शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
सांसदसँग

दलित समुदायको उत्थान र मुक्तिका लागि म लडिरहन्छु : सांसद विश्वकर्मा

बुधबार, ०६ जेठ २०८३

तेह्रथुमको एक निजी विद्यालयमा कुनै समय शिक्षकका रूपमा कार्यरत थिइन् विष्णुमाया विश्वकर्मा । ६ वर्ष शिक्षण पेसा अँगालेकी उनी पछि गएर पूर्ण रूपमा नेकपा एमालेको राजनीतिमा होमिइन् । यद्यपि सांसद बन्छु भन्ने उनले सोचेकै थिइनन् ।

एमाले तेह्रथुम जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला संघ जिल्ला कमिटी उपसचिवको जिम्मेवारी सम्हालेकी विष्णुमाया एमालेको दलित महिला कोटाबाट समानुपातिक सांसद बनिन् । उनी राजनीतिमा प्रतिबद्ध र जुझारु महिला हुन् । उनी २०६३ मा कोशी अञ्चल कमिटी सदस्य र अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य बनिन् ।

तेह्रथुम एमाले जिल्ला इन्चार्ज बनेकी उनी एमालेको दशौँ र एघारौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

विष्णुमायाले संसदमा दलितहरूको हक, अधिकारका लागि आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् । ‘दलितहरूलाई कसरी माथि उठाउन सकिन्छ, त्यसमा पहल गर्नेछु,’ रातोपाटीसँग उनले भनिन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा लागेकी उनले अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्यबाट एमालेको पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । एमालेका विभिन्न तहगत संरचनामा तल्लो कमिटीदेखि काम गर्दै केन्द्रीय कमिटीसम्म पुग्न सफल महिला हुन् उनी ।

‘सांसद किन बन्नुभयो ?’ रातोपाटीको प्रश्नमा उनले भनिन्, ‘सामाजिक रुपान्तरणको लागि । विशेषगरी दलित समुदायको उत्थानका लागि, मुक्तिका लागि म लड्छु ।’

2-WhatsApp Image 2026-05-19 at 18.56.54

यो समाजको सबैभन्दा निम्न वर्गमा दलित समुदाय छन् । उनको बुझाइमा गरिबी, अशिक्षा, रोजगारी सबै प्रकारले सीमान्तकृत वर्ग भनेको दलित समुदाय हो । उत्पीडनमा परेको त्यो वर्गको उत्थानका लागि लडिरहने उनी बताउँछिन् ।

विष्णुमाया प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा एक्ली दलित सांसद हुन् । उनले दलितहरूको हक, अधिकारको लागि निरन्तर आवाज उठाउने र दलितको पक्षमा कानुन बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारिन् ।

दलितहरूको राजनीतिक, सामाजिक, आर्थिक हैसियत कसरी माथि उठाउन सकिन्छ, त्यसमा निरन्तर पहल गर्ने उनले बताइन् ।

दलित समुदायहरूको हक अधिकारको सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारको निमित्त आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्ने बाचा उनले गरिन् । ती प्रतिबद्धता पूरा गर्न हरेक मन्त्रालयमा दिनहुँ धाइरहेको उनी बताउँछिन् ।

(विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया