इरान युद्धको वास्तविक फाइदा उठाउँदै एर्दोगान
सारांश
- टर्कीका राष्ट्रपति रेकेप तायिप एर्दोगानले इरानविरुद्ध अमेरिका-इजरायलद्वारा गरिएको युद्धको फाइदा उठाउँदै देशभित्र बढ्दो अलोकतान्त्रिक प्रवृत्तिलाई तीव्र बनाएका छन्।
- विश्वको ध्यान युद्धमा केन्द्रित भएका बेला एर्दोगानले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि कडा कारबाही अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा टर्कीको प्रभाव बढाएका छन्।
- रक्षा निर्यात सम्झौताहरूले एर्दोगानको घरेलु राजनीतिक हैसियतलाई मजबुत बनाउनुका साथै आर्थिक स्रोत सिर्जना गर्न मद्दत गरिरहेका छन्।
दंगा नियन्त्रणका लागि खटिएका प्रहरीहरूको पङ्क्तिले टर्कीको मुख्य प्रतिपक्षी राजनीतिक दलको मुख्यालयको गेट बलपूर्वक तोडेर प्रवेश गर्यो । अवरोध हटाएपछि ढाल बोकेका प्रहरीहरू दलको कार्यालयतर्फ अघि बढे र भवनको प्रवेशद्वारमा पुगेर काँचका ढोकाअगाडि समर्थकहरूले बनाएका अवरोध हटाउन अश्रुग्यास प्रहार गरे ।
भित्र टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (टर्किसमा कुम्हुरियत हल्क पार्टीसी– सीएचपी)का नेता ओजगुर ओजेल थिए, जो तीन दिनअघि टर्कीको अदालतले पदबाट हटाएपछि विरोधस्वरूप त्यहीँ बसेका थिए । विस्फोटका आवाजहरूले वातावरण गुञ्जायमान बनिरहेका बेला प्रहरीले प्रतिपक्षी राजनीतिमाथि दमन चलाइरहेको थियो, जसले धेरैको नजरमा देशमा बाँकी रहेका नागरिक तथा राजनीतिक स्वतन्त्रताका अन्तिम अवशेषहरू समेत समाप्त हुँदै गएको संकेत दिएको छ ।
अमेरिका–इजरायलद्वारा इरानविरुद्ध गरिएको युद्धबाट टर्की दीर्घकालीन रूपमा लाभान्वित हुने अवस्थामा देखिएको छ । यस युद्धले टर्कीका राष्ट्रपति रेकेप तायिप एर्दोगानलाई कुनै उल्लेखनीय अन्तर्राष्ट्रिय प्रतिक्रिया नझेली देशभित्र बढ्दो अलोकतान्त्रिक प्रवृत्तिलाई अझ तीव्र बनाउने अवसर दिएको छ ।
विश्वको ध्यान इरान युद्धतर्फ केन्द्रित भएका बेला एर्दोगानले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि थप कडा कारबाही अघि बढाएका मात्र छैनन्, उनी अन्तर्राष्ट्रिय मञ्चमा टर्कीको प्रभाव पनि बढाउन सफल भएका छन् ।
वासिङ्टनस्थित मिडल इस्त इन्सिट्युडको टर्की कार्यक्रमकी संस्थापक निर्देशक गुनुल तोल भन्छिन्, ‘एर्दोगानले देशभित्र यस्ता कदम चाल्नका लागि अहिलेको अन्तर्राष्ट्रिय वातावरण अत्यन्त अनुकूल छ ।’
उनका अनुसार, भूराजनीतिक धक्काहरूले एर्दोगानलाई देशभित्र बाँकी रहेको लोकतान्त्रिक क्षेत्रलाई आफ्नो इच्छाअनुसार नियन्त्रण गर्न थप हौसला र अवसर दिएका छन् । त्यसैगरी एर्दोगानले विभाजित हुँदै गएको विश्व व्यवस्थाबाट पनि फाइदा उठाइरहेका छन् । सन् २०२२ देखि जारी रुसको युक्रेन आक्रमण र अहिले डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाप्रतिको विश्वास कमजोर बन्दै जाँदा सिर्जित सुरक्षा तथा कूटनीतिक रिक्तताले उनलाई थप अवसर दिएको विश्लेषकहरूको भनाइ छ ।
टोलका अनुसार, यस्तो परिस्थितिले युरोपेली देशहरू, नेटो साझेदारहरू, क्षेत्रीय छिमेकीहरू र अफ्रिकी राष्ट्रहरूलाई समेत एर्दोगानसँग सहकार्य गर्न बाध्य बनाइरहेको छ ।
लगभग २५ वर्षदेखि टर्कीको नेतृत्व गरिरहेका एर्दोगानले देशभित्र क्रमशः आफ्नो शक्ति केन्द्रित गर्दै आएका छन् । विशेषगरी सन् २०१३ का व्यापक विरोध प्रदर्शन र सन् २०१६ को सैनिक ‘कू’ प्रयासपछि उनले आफ्नो नियन्त्रण थप सुदृढ बनाएका थिए । ती दुवै घटनालाई सरकारी शक्तिको प्रयोग गर्दै दबाइएको थियो ।
हालै मार्च २०२५ मा एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर एकरेम इमामोग्लु पक्राउ परेपछि देशभर ठुला प्रदर्शनहरू भएका थिए ।
इरान युद्ध सुरु भएको नौ दिनपछि इमामोग्लुविरुद्ध मुद्दाको सुनुवाइ सुरु भयो । आलोचकहरूका अनुसार उनीमाथि लगाइएका आरोपहरू राजनीतिक उद्देश्यले प्रेरित थिए र प्रतिपक्षलाई कमजोर पार्न खोजिएको थियो । तर पश्चिमी देशहरूबाट यसबारे उल्लेखनीय आलोचना आएको छैन । टर्कीको सीएचपीसँग वैचारिक रूपमा नजिक मानिने बेलायतको लेबर पार्टी समेत यस विषयमा मौन देखिएको छ ।
४,००० पृष्ठभन्दा बढी दस्तावेजमा आधारित आरोपहरूमा भ्रष्टाचारदेखि आपराधिक संगठनको नेतृत्वसम्मका दाबी समावेश छन् । दोषी ठहरिएमा इमामोग्लुलाई कुल मिलाएर २,००० वर्षभन्दा बढीको सजाय हुन सक्ने बताइएको छ । इमामोग्लुले भने सबै आरोप अस्वीकार गरेका छन् ।
यद्यपि समय–समयमा जनअसन्तुष्टि सडकमा देखिने गरेको भए पनि एर्दोगानले लामो समयसम्म व्यापक जनसमर्थन कायम राखेका छन् । उनले निर्माण गरेको व्यक्तिपूजाको छवि आधुनिक टर्कीका संस्थापक मुस्ताफा केमल अतातुर्कसँग तुलना गरिने स्तरसम्म पुगेको बताइन्छ ।
तर पछिल्ला वर्षहरूमा आर्थिक समस्याले उनको समर्थनका आधारलाई कमजोर बनाउन थालेको छ । सन् २०२३ को राष्ट्रपतीय निर्वाचनमा अत्यन्त झिनो अन्तरले विजयी भएका एर्दोगानको शासनकालमा मुद्रास्फीति औसतमा करिब ५० प्रतिशत पुगेको छ ।
इन्डोनेसियामा अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रबाट आफ्ना केही सैन्य स्रोतहरू मध्यपूर्वतर्फ स्थानान्तरण गरेपछि चीनको बढ्दो आक्रामकताबारे चिन्ता तीव्र बनेको छ । यही कारण दक्षिण–पूर्वी एसियाली राष्ट्र इन्डोनेसियाले यसै महिनामा टर्कीसँग एउटा सम्झौता गरेको छ, जसअनुसार उसले टर्कीद्वारा निर्मित ६० वटासम्म मानवरहित लडाकु विमान (ड्रोन) खरिद गर्नेछ । यसरी टर्कीको यो अत्याधुनिक ड्रोन खरिद गर्ने इन्डोनेसिया पहिलो विदेशी ग्राहक बन्नेछ । ती विमानहरूको आपूर्ति सन् २०२८ देखि सुरु हुने अपेक्षा गरिएको छ ।
यो सम्झौता टर्कीले हालै गरेको अर्को रक्षा निर्यात सम्झौताभन्दा अतिरिक्त हो । त्यसअन्तर्गत टर्कीले एयचतगनब िलाई दुईवटा सैन्य सहायता जहाज उपलब्ध गराउनेछ । यो नेटो तथा युरोपेली संघको सदस्य राष्ट्रलाई गरिएको टर्कीको पहिलो यस्तो सैन्य निर्यात हो ।
एर्दोगानको नेतृत्वमा टर्की, जससँग अमेरिकापछि नेटोको दोस्रो ठुलो सेना छ, विश्वको ११औँ ठुलो हतियार निर्यातकर्ता बनेको छ । विशेषगरी टर्कीद्वारा उत्पादित ड्रोनहरू विश्वबजारमा लोकप्रिय बनेका छन् र ती युक्रेनदेखि लिबियासम्मका धेरै देशहरूमा निर्यात गरिएका छन् ।
गोनुल टोलका अनुसार टर्कीका सैन्य उपकरणहरू वास्तविक युद्धमै परीक्षण भइसकेका छन् । त्यसैले एर्दोगानले अन्य देशहरूलाई ‘तपाईंहरू ममाथि भरोसा गर्न सक्नुहुन्छ’ भन्ने सन्देश दिन सक्छन् । टोल भन्छिन्, ‘यो कुरा विशेषगरी मध्यपूर्वका देशहरूमा प्रभावकारी देखिएको छ । त्यसैले एर्दोगानले एकपछि अर्को रक्षा साझेदारी सम्झौताहरू गरिरहेका छन् ।’
टोलका अनुसार यी रक्षा सम्झौताहरूले एर्दोगानको घरेलु राजनीतिक हैसियतलाई पनि मजबुत बनाउँछन् । ‘जब उनको वैधतामाथि देशभित्र धेरै मानिसहरूले प्रश्न उठाइरहेका छन्, त्यही समयमा यस्ता सम्झौताहरूले उनलाई अतिरिक्त वैधता दिन्छन्,’ उनी भन्छिन् । ‘यसले आर्थिक स्रोतहरू पनि सिर्जना गर्छ, जुन टर्कीको वर्तमान आर्थिक अवस्थालाई हेर्दा अत्यन्त महत्त्वपूर्ण छ ।’
एर्दोगान टर्कीलाई विश्वव्यापी ऊर्जा व्यापारको प्रमुख केन्द्रका रूपमा विकास गर्न पनि इच्छुक छन् । महत्त्वपूर्ण खनिजहरूको आपूर्ति, नयाँ पाइपलाइनहरूको निर्माण तथा समुद्री बन्दरगाहहरूको आपसी जडानमार्फत टर्कीलाई विश्व व्यापारको प्रमुख मार्ग बनाउने उनको योजना रहेको बताइन्छ ।
गत साता ओजगुर ओजेललाई पदमुक्त गरिएपछि एर्दोगानले भनेका थिए, ‘टर्कीको उद्देश्य केवल दर्शक बनेर बस्ने होइन, यो प्रतिस्पर्धामा खेलको दिशा परिवर्तन गर्ने शक्ति बन्नु हो ।’ विशेषज्ञहरूका अनुसार यो लक्ष्य हासिल गर्न एर्दोगानले राजनीतिक प्रतिपक्षलाई मात्र होइन, आफ्ना नीतिहरूको विरोध गर्न सक्ने अन्य शक्तिहरूलाई समेत निष्क्रिय बनाउने प्रयास गरिरहेका छन् ।
अंकाराले अहिले विदेशमा बसोबास गरिरहेका, विशेषगरी खाडी मुलुकहरूबाट बसाइँ सर्न चाहने व्यक्तिहरूलाई समेत आकर्षित गर्न खोजिरहेको छ । टर्कीमा बसोबास गर्न आउने विदेशीहरूलाई २० वर्षसम्म कर छुट दिने प्रस्ताव सार्वजनिक गरिएको छ । नेटोको सुरक्षा छातामुनि रहेको टर्कीका लागि यो प्रस्ताव धेरैका लागि आकर्षक हुन सक्ने विश्लेषण गरिएको छ ।
विश्वव्यापी स्तरमा टर्कीको प्रभाव विस्तार हुँदै जाँदा एर्दोगानले देशभित्र आफ्नो राजनीतिक छवि थप मजबुत बनाउन सफल भएका छन् । यसले उनको बढ्दो अधिनायकवादी प्रवृत्तिलाई समेत ढाकछोप गर्ने वातावरण सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।
जनवरी महिनामा टर्की नेटोका सदस्य राष्ट्रहरूमध्ये इरानसँग प्रत्यक्ष सीमा जोडिएको र युद्धको जोखिममा सबैभन्दा बढी परेको देश थियो । इरानी क्षेप्यास्त्रहरू टर्कीको आकाश हुँदै उडिरहेका थिए, जसको लक्ष्य भूमध्यसागरीय तटमा रहेको संयुक्त अमेरिकी–टर्की सैन्य अड्डा भएको अनुमान गरिएको थियो । त्यतिबेला टर्की युद्धबाट टाढा रहन हरसम्भव प्रयास गरिरहेको थियो ।
तर जुलाईको सुरुआतमा जब एर्दोगानले नेटो सुरक्षा गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना गर्नेछन्, त्यतिबेला उनी पहिलेभन्दा धेरै शक्तिशाली अवस्थामा हुनेछन् । इरान युद्ध सुरु हुनुअघि नभएको प्रभाव र दबाब सिर्जना गर्ने क्षमता अहिले उनीसँग रहेको बताइन्छ ।
गोनुल टोल भन्छिन्, ‘एक समय नेटोलाई लोकतान्त्रिक विश्वको रक्षा संगठनका रूपमा चित्रण गरिन्थ्यो । अहिले त्यस्तो दाबी सहजै गर्न सकिँदैन ।’
उनका अनुसार, ‘पश्चिमी देशहरू र नेटोका सहयोगीहरूले टर्कीजस्ता देशहरूमा लोकतान्त्रिक संस्थाहरू कमजोर बन्दै गएको वा अधिनायकवादी शासन बलियो हुँदै गएको विषयमा कम ध्यान दिनेछन् । बरु उनीहरूको चासो ‘उनीहरूले ड्रोन बनाउन सक्छन् कि सक्दैनन्,’ ‘उनीहरूसँग राम्रो उत्पादन आधार छ कि छैन’ भन्ने जस्ता प्राविधिक पक्षमा केन्द्रित हुनेछ ।’
तर विज्ञहरूका अनुसार यस्तो दृष्टिकोण गम्भीर भूल हुन सक्छ ।
टोल भन्छिन्, ‘जब तपाईं अधिनायकवादी शासकहरूसँग काम गर्नुहुन्छ, उनीहरूको प्राथमिक चिन्ता सधैँ आफ्नो शासनको अस्तित्व जोगाउनु हुन्छ । यदि उनीहरूको शासन जोखिममा पर्यो भने उनीहरू अन्तर्राष्ट्रिय सन्धिहरूको पालना गर्नु बाध्यता ठान्दैनन् र साझेदारहरूप्रति वफादार पनि रहँदैनन् । यही कारणले उनीहरूलाई अस्थिर सहयोगी मानिन्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण