सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सरकारको बचाउमा सभामुख : देशमा स्थिरता र सुशासन कायम गर्छ

सोमबार, ११ जेठ २०८३, १६ : २४
सोमबार, ११ जेठ २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिको जनचाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
  • उनले केवल अंकको बहुमतले मात्र स्थिरता नआउने र यसपटक सरकारले ठोस योजनाका साथ अगाडि बढ्ने अपेक्षा राखेका छन् ।
  • सभामुख अर्यालले सरकारले अघि सारेको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यको लक्ष्यलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने र यसका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिएका छन् ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बालेन्द्र शाह नेतृत्वको सरकारको बचाउ गरेका छन् । नेपाल पत्रकार महासङ्घको टोलीसँगको भेटमा सभामुख अर्यालले सरकारले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिको जनचाहना पूरा गर्ने विश्वास आफूमा रहेको बताए ।

नेपाली जनताको भावना र आकांक्षा अनुसार काम गर्नुपर्ने बताउँदै सभामुख अर्यालले केवल अंकको बहुमतले मात्र स्थिरता नआउने विगतको अनुभव रहेको र यसपटक सरकारले ठोस योजनाका साथ अगाडि बढ्ने अपेक्षा आफ्नो रहेको बताए ।

‘दुई तिहाइको सरकार हुने बित्तिकै स्थिर हुन्छ भन्ने कुराको नभएको प्रमाण हाम्रै अगाडी छ,’ सभामुख अर्यालले भने, ‘तर यसपटक सरकारले ल्याउने योजना र कार्यक्रमले नै वास्तविक स्थिरताको निर्धारण गर्नेछ ।’ उनले सरकारले निर्क्योल गरेका योजनाहरू ठिक ढङ्गले अगाडि बढेमा देशले सही दिशा लिने बताए । 

सभामुख अर्यालले सरकारले अघि सारेको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यको लक्ष्यलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘हामी सबैले अपेक्षा गरेको के हो भन्दा यो सरकारले कमसेकम देशमा एक प्रकारको स्थिरता पैदा गरोस्, सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस्,’ अर्यालले भने, ‘सरकारको ध्यान अब मुलुकको विकास र नागरिकको सेवामा केन्द्रित हुनुपर्दछ ।’

उनले संविधान संशोधन जस्ता गम्भीर र राष्ट्रिय महत्त्वका विषयमा सिङ्गो देश नै क्रियाशील हुनुपर्ने बताए । राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्दा सरकार थप बलियो हुने र मुलुकले दीर्घकालीन स्थिरता पाउने अर्यालको भनाइ छ । 

सरकारको आगामी यात्रा सफल बनाउन र नागरिकमा देखिएको अन्योल चिर्नका लागि विधिसम्मत र योजनाबद्ध ढङ्गले काम गर्न सरकारलाई सुझाव समेत उनले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप