सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीपूर्व वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्रीमाथि

बिहीबार, ०७ जेठ २०८३, २२ : ४४
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • पूर्वी नेपालमा पश्चिमी वायु र स्थानीय वायुका कारण वर्षा भएको छ ।
  • झापाको केचनाकवलमा १५२ मि.मि. वर्षा भएको छ ।
  • सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो लहर र तातो दिनको सम्भावना छ ।

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ । तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ । आज साँझ अबेर प्राप्त वर्षा मापनको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

यस्तै सिन्धुपाल्चोकमा ८३.२ मिलिमिटर वर्षा भएको छ । सङ्खुवासभामा ५८, गोरखामा झण्डै ४९, तनहुँमा ६०.२ र कास्कीमा ५७.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । यस्तै लमजुङमा ४६ मिलिमिटर वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि जेठ ८ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताए । आज दिपायल र नेपालगञ्जमा ४१ डिग्रीभन्दा माथि अधिकतम तात्रफम तापक्रम पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप