दुई जना वीरेन्द्रनगरबाट पक्राउ

बुधबार, ३० वैशाख २०८३, १८ : २६
बुधबार, ३० वैशाख २०८३

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषध, नगद र सुनचाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ४८ वर्षीय यकेन्द्र सुनार र वडा नम्बर १४ का २० वर्षीय प्रशान्त सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–३ बाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

'शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र कोठा खानतलासी गर्दा १०९ पुडिया (प्लास्टिकसहित ७ ग्राम ८७० मिलिग्राम र शुद्ध ३ ग्राम ७२० मिलिग्राम) ब्राउनसुगर बरामद भएको छ,' उनले भने, 'साथै, उनीहरूको साथबाट स्रोत नखुलेको ५ लाख १५ हजार ५५० रुपैयाँ नगद र बिल नभएका ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना समेत फेला परेको छ ।'

बरामद गरिएका गरगहनामा ५ थान माइली तिलहरी, ५ थान चन्द्रमा, ३३ थान औँठी, १ थान चन्द्रमा हार, ८ थान काँटा, ६ थान जुली, ४ थान टप, २ थान नथिया, १ थान बुलाकी, १ थान फुली, २ थान मँडरी र १ थान माला रहेका छन् ।

त्यस्तै, चाँदीका सामग्रीमा ३० थान पाउजु, २८ थान पाउजु अड्काउने, ३२ थान औँठी, १० थान बाला, ४ थान बिछिया, ३ थान सिक्री र २ थान सिक्का बरामद गरिएको पनि बुढ्थापाले बताए।

पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप