शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व

शनिबार, ०२ साउन २०८३, ०९ : ५५
शनिबार, ०२ साउन २०८३

सारांश

  • सुदूरपश्चिमको प्रसिद्ध श्री शैलेश्वरी भगवती मन्दिरमा प्रत्येक १२ वर्षमा आयोजना हुने पवित्र कोटीहवन महायज्ञ २०८३ साल माघ २८ गतेदेखि फागुन १० गतेसम्म सम्पन्न हुनेछ।
  • स्कन्दपुराण र स्थानीय जनश्रुतिअनुसार, भगवान शिव र पार्वतीको मधुचन्द्रिका बिताउने स्थानमा शिलाभित्र लीन भएकी पार्वतीबाट 'श्री शैलेश्वरी' नाम रहन गएको धार्मिक विश्वास छ।
  • यस महायज्ञको व्यवस्थापनमा स्थानीय सरकारको नेतृत्वमा समन्वय र मन्दिरभित्रका धार्मिक अनुष्ठान परम्परागत पूजारीहरूको मार्गदर्शनमा सञ्चालन गरिनुपर्ने प्रस्ताव गरिएको छ।

सुदूरपश्चिमको आस्थाको केन्द्र, सिलगढी डोटीमा अवस्थित प्रसिद्ध  श्री शैलेश्वरी भगवती मन्दिरमा प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुने पवित्र कोटीहवन महायज्ञ (कुम्भ महापर्व) २०८३ साल माघ २८ गतेदेखि फागुन १० गतेसम्म सम्पन्न हुँदैछ। 

यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई माता श्री शैलेश्वरीको दर्शन, पूजाआराधना तथा कोटीहवन महायज्ञमा सहभागी भई पुण्य लाभ र सम्पूर्ण  मनोइच्छा प्राप्त गर्न हार्दिक निमन्त्रणा गर्दछु।

सुदूरपश्चिम नेपालको ऐतिहासिक तथा धार्मिक नगरी सिलगढीमा अवस्थित श्री शैलेश्वरी भगवती मन्दिर प्राचीनकालदेखि नै श्रद्धा, विश्वास र आस्थाको अनुपम केन्द्र रहँदै आएको छ। यो केवल एउटा मन्दिर मात्र नभई नेपाली सभ्यता, संस्कृति, धार्मिक परम्परा र आध्यात्मिक चेतनाको महत्वपूर्ण धरोहर पनि हो।

स्कन्दपुराण तथा स्थानीय जनश्रुतिअनुसार, सत्ययुगमा भगवान महादेवले माता पार्वतीसँग विवाह सम्पन्न गरेपछि कैलाश पर्वतबाट विभिन्न तीर्थस्थलहरूको भ्रमण गर्दै डोटीको रमणीय वन क्षेत्रमा मधुचन्द्रिका (दाम्पत्य विहार) बिताउन आउनुभएको थियो। हिमाल, हरियाली र प्रकृतिको अनुपम सौन्दर्यले भरिएको यो स्थान भगवान शिव र माता पार्वतीको मनपर्ने विश्रामस्थल बनेको विश्वास गरिन्छ।

भगवान शिव र माता पार्वती दिव्य दाम्पत्य विहारमा रमाइरहनुभएको बेला देवगणहरू भगवान शिवको दर्शन गर्न अकस्मात् त्यहाँ आइपुगे। उनीहरूको अकस्मात् आगमनले माता पार्वती लज्जित हुनुभयो। आफ्नो मर्यादाको रक्षा गर्न उहाँ तत्काल नजिकै रहेको विशाल शिलाभित्र लीन हुनुभयो।

 त्यही शिला दिव्य शक्तिले आलोकित भयो र भगवान महादेवले त्यस स्थानलाई देवीशक्तिको पवित्र निवासका रूपमा प्रतिष्ठित गर्नुभयो। त्यसपछि भक्तजनहरूले उक्त शिलालाई आदिशक्तिको स्वरूप मानी पूजा–आराधना गर्न थाले। यही कारणले देवीको नाम "श्री शैलेश्वरी" रहन गएको धार्मिक विश्वास छ। संस्कृत भाषामा 'शैल' को अर्थ पहाड वा शिला र 'ईश्वरी' को अर्थ देवी हो। अर्थात् शिलामा वास गर्ने देवी।

अर्को धार्मिक विश्वासअनुसार उक्त शिलामा माता पार्वतीको आधा शक्ति र भगवान शिवको आधा शक्ति एकाकार भई अर्धनारीश्वर स्वरूप प्रकट भएको मानिन्छ। यसैले यो स्थान शिव–शक्तिको अद्वितीय मिलनस्थलका रूपमा पनि पूजनीय छ।

स्थानीय जनविश्वासअनुसार 'सिलगढी' नामको उत्पत्ति 'सिल' र 'गढी' शब्द पनि यसै सिलासँग सम्बन्धित भएको मानिन्छ।  'सिल' लाई माता पार्वती लिन भएको शिलाको प्रतीकका रूपमा र 'गढी' लाई प्राचीन गढ वा सुरक्षित बस्तीका रूपमा व्याख्या गरिन्छ। यसरी 'सिलगढी' लाई देवीको पवित्र गढ वा देवीको निवासस्थलका रूपमा श्रद्धापूर्वक बुझ्ने परम्परा रहिआएको छ।

श्री शैलेश्वरी मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्ये एक प्रमुख पवित्र शक्तिधाम हो। यहाँ प्रत्येक वर्ष  कार्तिक शुक्ल पूर्णिमामा भव्य मेला; जेठ पूर्णिमा र माघ पूर्णिमामा विशेष पूजा लाग्छ। कोटीहवन महायज्ञ प्रत्येक १२ वर्षमा आयोजना गरिन्छ भने महाकोटि हवन महायज्ञ १४४ वर्षमा एकपटक आयोजना हुने विशेष धार्मिक अनुष्ठान हो। मन्दिर पगोडा शैलीमा निर्मित छ र परिसरमा शिव, गणेश, भैरव, चण्डेश्वरी, मष्टा तथा हनुमानलगायतका मन्दिरहरू अवस्थित छन्। 

स्थानीय भट्ट ब्राह्मणहरूले दैनिक पूजा–आराधना सञ्चालन गर्छन् भने १२ गाउँका बारालाहरूले परम्परागत रूपमा मन्दिर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। मेलाको समयमा पञ्चेबाजा, देउडा, धार्मिक नृत्य तथा वैदिक र तान्त्रिक परम्पराका विविध अनुष्ठानहरूले यस क्षेत्रलाई अझ जीवन्त बनाउँछन्।

यही पौराणिक कथाको मर्मलाई आत्मसात् गर्दै आजसम्म शैलेश्वरी क्षेत्रको शान्ति, पवित्रता र मर्यादा कायम राख्न शैलेश्वरी विकास समिति, मन्दिरका पुजारीहरू, १२ बरल्लाहरू , स्थानीयवासी तथा सम्पूर्ण भक्तजनहरूले पुर्‍याउँदै आएको योगदानप्रति म हृदयदेखि नै सम्मान र कृतज्ञता व्यक्त गर्दछु।

 शान्त वातावरण कायम गर्नुको उद्देश्य  भनेको भगवान शिव र माता पार्वतीको दिव्य मधुचन्द्रिकाको स्मृतिलाई सम्मान गर्नु हो। हामीले यस्तो अनुभूति गराउन सक्नुपर्छ कि यस पवित्र भूमिमा भगवान शिव र माता पार्वतीको दिव्य उपस्थिति आज पनि अनुभूत हुन्छ, त्यसैले उहाँहरूको एकान्त, शान्ति र पवित्रतालाई हामी सबैले सम्मान गर्नुपर्छ।

यसै सन्दर्भमा, श्रद्धापूर्वक एउटा व्यक्तिगत सुझाव प्रस्तुत गर्न चाहन्छु। यदि सम्भव भए अब उप्रान्त सधैँको लागि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म मन्दिर परिसरलाई ‘पवित्र मौन क्षेत्र’ का रूपमा व्यवस्थापन गर्न सकियो भने माता श्री शैलेश्वरीसँग सम्बन्धित पौराणिक कथाको मर्म र गरिमा अझ जीवन्त रहने विश्वास गर्दछु। यस अवधिमा र अन्य समयमा पनि, अनावश्यक आवतजावत, ठूलो स्वरमा बोल्ने, हल्ला गर्ने, घण्टी, शङ्ख तथा अन्य ध्वनिजन्य गतिविधि र तडकभडकलाई यथासम्भव सीमित गर्न सकियो भने यस पवित्रस्थलको शान्त, ध्यानमय र आध्यात्मिक वातावरण अझ सुदृढ बन्नेछ।

 साथै, शैलेश्वरी धाम वरपर स्थानीय वनस्पतिलाई संरक्षण गर्दै घना  हरियोवन  क्षेत्रको विकास गर्न सकियो भने प्राकृतिक सौन्दर्य, जैविक विविधता र आध्यात्मिक अनुभूति अझ समृद्ध हुनेछ। त्यसले भगवान महादेव र माता पार्वतीले मधुचन्द्रिका बिताउन रोज्नुभएको पौराणिक वनभूमिको स्मृतिलाई पनि जीवन्त राख्नेछ र शैलेश्वरी धामलाई प्रकृति, संस्कृति र आध्यात्मिकताको अनुपम संगमका रूपमा स्थापित गर्न थप सहयोग पुग्नेछ।

जब कुनै नयाँ भक्तजन वा पर्यटकले "रातिको समयमा यहाँ यति शान्त वातावरण किन कायम गरिन्छ?" भनेर जिज्ञासा राख्नेछन्, त्यसको उत्तर यही पौराणिक कथाले दिनेछ। त्यसबेला यो कथा केवल पुस्तकका पानामा सीमित रहने छैन, न त केवल पुराना पुस्ताले सुनाउने जनश्रुति मात्र रहनेछ; बरु प्रत्येक भक्तले प्रत्यक्ष अनुभव गर्ने जीवित परम्पराका रूपमा स्थापित हुनेछ।

धार्मिक सम्पदाको संरक्षण भनेको केवल मन्दिर, मूर्ति वा भवनहरूको संरक्षण मात्र होइन; त्यससँग जोडिएको आस्था,  मर्यादा, आध्यात्मिक वातावरण र सांस्कृतिक मूल्यहरूको संरक्षण पनि हो। कुनै पनि तीर्थस्थलको वास्तविक गरिमा त्यहाँको शान्त, पवित्र र साधनामय वातावरणमै निहित हुन्छ। 

विश्वका धेरै प्रसिद्ध तीर्थस्थलहरूले आफ्नो इतिहास र आध्यात्मिक परम्परालाई जीवन्त राख्न विशेष आचारसंहिता अपनाएका छन्। यदि हामीले शैलेश्वरी धाममा पनि यसको मौलिक पहिचान झल्किने गरी शान्त, मर्यादित र ध्यानमय वातावरण निर्माण गर्न सकियो भने यस तीर्थस्थलको धार्मिक, सांस्कृतिक तथा  पर्यटकीय महत्त्व अझ धेरै बढ्नेछ भन्ने मेरो दृढ विश्वास छ।

अन्त्यमा, २०८३ सालको श्री शैलेश्वरी कोटीहवन महायज्ञमा देश तथा विदेशबाट असंख्य श्रद्धालु भक्तजनहरूको सहभागिता हुने प्रबल सम्भावना रहेको छ। त्यसैले यस महान् धार्मिक महोत्सवलाई व्यवस्थित, सुरक्षित, मर्यादित तथा सफलतापूर्वक सम्पन्न गर्न परम्परादेखि चलिआएको धार्मिक मर्यादा र परम्परालाई अक्षुण्ण राख्नु अत्यन्त आवश्यक छ।

विगतमा हाम्रा अग्रजहरूले जनसहभागिता र सामूहिक प्रयासबाट व्यवस्थापन समिति गठन गरी यस्ता महायज्ञहरू सफलतापूर्वक सम्पन्न गर्दै आएका थिए। समय परिवर्तनसँगै मुलुक संघीय संरचनामा प्रवेश गरी स्थानीय सरकारहरू गठन भइसकेको वर्तमान परिवेशमा, यस महायज्ञको व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवस्थित बनाउन स्थानीय सरकारको नेतृत्वमा समन्वयात्मक ढाँचामा कार्य गर्नु समयानुकूल हुनेछ भन्ने मेरो विश्वास छ।

मन्दिर परिसर बाहिरका व्यवस्थापकीय कार्यहरू—जस्तै श्रद्धालुहरूको स्वागत, आवास, भोजन, यातायात, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, स्वयंसेवक परिचालन, सञ्चार, पार्किङ, वातावरण संरक्षण तथा अन्य आवश्यक व्यवस्थापनका लागि स्थानीय सरकारको नेतृत्वमा विषयगत समितिहरू गठन गरी शैलेश्वरी विकास समिति, सुरक्षा निकाय, सामाजिक संघ–संस्था तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय स्थापित गर्न सकियो भने सम्पूर्ण व्यवस्थापन अझ सहज, अनुशासित र प्रभावकारी बन्नेछ।
अर्कोतर्फ, मन्दिरभित्र सञ्चालन हुने सम्पूर्ण धार्मिक अनुष्ठान, पूजा–आराधना, वैदिक कर्म, यज्ञ सञ्चालन तथा धार्मिक विधिविधान भने परम्परागत रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका आदरणीय पुजारी, भण्डारी तथा १२ बरल्लाहरूको संरक्षण, मार्गदर्शन र नेतृत्वमै सञ्चालन हुनु नै यस पवित्र परम्पराको गौरव हुनेछ।  उहाँहरूको विद्वत्ता, अनुभव, समर्पण र आशीर्वाद नै श्री शैलेश्वरी धामको धार्मिक गरिमा र निरन्तरताका आधारस्तम्भ हुन्। यस परम्पराको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।

यसरी धार्मिक पक्षको नेतृत्व परम्परागत संरक्षकहरूको हातमै रहने र व्यवस्थापकीय पक्ष सम्बन्धित सरकारी निकाय, शैलेश्वरी विकास समिति तथा स्थानीय समुदायबीचको समन्वयबाट सञ्चालन हुने व्यवस्था गर्न सकियो भने श्री शैलेश्वरी कोटीहवन महायज्ञको गरिमा अझ उँचो हुनेछ। यसले महायज्ञलाई अझ व्यवस्थित, सुरक्षित, अनुशासित र सफल बनाउन सहयोग पुर्‍याउने मात्र होइन, भविष्यमा आयोजना हुने धार्मिक महोत्सवहरूका लागि पनि अनुकरणीय नमुना स्थापित गर्नेछ भन्ने मेरो दृढ विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. ऋषिकेशनारायण श्रेष्ठ
डा. ऋषिकेशनारायण श्रेष्ठ
लेखकबाट थप