नेपाल कुल्ली, डकर्मी र सिकर्मीले बनाएका हुन् : सरल सहयात्री
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्रीले वर्तमान राजनीतिक नेतृत्व र कार्यशैली सही नभएको बताएका छन् ।
- उनले नेपालको निर्माणमा श्रमजीवी वर्ग र दलित समुदायको योगदान रहेको तर शासकहरूले उनीहरूलाई विभेद गर्ने प्रवृत्ति रहेको बताए ।
- सहयात्रीले सुकुम्वासी बस्तीमा डोजर चलाउने संघीय सरकारको कार्यशैली र सहकारी ठगहरूको आलोचना गर्दै लोकतन्त्रको मान्यतालाई शासकले सधैँ याद राख्नुपर्ने बताए ।
हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्रीले वर्तमान राजनीतिक नेतृत्व र तिनको कार्यशैली सही नभएको बताएका छन् । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा बोल्दै नेता सहयात्रीले मुलुक अहिले चुनौतीपूर्ण घडीमा रहेको बताए ।
नेता सहयात्रीले नेपाल देश निर्माणमा श्रमजीवी वर्ग र दलित समुदायको रगत पसिना बगेको बताए । उनले शासकहरूले दलित समुदायले बनाएको जुत्ता, कपडा र भवन उपभोग गर्ने तर उनीहरूलाई नै अछुत र फोहोर देख्ने प्रवृत्ति रहेको बताए ।
प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै विगतमा मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेको विषयको माफी संसद्को रोष्टमबाट भारतको भूमि नेपालले मिचेको छ भनेर दिएको उनले बताए ।
‘प्रधानमन्त्रीज्यु, तपाईंले ग्रेटर नेपालको नक्सा राखेर पछि भारतसँग अप्रत्यक्ष माफी मागेर आत्मसमर्पण गर्न खोज्नुभएको हो ? यो आम नेपालीको भावना र आत्मसम्मानको विषय हो । लिपुलेक, लिम्पियाधुरा र सुस्तामा भइरहेको हस्तक्षेप नेपाली दृष्टिकोणबाट हेरिनुपर्छ’ उनले भने, ‘एउटा इन्जिनियरले नक्सा बनाउन सिक्नुअघि लाखौँ कर्मशील कामीहरू इन्जिनियर थिए । जसले शासकका घर र मन्दिर बनाए तर उनीहरुले नै अछुत हुनुपर्यो । हाम्रो देश पछि पर्नुको मुख्य कारण यही विभेदकारी दृष्टिकोण हो ।’
उनका अनुसार संघीय सरकारले सुकुम्वासी बस्तीमा राति–राति डोजर चलाएर आतङ्क सिर्जना गरिएको छ । सुत्केरी आमा र स्कुल जाने बालबालिका रहेका ठाउँमा डोजर चलाउनु मानवीय संवेदनाहीनतातर्फ सरकार अघि बढेको उनले बताए । पछिल्लो समय सामाजिक सञ्जालका भर्चुअल हिरो र गफाडीहरूलाई जनताले विचार र प्रतिबद्धता ठान्नु विडम्बनापूर्ण रहेको नेता सहयात्रीले बताए ।
उनले सहकारी ठगहरूले मानिसको घरजग्गा लुटेर स्वर्गमा घडेरी देखाइरहेको भन्दै व्यङ्ग्य गरे । नेपालमा सङ्घीय गणतन्त्र व्यवस्था धर्मको आडमा स्वार्थको चन्दन लगाउने र जात व्यवस्थाले मानिसलाई पशुवत व्यवहार गर्ने पुरानो सोचका विरुद्धको लडाइँबाट आएको नेता सहयात्रीको भनाइ छ ।
‘सुकुमबासीहरुले देशलाई माया गर्छन्, उनीहरू आतङ्ककारी होइनन् । बरु अपराधी भागोस् तर निर्दोषले सजाय नपाओस् भन्ने लोकतन्त्रको मान्यता शासकले सधैँ याद राख्नुपर्छ’ उनले भने, ‘घमन्डलाई लगाम दिन बेलैमा सिक्नुस् । भर्चुअल दुनियाँको पछि लाग्ने प्रवृत्तिलाई शैक्षिक प्रणालीबाटै सुधार गरिएन भने यो देश जो कोहीले शासन गर्ने र पतनको दिशामा जाने खतरा छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण