सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले इबोला सङ्क्रमणको आशङ्का गरिएका नागरिकलाई केन्या पठाउने

बिहीबार, १४ जेठ २०८३, १४ : ३८
बिहीबार, १४ जेठ २०८३

सारांश

  • अमेरिकी प्रशासनले अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिरहेको इबोला प्रकोपबाट सङ्क्रमित आशङ्का गरिएका अमेरिकी नागरिकलाई उपचारका लागि केन्या पठाउने भएको छ।
  • केन्यामा इबोला भाइरसको सम्पर्कमा आएका तर लक्षण नदेखिएका व्यक्तिहरूलाई क्वारेन्टिनमा राखेर उपचार दिनका लागि एउटा अत्याधुनिक स्वास्थ्य सुविधा स्थापना गरिँदै छ।
  • केही सार्वजनिक स्वास्थ्य विज्ञहरूले भने अमेरिकामा इबोला उपचारका लागि सक्षम अस्पतालहरू हुँदाहुँदै बिरामीलाई अन्य देशमा पठाउनु आत्मविश्वासको कमी र गम्भीर नकारात्मक परिणाम ल्याउन सक्ने भन्दै यो निर्णयको आलोचना गरेका छन्।

काठमाडौँ । अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिरहेको इबोला प्रकोपबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यसको सङ्क्रमण भएको आशङ्का गरिएका अमेरिकी नागरिकलाई उपचारका लागि केन्या पठाउने भएको छ। 

‘हामी इबोला सङ्क्रमित कुनै पनि बिरामीलाई अमेरिकामा प्रवेश गर्न दिने छैनौँ,’ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार भएको क्याबिनेट बैठकमा भनेका थिए ।

प्रशासनका अनुसार केन्यामा अमेरिकी नागरिकका लागि एउटा अत्याधुनिक स्वास्थ्य सुविधा स्थापना गरिँदै छ, जहाँ इबोला भाइरसको सम्पर्कमा आएका तर लक्षण नदेखिएका व्यक्तिहरूलाई क्वारेन्टिनमा राखेर उपचार दिइनेछ। 

अधिकारीहरूका अनुसार यो केन्द्र अमेरिकी नागरिकलाई कङ्गोबाट लामो दूरीको यात्रामा जोखिम कम गर्दै छिटो सुरक्षित स्थानमा सारेर उपचार दिन डिजाइन गरिएको हो ।

यो परियोजना अमेरिकी विदेश मन्त्रालय, स्वास्थ्य तथा मानव सेवा विभाग र रक्षा मन्त्रालयको संयुक्त समन्वयमा अघि बढाइएको बताइएको छ । तर केही सार्वजनिक स्वास्थ्य विज्ञहरूले यो निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। 

पूर्वअमेरिकी आपतकालीन सहायता अधिकारी जेरेमी कोनिन्डिकले अमेरिकासँग पहिले नै इबोला उपचारका लागि सक्षम अस्पतालहरूको नेटवर्क रहेको उल्लेख गर्दै यो निर्णय आवश्यक नभएको बताए ।

‘अमेरिकामा पर्याप्त क्षमताका अस्पतालहरू हुँदा पनि बिरामीलाई अन्य देशमा पठाउनु आत्मविश्वासको कमी हो,’ उनले भने । सङ्क्रामक रोग विशेषज्ञ डा. कृतिका कुप्पल्लीले अत्यन्तै असामान्य भन्दै यो योजनाको आलोचना गरेकी छिन्। यस्तो निर्णयले गम्भीर नकारात्मक परिणाम ल्याउन सक्ने भन्दै उनले असन्तुष्टि जनाएकी छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप