आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सभामुख अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबिच भेटवार्ता

सोमबार, ११ जेठ २०८३, २० : १६
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटमा सभामुख अर्यालले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी क्षेत्रमा दक्षिण कोरियाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

उनले नयाँ जनादेशसहित सरकार गठन भएपछि विदेशी लगानी र विकास साझेदारीका लागि नेपालमा थप अनुकूल वातावरण बनेको बताएका छन् ।

सभामुख अर्यालले नेपाल सूचना प्रविधि र प्राविधिक विकासतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई आईटी तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।

उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडान सञ्चालनका लागि सहजीकरण गर्न पनि कोरिया सरकारसँग आग्रह गरेका छन्। नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म विस्तार भएको उनको भनाइ थियो ।

राजदूत पार्कले नेपाललाई कोरियाले महत्त्वपूर्ण विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य निरन्तर जारी रहेको बताएका छन् ।

उनका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब एक लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका छन् भने हाल करिब ५० हजार नेपाली त्यहाँ कार्यरत छन् ।

उनले नेपाली श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार संवेदनशील रहेको बताएका छन् । विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिएका छन्।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको र विशेष गरी ऊर्जा क्षेत्रमा उल्लेखनीय लगानी भइरहेको बताएका छन्। रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको तथा आगामी वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन्।

हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको राजदूत पार्कको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप