दक्षिण कोरियाको चेओङगेचेनजस्तै बन्ला त पोखराको फिर्के ?
सारांश
- पोखरा महानगरपालिकाले दक्षिण कोरियाको चेओङगेचेन खोलाको मोडलमा फिर्के खोलालाई विकास गर्ने योजना अघि सारेको छ ।
- चेओङगेचेन खोलालाई २३ वर्षअघि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो, जहाँ दैनिक ६४ हजार मानिसले भ्रमण गर्छन् ।
- फिर्के खोलालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी-करिडोरका रूपमा विकास गर्ने योजना छ, जसका लागि एसियाली विकास बैंकले सहयोग गर्नेछ ।
पोखरा । अहिले दक्षिण कोरियाको चेओङगेचेन खोलालाई जोडेर पोखराको फिर्के खोलाको प्रचार गरिएको छ । पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले चेओङगेचेन खोलाकै परियोजना फिर्केमा लागु गर्ने काल्पनिक योजना अघि सारेका छन् ।
चिओङगेचेन त्यस्तो खोला हो, जुन लामो समय राजमार्ग र ढल निकासका लागि प्रयोग भयो भने २३ वर्षअघि पर्यटकीय क्षेत्रका रुपमा विकास गरियो । यहाँ अहिले दैनिक ६४ हजार र वर्षभरि २३ मिलियन अर्थात् २ करोड ३० लाखले भ्रमण गर्छन् । पछिल्लो २० वर्षमा यहाँ ३३० मिलियन अर्थात् ३३ करोडभन्दा बढी मान्छेले भ्रमण गरिसकेका छन् ।
एसियाली विकास बैंकको साझेदारीमा महानगरपालिकाले पोखराको फिर्केलाई त्यही अवस्थामा सञ्चालन गर्ने लक्ष्य लिएको छ । नगर प्रमुख आचार्यको घोषणा कार्यान्वयनमा आए करिब ८ किलोमिटर लामो फिर्के खोलाको दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक गन्तव्य निर्माण हुनेछ ।
- के हो चेओङगेचेन ?
चेओङगेचेन खोला दक्षिण कोरियाको सियोल सहरमा छ । करिब १०.९ किलोमिटर लामो खोला र सार्वजनिक स्थान एक समय ढल निकासका लागि प्रयोग गरियो । इन्वाङसानको सुसेओङडोङ उपत्यकाबाट सुरु हुने प्राकृतिक खोला माथिबाट राजमार्ग सञ्चालन गरिएको थियो ।
सन् २००३ मा सहर सरकारले एक्सप्रेस–वे हटाउन र खोलालाई पुनर्स्थापित गर्न सहरी नवीकरण परियोजना सुरु भयो । यो परियोजना २००५ मा पूरा भएको थियो । करिब २८१ मिलियन अमेरिकी डलर (हालको दरमा करिब ४२ अर्ब) रुपैयाँ खर्चिएर रिफ्रेस सेन्टरका रुपमा निर्माण गरिएको छ ।
यहाँ २० किलोमिटर लम्बाइको पैदल मार्ग, १० हजार ४१९ वटा लाइट र करिब २ लाख ५२ हजार वर्गमिटर हरित क्षेत्र निर्माण गरिएको छ भने २२ वटा पुल निर्माण गरिएका छन् । यो अहिले सियोल सहर पुग्ने पर्यटकका लागि लोकप्रिय छ ।
- के हो फिर्के ?
फिर्के नागरिक तहबाट प्रदूषित भएको खोला हो । जानेबुझेकाहरु २ दशकअघिसम्म पनि फिर्केको पानी सोझै पिउन मिल्ने थियो भन्छन् । पछिल्ला वर्षहरुमा फिर्के खोला चेपेर पोखरामा संरचना निर्माण बढ्न थाल्यो, किनारमा बस्ती बसेपछि फोहोर र ढलले फिर्के पुरियो । कतिपय ठाउँमा खोलामाथि नै घर निर्माण भएका छन् । खोला नजिकका अन्यले पनि ढल फिर्केमै मिसाउने गरेका छन् । यसमा कडाइ गर्न नसक्नु राज्यको कमजोरी हो । अझै बढी समस्या यसको मापदण्डमा छ । कहिले १० मिटर, कहिले ५ मिटर र कहिले १ मिटरसम्म मापदण्ड झार्ने महानगरकै निर्णयबाट फिर्के अस्थिर बनेको हो ।
यद्यपि, २०८० यता फिर्केमा दायाँबायाँ ६ मिटरको मापदण्ड कायम गरिएको छ । विज्ञहरुको अध्ययनपछि कम खर्चमा धेरै मापदण्ड निर्धारण गरिएको महानगरले जनाएको छ । २०७६ को उपनिर्वाचनमा त नगर प्रमुख मानबहादुर जिसीले फिर्केको मापदण्ड १ मिटर कायम गर्ने सहमति पनि गरे । उनले निर्वाचनमा आफ्नो पार्टीलाई मत बढाउनका लागि यस्तो सम्झौता गरेका थिए । अहिले फिर्केको पानीछेउमा नाक नथुनी जान सक्ने अवस्था छैन । फिर्केका कारण विश्वका पर्यटक घुम्न आउने फेवाताल समेत प्रदूषित छ ।
- फिर्के चिओङगेचेन जस्तै बन्छ ?
अहिले पोखरा महानगरपालिकाले फिर्केको खोलाघर मात्रै खाली गराइरहेको छ । पहिलो दिन २० वटा संरचना डोजरले भत्काइएको छ । अबको २ दिनसम्म १६० संरचना भत्काइसक्ने पोखराका नगर प्रमुख आचार्यले दाबी गरेका छन् । खोलाघर खाली गर्दा फिर्केको पानी हिँड्ने बाटो खुला हुन्छ । पर्यटकीय संरचना बनाउन खोलाघरले मात्रै काफी हुँदैन । यसका लागि मापदण्ड कार्यान्वयन हुनुपर्छ ।
फिर्केमा महानगरपालिकाले ६ मिटरको मापदण्ड लागु गरेको छ, तर मापदण्डभित्र सयौँ संरचना छन् । खोलाघर भत्काउनै लामो समय विताएको पोखराले मापदण्ड कार्यान्वयन तत्कालै गर्छ भन्न सकिँदैन । यद्यपि, ६ मिटर मापदण्ड कार्यान्वयन भए फिर्के कोरिडोरमा पैदलमार्ग र केही पुल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पुग्छ ।
सुरुमा फिर्केको मापदण्ड १० मिटर थियो । यसमा ३ सयभन्दा बढी निजी संरचना पर्ने भएपछि महानगरले मापदण्ड घटाएर सस्तोमा काम उम्काउन लागेको हो । ‘हामीसँग फिर्के छेउबाटै जाने बागलुङ राजमार्ग छ । फिर्केको छेउमा गाडी गुड्ने बाटो आवश्यक पर्दैन,’ नगर प्रमुख आचार्यले भने, ‘रोडको कोरिडोर आवश्यक नपर्ने भएकाले मापदण्ड ६ मिटर हुँदा पनि असर पर्दैन । २० फिट भनेको पर्याप्त हो ।’
परिकल्पनाको चेओङगेचेन भने ५० देखि ८० मिटर मापदण्डमा छ । यदी फिर्केलाई चेओङगेचेन बनाउने हो भने मापदण्ड निर्धारणमै बिचार गर्नुपर्छ ।
पोखराले फिर्के खोलालाई पानी बग्नेमात्रै नभई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोरका रूपमा विकास गर्ने योजना अघि सारेको छ । पोखरेली नागरिकको दैनिकी, स्वास्थ्य, मनोरञ्जन र पर्यटनसँग जोडिएको सार्वजनिक सम्पत्तिको रूपमा यसलाई स्थापित गरिने नगर प्रमुख आचार्यले बताए । ‘जसरी दक्षिण कोरियाको चेओङगेचेन नदी मोडेल अहिले संसारभर परिचित छ, त्यसैगरी फिर्केलाई अन्तर्राष्ट्रियस्तरमै पर्यटकीय र मनोरञ्जनको गन्तव्य बनाउने छौं,’ आचार्यले भने, ‘यहाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन र दुवै किनारमा हरियाली बेल्ट बनाइने छ ।’
खोलाको दायाँबायाँ ६ मिटर जग्गा खाली गरी करिडोर निर्माण गरिने उनले सुनाए ।
पदमार्गमा स्मार्ट एलईडी लाइटिङ, ढुङ्गे तटबन्ध र वातावरणमैत्री सार्वजनिक खुला क्षेत्र निर्माण गर्ने परिकल्पना छ । पोखरेली शैलीका विश्राम स्थल, क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकन गर्ने ठाउँहरु विशेष रुपमा निर्माण गरिनेछन् । खोलाको दुर्गन्ध हटाउने र फोहोर विसर्जन गर्न नपाउने गरी व्यवस्थापन गर्ने तथा खोलाबाट वर्षैभरि सफा पानी बग्न दिने गरी खुला गरिने अध्ययन रिपोर्टमा उल्लेख छ ।
हिउँदको समयमा खोला सुक्खा हुने भएकोले याम्दी खोलाको पानीलाई फिर्केमा मिसाउने अर्को योजना छ । यसका लागि एसियाली विकास बैंकले ६२ करोड रुपैयाँ सहयोग गर्ने आचार्यले जानकारी दिए । ‘मापदण्ड क्लियर भएपछि काम सुरु भएको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘परियोजनाको डिजाइन तयार भइसकेको छ । केही प्राविधिक रिभ्यू गर्ने भनेका छौं ।’
एसियाली विकास बैंक (एडीबी)ले पोखराको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत नै फिर्केलाई समेटेको थियो । अवरोध नभएको भए सन् २०२४ बाट सुरु भएर २०२६ सम्मको ३६ महिनामा काम सकिने थियो । अहिलेसम्म परियोजना सुरु नै भएको छैन । परियोजनाका लागि एडीबीले ५ मिलियन अमेरिकी डलर अर्थात ७६ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसमा क्षमता अभिवृद्धिका लागि थप २ लाख अमेरिकी डलर खर्च हुने योजना छ ।
२०८० सालमा सुरु सो परियोजना मापदण्ड कार्यान्वयन नहुँदा काम अगाडि बढ्न सकेन । मापदण्डविरुद्ध स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि एडीबी केही हच्किएको छ । यद्यपि, अहिलेसम्म काम छोडेर हिडिनसकेको नगर प्रमुख आचार्यले सुनाए । ‘एडीबी सम्पर्कमै छ । उनीहरु यो परियोजनामा काम गर्न अझै इच्छुक छन्,’ उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण