सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
सारांश
- पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि अभियानलाई तीव्रता दिएको छ ।
- सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
- महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने र यो अभियान निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् ।
सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताए । उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल ‘फिर्के कोरिडोर’ निर्माण सुरु गर्न सुझाव दिएका छन् । महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि बहानामा सार्वजनिक जग्गा मिच्ने कार्य स्वीकार्य नभएको र यो अभियान निरन्तर जारी रहने उनले बताए ।
उनले महानगरभित्र रहेको सार्वजनिक जग्गाको एकीकृत लगत सङ्कलन भइरहेको र केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार पोखरामा वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ ।
उक्त जग्गाको यकिन लगत तयार भएपछि कसैले अतिक्रमण गरेको पाइएमा तत्काल खाली गर्न सूचित गरिने र अटेर गरेमा महानगरले कानुनी प्रक्रियाअनुसार आफैँ अतिक्रमण हटाउने आचार्यले स्पष्ट पारे ।
महानगरले ३३ वटै वडामा खेलमैदान र उद्यान (पार्क) निर्माण गर्ने योजना अघि सारेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूको उचित व्यवस्थापन भएपछि मात्र व्यवस्थित बसपार्क निर्माणको काम सुरु हुने प्रमुख आचार्यको भनाइ छ ।
पोखरा–१ स्थित टुँडिखेलको जग्गा यकिन गर्ने कार्य पनि छिट्टै थालिने महानगरले जनाएको छ । सडक, राजकुलो, चौर र अन्य सार्वजनिक स्थल अतिक्रमण गर्नु कानुन विपरीत हुने भन्दै कसैले त्यस्तो जग्गामा निजी संरचना वा व्यवसाय सञ्चालन गरेको भए आफैँ खाली गर्न महानगरले आह्वान गरेको छ ।
सार्वजनिक सुनुवाइमा स्थानीयले महानगरको सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा समेत जिज्ञासा राखेका थिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण